Blogs

Read the latest articles & insights about medical science and pharmaceutical technologies on development.

अटोइम्युन डिजिज भनेको के हो ?

रोहिनी वैद्य

December 26, 2022

7:31 am


हाम्रो शरीरको प्रतिरक्षा प्रणाली विभिन्न किसिमको कोशिका, प्रोटिनहरुका साथै सम्पूर्ण अंगहरु र अंग प्रणालीहरु मिलेर बनेको हुन्छ। यस प्रणालीको अंगहरूमा छाला, म्यूकस मेमव्रेन लगायत लिम्फ्याटिक प्रणालीका अंगहरु पर्दछन्। यी अंगहरुले शरीरलाई विभिन्न किसिमको कीटाणुहरुबाट बचाउने गर्दछ। जसले गर्दा मानिसहरु स्वस्थ र संक्रमणमुक्त रहन्छ। स्वस्थ प्रतिरक्षा प्रणालीले शरीरलाई रोग र संक्रमणबाट बचाउँछ। यदि प्रतिरक्षा प्रणाली खराब भयो भने यसले गलत तरिकाले कोशिकाहरू, तन्तुहरू र अंगहरूमा असर गर्ने गर्दछ। यसलाई अटोइम्युन डिजिज (Auto-Immune Disease) भनिन्छ। यसले शरीरको कुनै पनि भागलाई असर गर्न सक्छ। यसले शरीरलाई शारीरिक रूपमा कमजोर बनाई जीवनलाई खतरामा पार्न  पनि सक्दछ। वैज्ञानिकहरूको अध्ययन र अनुसन्धानबाट ५० भन्दा बढी अटोइम्युन डिजिज रहेको पत्ता लागेको छ। यसको उदाहरणहरूको कुरा गर्नु पर्दा र्‍युम्याटोइड आर्थराइटिस (Rheumatoid Arthritis), लुपस रोग (Lupus Disease), इन्फ्लामेटोरी बावल डिजिज (Inflammatory Bowel Disease), मल्टिपल स्क्लेरोसिस (Multiple Sclerosis) र टाइप १ मधुमेह (Type 1 Diabetes) आदि हुन्। यी अटोइम्युन डिजिजहरु परिचित छन् भने अन्य दुर्लभ अटोइम्युन डिजिजहरुको निदान भने गाह्रो हुन्छ। यी रोगहरूको पूणर् रूपमा उपचार छैन। यसको लक्षणहरू कम गर्न आजीवन औषधि उपचार गरिन्छन्।

लक्षणहरु :-

अटोइम्युन डिजिजको लक्षण व्यक्तिहरूमा हल्कादेखि गम्भीर दुवै हुन सक्दछ। यो रोगको लक्षण रोगको ग्रेड निर्भर रहन्छ। साथै अनुवांशिकी, वातावरण र व्यक्तिगत स्वास्थ्य स्थितिको पनि ठूलो भूमिका रहन्छ। यो रोग विभिन्न प्रकारको हुने भएकाले लक्षण पनि फरक हुने गर्दछ। यद्यपि धेरैजसोमा देखिने लक्षणहरू निम्नानुसार छन् :-

  • थकान
  • जोर्नी दुख्ने र सुन्निने
  • छालाको समस्याहरू
  • पेट दुख्ने र पाचन प्रणालीमा समस्याहरू
  • बारम्बार ज्वरो आउने
  • ग्रन्थीहरु सुन्निने
  • आँखा धमिलो हुने
कारणहरू :-

अटोइम्युन डिजिजको ठोस कारण छैन। विभिन्न अध्ययन अनुसार यो रोग आनुवंशिक र विभिन्न वातावरणीय कारकहरुको अन्तरक्रियाले गर्दा हुने गरेको देखिएको छ। विभिन्न लिंग, जाती र जातीय विशेषताहरुसंग पनि यस रोगको विकास जोडिएको देखिएको छ। यद्यपि, निम्न लिखित कारणहरूले गर्दा अटोइम्युन डिजिज हुने सम्भावना बढाउन सक्छ।

  • आनुवंशिकता
  • विषाक्त चिजबाट संक्रमण भएमा
  • धूम्रपान
  • मोटोपन
  • संक्रमणहरु
  • हर्मोनको प्रभाव
  • जीवनशैली

अटोइम्युन डिजिज कुनै पनि मानिस निम्नलिखित वातावरणीय अवस्थाहरुसंगको सम्पर्कमा आउँदा रोग लाग्ने जोखिम बढ्ने गर्दछ।

सूर्यको किरण :-

अध्ययन अनुसार सूर्यबाट निस्कने अल्ट्राभ्वाइलेट विकिरणले जुभिनाइल डर्माटोमायोसाइटिस नामक अटोइम्युन डिजिज हुने सम्भावना बढी रहन्छ। यसमा विशेषगरी मांसपेशी कमजोर हुने र छालामा दागहरू हुने गर्दछ।

कृषिमा प्रयोग गरिने कीटनाशकहरू :-

विभिन्न अन्वेषकहरुले गरेको अनुसन्धानले कृषि क्षेत्रमा प्रयोग गरिने कीटनाशक औषधिहरूको सम्पर्कबाट पुरुष व्यक्तिहरूमा र्‍युम्याटोइड आर्थराइटिस बढी मात्रामा हुने सम्भावना देखिएको छ।

अर्ग्यानिक मर्करी :-

अर्ग्यानिक मर्करी वा  मिथाइल मर्करीसंग सम्पर्क हुँदा सामान्यतयः सुरक्षित मानिन्छ तर महिनावारी नसुकेको महिलाहरुमा चाँहि लुपस, इन्फ्लामेटोरी बावल डिजिज र मल्टिपल स्क्लेरोरिस हुने सम्भावना बढी रहन्छ।

पोषण :-

अनुसन्धान अनुसार भिटामिन “डी” ले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाई अटोइम्युन डिजिज गराउने सम्भावना घटाउँछ। त्यसैगरी, पोषक तत्वहरुले लुपस रोगको लक्षणहरू सुधार्ने वा बिगार्ने पनि हुन सक्छ।

अटोइम्युन डिजिजको व्यवस्थापन गर्ने उपायहरु :-
  • विभिन्न किसिमको सुक्ष्म जीवाणुहरु जस्तैः भाइरस, व्याक्टेरिया, फंगस र लाइमबाट संक्रमण भए नभएको विस्तारमा जांच गर्ने।
  • कुनै पनि खानेकुराबाट एलर्जी हुने नहुने सुनिश्चित गर्ने।
  • रगत जाँच गरी सिलियाक डिजिज (Coeliac Disease) भए नभएको पत्ता लगाउने।
  • मर्करी जस्तो धातुबाट विषाक्त भए नभएको जाँच्ने।
  • पाचन प्रणालीलाई शुद्ध गर्ने।
  • भिटामिन “सि”, “डी” लगायत ओमेगा ३ फ्याटि एसिड (Omega-3 Fatty acid) उपयोग गरी शरीरलाई तन्दुरुस्त राख्ने।
  • पर्याप्त मात्रामा व्यायाम र योगाहरु गर्ने।
  • नियमित डाक्टरसंग आफ्नो स्वास्थ्य स्थितिको जाँच गराई औषधि सेवन गर्ने।

 

By रोहिनी वैद्य (Pharmacist)