पाइल्स
सुवास श्रेष्ठ
11:30 am
पाइल्स (Hemorrhoids) भनेको हो ?
पाइल्स भनेको मलद्वारको तल्लो भाग वा मलद्वारको वरपर रक्तनलीहरू सुन्निने वा संक्रमण भई हुने रोग हो । यसलाई अङ्ग्रेजीमा हेमोरोइड्स (Hemorrhoids) भनिन्छ ।
लक्षणहरु :-
- दिसा गर्दा दुख्ने ।
- दिसा गर्दा रगत पनि सँगसँगै बग्ने ।
- मलद्वारमा पीडा महसुस हुने ।
- मलद्वारको तल्लो भागमा कडा प्रकारको मासुका डल्ला झुण्डिने ।
- लामो समयसम्म कब्जियत हुने ।
कारणहरु :-
- दीर्घकालिन रुपमा कब्जियत भइरहेमा ।
- लामो समयसम्म पखाला लाग्दा ।
- गर्भावस्था र सुत्केरी हुँदा मलद्वारमा दवाव पर्दा ।
- प्रशस्त पानी नपिउनाले ।
- नियमित व्यायाम नगर्दा ।
- औषधि जथाभावी सेवन गर्दा ।
- प्रशोधित खाना धेरै मात्रामा खाँदा ।
- अत्याधिक तारेको र भुटेको खानाको उपभोग गरेमा ।
- दिसा, पिसाव लाग्दा रोक्ने प्रवृत्ति भएमा ।
- पाचन प्रणालीमा गडबडी भएमा ।
- सन्तुलित खाना सही मात्रामा उचित समयमा नखानाले ।
प्रकार :-
क) इन्टर्नल हेमोरोइड्स (Internal – Hemorrhoids): मलद्वार भित्रको रक्तनलीहरू सुन्निएर हुने रक्तश्रावलाई इन्टर्नल हेमोरोइड्स भनिन्छ ।
ख) एक्सटर्नल हेमोरोइड्स (External – Hemorrhoids): मलद्वारको तल्लो भागको रक्तनलीहरू सुन्निएर तल सर्ने हुन्छ । जसमा मासुको दाना जस्तो कडा प्रकारको दाना वा मासु मलद्वारको तल्लो भागमा महसुस हुन्छ । यसलाई एक्सटर्नल हेमोरोइड्स भनिन्छ ।
जटिलता अनुसार पाइल्सलाई चार चरणमा बिभाजन गर्न सकिन्छ ।
क) पहिलो चरण : यो अवस्थामा दिसा निस्कने ठाउँको रक्तनलीहरु सुन्निने हुन्छ जुन बाहिरबाट देख्न सकिदैन । यसमा कहिलेकाँही दिसा कडा हुँदा हल्का रगत बग्ने गर्छ तर खासै दुखाई महसुस हुँदैन ।
ख) दोस्रो चरण : यो अवस्थामा दिसा गर्दा मलद्वारको बाहिरी भागमा रक्तनली सुन्निएको महसुस हुन्छ तर केही समयपछि सुन्निएको भाग स्वतः ठीक भएको महसुस हुन्छ । यसमा दिसा गर्दा रगत बग्ने र आप्ठ्यारो महसुस हुन्छ ।
ग) तेश्रो चरण : यो अवस्थामा दिसा गर्दा मलद्वारको तल्लो भागबाट कडा मासुको डल्ला बाहिर निस्किन्छ जसलाई हातले धकेल्दा मात्र मलद्वार भित्र जान्छ । साथै, दिसा गर्दा दुख्ने, रगत बग्ने र अप्ठ्यारो महसुस हुन्छ ।
घ) चौथो चरण : यो अवस्थामा रक्तनली सुन्निनु लगायत मलद्वारको तल्लो भागमा कडा प्रकारको मासुको डल्ला झुण्डिरहन्छ जसलाई हातले धकेल्दा पनि सो भाग मलद्वार भित्र जाँदैन । यसमा दिसा गर्दा रगत बग्ने, अत्याधिक पीडा हुने, दुख्ने, पोल्ने हुन्छ ।
रोकथामको उपायहरु :-
१) प्रशस्त पानी पिउने (कम्तिमा ३ लिटर दिनमा) ।
२) फाइबर युक्त खाना प्रशस्त खाने ।
३) नियमित हरियो सागसब्जी र फलफूलको सेवन गर्ने ।
४) नियमित व्यायाम र योगा गरी तनावबाट मुक्त रहने ।
५) चिल्लो, पिरो, मसालेदार र प्रशोधित खाना कम खाने ।
६) तारेको, भुटेको र मैदाबाट बनेको खानेकुरा नखाने ।
७) बजारको पेयपदार्थ नपिउने ।
८) पच्न समय लाग्ने खानेकुराहरु जस्तैः माछा, मासु विहानको समयमा खाने ।
९) खाना खाने बित्तिकै नसुत्ने ।
१०) कब्जियत हुन नदिने ।
११) रातीको दाँजोमा विहानको पहिलो पहरमा प्रशस्त खाना खाने ।
उपचार :-
विगतको समयमा पाइल्स सम्बन्धी चेतनाको कमी र दक्ष चिकित्सक लगायत स्वस्थ्य सेवाको अभावले विरामीहरु उपचारबाट वञ्चित हुन्थे तर अहिलेको समयमा विरामीहरु उपचार गर्न लजाउनाले प्रवित्तिले भित्रभित्रै पाइल्सको जटिलता बढेर कतिपय मानिसमा क्यान्सर जस्तो घातक रोग लाग्ने तथ्याङ्कले देखाएको छ । तसर्थ, समयमा नै उपचार गरे यसको जटिलताबाट बच्न सकिन्छ । यसको उपचारका लागि नेपालमा आयुर्वेदबाट श्रारसुत्र विधि निकै प्रचलित छ जुन निकै प्रभावकारी पनि छ । साथै, एलोपेथि चिकित्सा विज्ञानमा शल्यक्रियाबाट पनि यो रोगको उपचार गर्न सकिन्छ ।
सुवास श्रेष्ठ (Pharmacist)