ग्यासलाइटिँग (Gaslighting)
सन्जोग ढकाल
2:04 pm
मेरो जीवनको एक क्षणमा मैले मेरो खुट्टामा चुइँगमको टुक्रा टौँसिएको फेला पारेको थिएँ । सुरूमा, चुइँगम मेरो जुत्तामा मात्र टाँसिएको थियो । त्यसैले मैले त्यसलाई धेरै वास्ता गरिन । त्यो चुइँगमलाई मैले जुत्ताबाट झट्काएर निकाल्ने प्रयास गरेँ तर त्यसपछि त्यो चुइँगम उछिट्टिएर मेरो कपालमा आई चिप्कीयो । चुइँगमको यो टुक्रा मेरो भूतपूर्व प्रेमीको रूपमा चिनिन्छ । यस्तो प्रेमी जसको नाम ठूलो स्वरमा सुन्न पनि गाह्रो हुन्छ । हाम्रो जीवनको क्रममा हामीले भेटेका धेरैजसो व्यक्तिहरूले हाम्रो जीवनकथामा खासै ठूलो भूमिका खेल्दैनन् । प्रेम सम्बन्धहरू पनि कति आउँछन् र जान्छन् तर कुनै बेला केही बखतमा भने कोही न कोही आउँछन्, टाँसिन्छन् र टाँसि रहन्छन् । यो चुइँगम पनि त्यो मानिसहरू मध्ये एक थियो ।
अधिकाँश पहिलो प्रेमको जस्तै चुइँगमको लागि मेरो मनमा जुन प्रेम थियो त्यो सहज, निस्वार्थ, शंकाविहिन र कुनै भावनात्मक बोझबिहिन थियो । जब चुइँगमले मलाई “म तिमीलाई जिन्दगीभर माया गरिरहन्छु भनेको थियो, मैले उसलाई तुरून्तै विश्वास गरेँ र जवाफमा “म पनि तिमीलाई जिन्दगीभरको लागि चाहन्छु” भनेर जवाफ फर्काएको थिएँ । चुइँगम प्रतिको मेरो माया एकदमै चाँडै चुलियो । जब तपाईको मन कहिले टुटेको हुँदैन तब मायामा पर्न एकदमै सजिलो हुने रहेछ । चुइँगमसँग हुँदा मैले महसुस गरेको हरेक अनुभूतिहरूको भावनात्मक उचाई एकदमै उच्च थियो । मलाई लाग्दैन कि ती भावनात्मक उचाईहरूको महसुस अब म कहिले प्राप्त गर्न सक्छु । ती अतुलनीय भावनात्मक चढावहरू केवल पहिलो प्रेमसँग हुन्छ । त्यो यसप्रकारको उचाई हो जसलाई पछ्याउन मानिसहरू आफ्नो पुरा जीवन व्यतीत गर्न पछि हट्दैनन् ।
कुल मिलाएर चुइँगम र म सायद ६ महिना सँगै थियौँ । मात्र ६ महिना, तर, यति नोक्शान ६ महिनामा हुन सक्ने रहेछ । यो ६ महिना पछिको वर्षहरूमा कुनै व्यक्तिको कारणले मेरो जीवनमा यस्तो स्थायी प्रभाव पार्न सक्छ भन्ने कहिले सोचेको पनि थिएन ।
चुइँगम र मेरो बिछोड शुक्रबारको दिन भएको थियो किनभने मैले त्यसपछिको अर्का ३ दिनसम्म मेरो सिरानीमा रूदै बिताएको थिएँ । यो एक यस्तो बिछोड थियो जसमा हाम्रो आपसी सहमति थियो । तर आपसी सहमति हुनुको मतलब यो कम विनाशकारी हुनु हैन । करिब एक हप्तासम्म रोएर समय बिताएपछि मैले सम्बन्धको गणित गर्न थाले । मैले निधो गरे की ६ महिनासम्ममा म यो पीडामाथि काबु पाउन सक्छु ।
६ महिनासम्म म विक्षिप्त भएँ । ६ महिनासम्म म हाम्रो सम्बन्धलाई लिएर दुखी रहें । शोकले आफूलाई विभिन्न मानिसहरूका लागि फरक रूपमा प्रस्तुत गर्दछ । मेरो लागि शोक सबै कुरा ठीक छ, जे हुन्छ राम्रो को लागि हुन्छ भन्ने बहानामा आयो । जबकी वास्तवमा यस्तो थिएन । म आफैलाई राम्रो महसुस गर्ने कोसिस गर्दै थिएँ । यदि मैले बाहिरी रूपमा ठीक काम गरे भने म भित्री रूपमा ठीक महसुस गर्न सक्छु जस्तो लाग्थ्यो । तर कार्यान्वयनमा म आफूलाई ठीक पार्ने उपलब्धीबाट पछि परी रहेँ ।
म जवान थिएँ र आउनेवाला ग्यासलाइटिंगलाई (Gaslighting) सम्हाल्नको लागि तयार थिइन । हाम्रो सम्बन्ध टुटेको दिन चुइँगमले एउटा सानो तर हानिकारक भावनाको बीउ रोपेको थियो । उसले भनेको थियो “म तिमीलाई सधैँभरि माया गर्नेछु तर तिमी माया पाउनको लायक छैनौ । अनि मैले जवाफ दिनु अघिनै उसले फोन काटिदियो ।
जसरी समय बित्दै गयो शंकाको बीउले जरो गाड्न थाल्यो । के चुइँगम सही थियो ? के म मायाको अयोग्य थिएँ ? के यो एक मात्र व्यक्ति थियो जसले मलाई माया गर्थ्यो ? जब तपाईंले माया गर्ने व्यक्तिद्वारा बारम्बार झुट बोलिन्छ, सत्यमा तपाईंको पकड कमजोर हुन्छ र पिडा हुन थाल्छ ।
६ महिना बित्यो तर मैले केही राम्रो महसुस गरिँन, मलाई अझै झन् नराम्रो भैरहेको थियो । चुइँगम अझै ममा अडकिएको थियो वा सायद म नै थिएँ जो चुइँगममा अडकिएको थिएँ । जहाँ गए पनि मलाई हाम्रो सम्बन्धको याद आइरहन्थ्यो । रेडियोमा गाना सुन्दा, शहरको हरेक ठाउँमा जाँदा, सिनेमा हेर्दा ।
एक वर्ष, दुई वर्ष, ३ वर्ष बित्यो । मेरो मनमा चुइँगम निरन्तर आइरहने एक रूप थियो । हरेकचोटि जब म सोध्थे की म अगाडि भड़ही बढीसकेँ तर वास्तवमा म कहिले अगाडि बढ्न सकिन ।
चुइँगम भेट्नु अगाडिको त्यो खुशी र सुखी म, सधैँ रमाउने चुलबुले म, टाढाको सम्झना जस्तो देखिन्थ्यो । यति टाढाको मैले त्यसको अस्तित्व सम्झन सक्दिनँ ।
वर्षाै बित्दै गए, मैले नयाँ जागिर र नयाँ साथीहरू बनाएँ, नयाँनयाँ मानिसहरूलाई भेटेँ, नयाँ प्रेममा परेँ मैले आफ्नो जीवन बिताएँ र सतहबाट देख्दा म टुटेको छु भन्ने भान कसैलाई हुन दिइन । तर, त्यहाँ मन भित्र एक भाग थियो जसलाई थाहा थियो की चुइँगम अझै पनि त्यहीँ छ र यो सम्झेर मलाई रिस उठिरहन्थ्यो ।
ग्यासलाइटिंग (Gaslighting) के हो ?
ग्यासलाइटिंग (Gaslighting) मनोवैज्ञानिक दुर्व्यवहारको एउटा रूप हो । जसमा एउटा व्यक्तिले कसैलाई उनीहरूको विवेक, सम्झनाहरू वा वास्तविकताको धारणामा प्रश्न उठाउँछ । ग्यासलाइटिंग (Gaslighting) अनुभव गर्ने व्यक्तिहरू भ्रमित, चिन्तित वा आफूलाई विश्वास गर्न असमर्थ महसुस गर्छन् ।
समस्या यो हो कि ग्यासलाइटिँग (Gaslighting) हानिकारक हुन्छ । यसमा हाम्रो सबैभन्दा ठूलो डर, चिन्तित विचारमा खेल्छ । जब कोही व्यक्ति जसलाई हामी भरोसा गर्छौ उसले एकदमै निश्चितताको साथ बोल्छ । विशेषगरी यदि उसको शब्दमा सत्यताको अंश छ भने उसलाई विश्वास नगर्न धेरै गाह्रो हुन जान्छ ।
ग्यासलाइटिँग (Gaslighting) बाट व्यक्तिमा मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूमा उत्पन्न हुन सक्छ । निरन्तर शंका र भ्रमले चिन्तारोग (Anxiety) को विकास हुन सक्छ । निराशा र कम आत्मसम्मानले डिप्रेसन निम्त्याउन सक्छ । Post Traumatic तनाव र सह- निर्भरता (Co-dependency) पनि ग्यासलाइटिँग (Gaslighting) को सामान्य रूप हो ।
यदी कोही पनि आफू Gaslighting को शिकार भएको महशुस गर्दछन् भने मनोचिकित्सक वा मनोविश्लेषकको परामर्श लिन जरूरी हुन्छ, एक मनोचिकित्सकले Gaslighting बाट सिर्जना हुने मानसिक समस्याको पहिचान गर्न र त्यसबाट मुक्त हुनको लागि मद्दत गर्न सक्नुहुन्छ । थेरापिले आत्मविश्वास बलियो बनाउन, वास्तविकतामा आधारित रहन र आफ्नो लक्ष्यहरू पत्ता लगाउन मद्दत हुन्छ ।
By सन्जोग ढकाल (Pharmacist)