Blogs

Read the latest articles & insights about medical science and pharmaceutical technologies on development.

गलफुलो/हाँडे

रोहिनी वैद्य

October 4, 2024

2:01 pm


गलफुलो एक संक्रामक रोग हो जुन भाइरसको कारणले हुन्छ । यसलाई नेपाली भाषामा हाँडे भनिन्छ । यो सामान्यतया केही दिनको ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, थकान, र भोक नलाग्ने जस्ता लक्षणहरुबाट सुरु हुन्छ । त्यसबेला धेरैजस्तो बिरामीहरूमा अनुहारको दुवैतर्फ रहेका ग्रन्थीहरू प्रभावित हुने गर्दछ । यी ग्रन्थीहरूलाई प्यारोटिड (Parotid) ग्रन्थी भनिन्छ, जसले र्‍याल वा स्यालीभा (Saliva) बनाउँदछ । यस अवस्थामा कानको अगाडिको प्यारोटिड ग्रन्थीको क्षेत्रमा सुन्निने र कडा हुने हुन्छ जुन द्रुत रूपमा बढ्छ र घाँटी र बङ्गारा मुनि फैलिन्छ । तसर्थ, यो समय बिरामीलाई धेरै पीडादायी हुन्छ ।

यो प्राय: महामारीको रूपमा देखापर्दछ र धेरैजसो ५ देखि १५ वर्ष बीचका मानिसहरुलाई बढी असर गर्दछ । यसको इन्क्युबेशन अवधि भाइरससँग सम्पर्क पछि लगभग १७ देखि २१ दिन हो । संक्रमणको खतरा लक्षणहरू देखा पर्नुभन्दा एक हप्ता अघि सुरु हुन्छ र लगभग दुई हप्तासम्म रहन्छ ।

लक्षणहरू :-

गलफुलोका लक्षणहरू भाइरसको सम्पर्कमा आएको करिब २ देखि ३ हप्तापछि देखिन्छन् । केही व्यक्तिहरूमा कुनै पनि लक्षण नहुने वा धेरै हल्का लक्षणहरू मात्र देखिने पनि हुन सक्छ ।

  • ज्वरो आउने ।
  • टाउको दुख्ने ।
  • मांसपेशी दुख्ने ।
  • खान मन नलाग्ने ।
  • थकाइ लाग्ने ।
  • अनुहारको दुवै तर्फ रहेका ग्रन्थीहरु सुन्निने ।
कारणहरू :-

गलफुलो भाइरस नामक कीटाणुको कारणले हुन्छ । संक्रमित व्यक्तिको र्‍याल वा स्यालीभा (Saliva) मा भाइरस हुन्छ । तसर्थ, संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा कुरा गर्दा भाइरस संक्रमित थुकका स-साना थोपा हावामा फैलिन्छ र स्वस्थ व्यक्तिहरूलाई असर गर्दछ । संक्रमित व्यक्तिहरूको सम्पर्क र उनीहरुले प्रयोग गरेको वस्तुहरू जस्तै: गिलास, कप लगायत अन्य चीजहरूबाट पनि यो रोग सर्न सक्छ । संक्रमित व्यक्तिले छोएको वस्तु र सतहहरूमा धेरै घण्टासम्म भाइरस बाँच्न सक्छ । तसर्थ, भाइरस फैलिनबाट रोक्नको लागि उचित सरसफाइका साथ सुरक्षा उपायहरू अपनाउनु धेरै महत्वपूर्ण हुन्छ ।

जटिलताहरू :-

खोप नलगाएका मानिसहरूमा गलफुलोको जटिलता बढी हुने सम्भावना हुन्छ । त्यस्ता व्यक्तिहरुमा ग्रन्थीहरू सुन्निएको छैन भने पनि पछि गएर जटिलता चाहिँ देखा पर्न सक्छ । भाइरस शरीरका तन्तुहरूमा पुग्दा जटिलताहरू देखिने गर्दछन् ।

सुन्निएको अण्डकोश: यो जटिलतालाई अर्काइटिस पनि भनिन्छ, जसले अण्डकोशमा गम्भीर पीडा निम्त्याउँछ । यो सामान्यतया किशोरावस्था पछि हुने संक्रमणमा बढी देखिने गरेको पाइन्छ । सुन्निएको अण्डकोशले अण्डाशयको आकार घटाउने र प्रजनन क्षमतामा पनि असर गर्न सक्छ ।

सुन्निएको अण्डाशय: यो जटिलताले उफोराइटिस पनि निम्त्याउँछ, जसले गर्दा पेट दुख्ने, वान्ता हुने र ज्वरो आउने गर्दछ । यो जटिलता यौवन पछि देखिने अधिक सम्भावना हुन्छ । यस अवस्थाले प्रजनन क्षमतालाई असर गरेको देखिँदैन ।

इन्सेफलाइटिस: यसमा मस्तिष्कको सूजन हुने गर्दछ, जसले तन्तुहरूलाई क्षति पुर्‍याउन सक्छ । यसले व्यक्तिहरूको बौद्धिक स्तरमा ह्रास आउने र मांसपेशी नियन्त्रण गर्ने क्षमतामा कमी ल्याउँछ ।

मेनिन्जाइटिस: मेनिन्जाइटिस भनेको मस्तिष्क र मेरुदण्डको वरिपरिको झिल्ली सुन्निनु हो । यसले ज्वरो लगायत टाउको र घाँटीमा पनि समस्या निम्त्याउन सक्छ । यद्यपि, गलफुलोसँग सम्बन्धित मेनिन्जाइटिसले भने विरलै दीर्घकालीन समस्याहरू निम्त्याउने गर्छन् ।

श्रवणशक्तिमा ह्रास: यो जटिलता अचानक वा समयसँग हुन सक्छ । संक्रमण निको भएपछि सामान्यतया सुन्ने क्षमता स्वतः राम्रो हुँदै जान्छ ।

प्यान्क्रियाटाइटिस: गलफुलोले प्यान्क्रियाजलाई क्षति पुर्‍याई प्यान्क्रियाटाइटिस गराउँछ । जसले गर्दा पेट दुख्ने, पेट खराब हुने, वान्ता र ज्वरो आउने हुन सक्छ ।

गर्भपात: गर्भावस्थाको पहिलो १२ हप्तामा गलफुलो भएमा गर्भपात हुने जोखिम धेरै हुन्छ ।

गलफुलो फैलनबाट कसरी रोक्ने ?
  • खोक्दा र हाच्छिउँ गर्दा मुख ढाक्नु पर्छ ।
  • स्वस्थ व्यक्तिहरूले बिरामीले प्रयोग गर्ने चीजहरू प्रयोग गर्नु हुँदैन ।
  • संक्रमण हुँदा पर्याप्त आराम गर्नुपर्छ ।
  • साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।
  • बिरामीले प्रयोग गरेको ठाउँ राम्ररी सफा गर्नुपर्छ ।
उपचार :-

गलफुलोको उपचार शरीरको प्रतिरक्षा प्रणालीमा निर्भर रहन्छ । यसको उपचारका लागि कुनै ठोस औषधिको विकास नभएको हुनाले तल उल्लेख गरिएको अवधिभित्र प्रत्येक बालबालिकालाई गलफुलो विरुद्धको खोप अनिवार्य रूपमा लगाउनुपर्छ । यसको खोप सामान्यतया दादुरा-गलफुलो-रुबेला (MMR) खोपको रूपमा दिइन्छ जुन निम्न अनुसार छन् ।

  • पहिलो मात्रा बालबालिका १२ र १५ महिनाको उमेर हुँदा लगाउने ।
  • दोश्रो मात्रा ४ र ६ वर्षको बीचमा लगाउने ।

यद्यपि, संक्रमण सामान्यतया एक वा दुई हप्ता भित्र आफै निको हुन्छ तर संक्रमण बढ्न नदिन तल उल्लेख गरिएको सुरक्षाका उपायहरू अपनाउनुपर्छ ।

  • संक्रमणको बेला पर्याप्त मात्रामा आराम गर्नुपर्छ ।
  • स्वास्थ्यकर्मीको निर्देशन अनुसार मांसपेशीको दुखाई कम गर्ने औषधि प्रयोग गर्नुपर्छ । १६ वर्ष वा मुनिका बालबालिकाहरूमा रेइज सिन्ड्रोम (Reye’s Syndrome) भनिने दुर्लभ र गम्भीर अवस्थाको विकास हुने जोखिम भएकोले एस्पिरिन (Aspirin) प्रयोग गर्नु हुँदैन । यो सिन्ड्रोमले मस्तिष्क र कलेजोलाई असर गर्छ ।
  • प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउनुपर्छ तर फलफूलको जुस जस्तो अमिलो पदार्थ पिउनु हुँदैन । यसले प्यारोटिड ग्रन्थीहरूमा पोलेको झैँ हुन्छ । तसर्थ, तरल पदार्थको रूपमा पानी पिउनु नै उपयुक्त हो ।
  • धेरै चपाउनु नपर्ने खानेकुराहरू खानुपर्छ ।
  • यदि संक्रमण भएको सातौं दिनमा पनि लक्षणहरू कम भएन भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउनुपर्छ ।

 

रोहिनी वैद्य (Pharmacist)