Blogs

Read the latest articles & insights about medical science and pharmaceutical technologies on development.

बेनाइन प्रोस्टाटिक हाइपरप्लासिया (Benign Prostatic Hyperplasia)

मनिका पराजुली (Pharmacist)

September 17, 2023

6:18 am


प्रोस्टेट पुरुषमा हुने एउटा ग्रन्थी हो जुन पिसाब थैलीको मुनी र मूत्र मार्ग (पिसाब थैली खाली गर्ने नली) को वरिपरि हुन्छ । बढ्दो उमेरको साथ, पुरुषहरूमा प्रोस्टेटको ऊतकमा देखिने परिवर्तनले गर्दा प्रोस्टेट ठूलो हुँदै जाने पाइन्छ र उक्त परिवर्तनले गर्दा प्रोस्टेट ग्रन्थीमा समस्या देखा पर्दछ । बेनाइन प्रोस्टाटिक हाइपरप्लासिया/बी.पि.एच (Benign Prostatic Hyperplasia/B.P.H) एउटा यस्तो अवस्था हो जसमा प्रोस्टेट ग्रन्थी बढेको कारणले पिसाब नली च्यापिन्छ र पिसाब नली सानो भएकोले पिसाब फेर्न गाह्रो हुने समस्या उत्पन्न गर्दछ । एक सर्वेक्षण अनुसार, ५० देखि ६० वर्ष उमेरको ३०-४० प्रतिशत पुरुषहरूमा प्रोस्टेटको समस्या हुने गरेको पाइएको छ ।

बेनाइन प्रोस्टाटिक हाइपरप्लासियाको लक्षणहरू के के हुन् ?

बेनाइन प्रोस्टाटिक हाइपरप्लासिया हुँदा देखिने लक्षणहरू यस प्रकार छन् :-

  • बारम्बार पिसाब लाग्ने, रातीको समयमा पनि पिसाब फेर्नको लागि उठ्नुपर्ने ।
  • पिसाब फेरिसकेपछि पनि पिसाब थैली नरित्तिएको महसुस हुने ।
  • सजिलै पिसाब फेर्न नसकिने ।
  • थोरै समयको लागि पनि पिसाब रोक्न नसक्ने ।
  • थाहै नपाई पिसाब चुहिने ।
  • पिसाब फेर्दा पोलेको जस्तो महसुस हुने ।

यी माथि उल्लेखित लक्षणहरू देखिएको छ भने, प्रोस्टेट ग्रन्थीको जाँच गराउन जरुरी हुन्छ । प्रोस्टेट ग्रन्थीको जाँच अल्ट्रासाउन्ड विधिबाट गर्न सकिन्छ । अल्ट्रासाउन्डबाट प्रोस्टेट ग्रन्थीको आकारको मूल्यांकन गर्न सकिन्छ । साथै पिसाब थैली पुरै खाली भएको नभएको पनि हेर्न सकिन्छ ।

बेनाइन प्रोस्टाटिक हाइपरप्लासियाका उपचार पद्धतिहरू के के हुन् ?

बेनाइन प्रोस्टाटिक हाइपरप्लासियाको लागि विभिन्न प्रकारका उपचार विकल्पहरू उपलब्ध छन् । कुनै पनि उपचार सुरु गर्नु अगाडि बिरामीको यी ३ विवरणलाई ध्यानमा राख्न जरूरी हुन्छ ।

  • बिरामीको उमेर
  • प्रोस्टेटको आकार
  • लक्षणको गम्भीरता

माथिका यी ३ कुरालाई ध्यानमा राखी उपचार विधि सुरु गर्दा, बिरामीले त्यस उपचारबाट अधिकत्तम सहजता महसुस गर्दछन् ।

बेनाइन प्रोस्टाटिक हाइपरप्लासियालाई औषधिको प्रयोगले मात्र नभई, शल्यक्रिया र जीवनशैली परिवर्तनबाट पनि निको पार्न सकिन्छ । बी.पी.एच. का लागि उपचार पद्धतिहरू तल उल्लेख गरिएको छ ।

(क) औषधि उपचार
(ख) शल्यक्रियात्मक उपचार
(ग) जीवनशैलीमा परिवर्तन (Lifestyle Modification)

(क) औषधि उपचार

यदि बिरामीमा लक्षण देखिन थालेको सुरुवाती दिनहरू हो र प्रोस्टेट ग्रन्थी सानो छ भने, औषधि सेवन गरेर प्रोस्टेटको समस्या समाधान गर्न सकिन्छ । बेनाइन प्रोस्टाटिक हाइपरप्लासियाको लागि उपलब्ध औषधि उपचार तल उल्लेख गरिएको छ ।

अल्फा ब्लकर (Alpha Blocker)

Tamsulosin, Silodosin, Alfuzosin, Terazosin जस्ता अल्फा ब्लकरले पिसाबको नलीलाई खुकुलो बनाई पिसाब फेर्न सजिलो बनाउन मद्दत गर्दछ । प्रोस्टेटको तौल ३० ग्राम भन्दा कम छ भने प्रायः अल्फा ब्लकर उपयुक्त औषधि मानिन्छ ।

अल्फा रिडक्टेज इन्हिबिटर्स (Alpha Reductase Inhibitors)

यस प्रकारका औषधिले टेस्टोस्टेरोन (Testosterone) नामक हर्मोनको मात्रा घटाउँछ र प्रोस्टेटको तौल र नाप घटाउने काम गर्दछ । यस औषधिले अल्फा ब्लकर जति छिटो परिणाम दिँदैन, तर उपचार सुरु गरेको ६ महिनामा सुधार देखिन थाल्दछ ।

दुवै औषधिको प्रयोग

प्रोस्टेटको तौल ३० ग्राम भन्दा बढी भएको अवस्थामा दुवै औषधिको प्रयोग गरी उपचार गरिन्छ ।

(ख) शल्यक्रियात्मक उपचार

यदि प्रोस्टेटको समस्या जटिल भइसकेको छ र औषधि उपचारले काम गरेन भने शल्यक्रियात्मक उपचार उपयुक्त हुन्छ । बेनाइन प्रोस्टाटिक हाइपरप्लासियाको लागि उपलब्ध शल्यक्रियात्मक उपचार तल उल्लेख गरिएको छ ।

प्रोस्टेटको ट्रान्स्युरेथ्रल रिसेक्सन (Transurethral Resections of Prostate)

यो शल्यक्रिया बी.पी.एच.को लागि सबैभन्दा सामान्य शल्यक्रियात्मक उपचार हो । यस शल्यक्रियामा बढी भएको प्रोस्टेट टिस्यु जसले पिसाबलाई रोकेर राखेको हुन्छ, त्यो टिस्यु हटाइन्छ । उक्त टिस्यु हटाइसकेपछि एउटा छोटो सर्जिकल उपकरण पिसाब नलीमा राखिन्छ । यो शल्यक्रिया सामान्य एनेस्थेसिया दिएर गरिन्छ र शल्यक्रियाको १-२ दिन पछि बिरामीहरू घर जान सक्छन् ।

लेजर प्रोस्टाटेक्टमी (Laser Prostatectomy)

यो शल्यक्रियामा लेजर प्रयोग गरी बढी भएको प्रोस्टेट टिस्यु हटाइन्छ । प्रोस्टेट ग्रन्थी ठूलो भएको बिरामीहरूको लागि लेजर प्रोस्टाटेक्टमी एउटा राम्रो विकल्प हो ।

ट्रान्स्युरेथ्रल माइक्रोवेभ थेरापी (Transurethral Microwave Therapy)

यस प्रक्रियामा माइक्रोवेभहरू प्रयोग गरी बढी भएको प्रोस्टेट टिस्युलाई नष्ट गरिन्छ । यो प्रक्रिया शल्यक्रिया उपयुक्त  नभएका बिरामीहरूको लागि राम्रो विकल्प हो ।

खुला प्रोस्टाटेक्टमी (Open Prostatectomy)

यस प्रक्रियामा तल्लो पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिन्छ । शल्यक्रिया मार्फत प्रोस्टेट भएको भागमा पुगेपछि, समस्या निम्त्याएको प्रोस्टेट टिस्युलाई हटाइन्छ । खुला प्रोस्टाटेक्टमी गरेका पुरुषहरुलाई पूणर् रूपमा ठीक हुन केही हप्ता लाग्छ ।

(ग) जीवनशैलीमा परिवर्तन (Lifestyle Modification)

जीवनशैली सुधार गर्नाले पनि बी.पी.एच.का लक्षणहरू व्यवस्थापन गर्न सकिन्छ । बी.पी.एच.का बिरामीहरूले जीवनशैलीमा गर्नुपर्ने सुधारहरु यस प्रकार छन् :-

  • नियमित रूपमा व्यायाम गर्ने :- नियमित व्यायाम गर्नाले मूत्र थैली र प्रोस्टेट स्वस्थ रहन मद्दत पुर्‍याउँछ । साथै, व्यायामले रोग प्रतिरोधक क्षमतालाई बढाउन मद्दत गर्दछ ।
  • पर्याप्त मात्रामा पानी पिउने :- पर्याप्त मात्रामा पानी पिउनाले मूत्र थैली सफा गर्न मद्दत गर्छ र प्रोस्टेटको लक्षणहरू कम गर्छ ।
  • लामो समयसम्म पिसाब नरोक्ने र पिसाब गर्दा सकेसम्म मूत्र थैली खालि पार्ने ।
  • तनाव नलिने/कम गर्ने :- तनावले बी.पि.एच.को लक्षणहरू बढाउन सक्छ, त्यसैले ध्यान, योग वा व्यायाम जस्ता कार्यहरूद्वारा तनाव व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ ।
  • सन्तुलित आहार :- सन्तुलित आहारले बेनाइन प्रोस्टाटिक हाइपरप्लासियाका लक्षणहरूमा उल्लेखनीय प्रभाव पार्न सक्छ । त्यसैले बिरामीले प्रोस्टेटको समस्या भएको बेला सेवन गर्न हुने र नहुने खाद्य पदार्थ बारे जानकारी राख्न जरूरी हुन्छ ।
प्रोस्टेटको समस्यामा सेवन गर्न हुने खाद्य पदार्थहरु :-
  • हरियो तरकारी :- हरियो तरकारीहरूमा पाइने एन्टि-अक्सिडेन्टले प्रोस्टेटको समस्यालाई घटाउन मद्दत पुर्‍याउँछ ।
  • तिल र बदाम :- तिल र बदाममा Zinc भन्ने मिनेरल अधिकतम मात्रामा पाइन्छ, जसले प्रोस्टेट ग्रन्थीलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।
  • बेसार :- बेसारको सेवनले ग्रन्थीको तौल र आयाम घटाउन मद्दत पुर्‍याउँछ ।
  • माछा :- सालमोन र टुना नामक माछामा पाइने Omega-3 फ्याटि एसिडले बढेको प्रोस्टेट ग्रन्थीलाई थप बढ्न नदिनुको साथै ग्रन्थीको तौल घटाउन मद्दत पुर्‍याउँछ ।
प्रोस्टेटको समस्यामा सेवन गर्न नहुने खाद्य पदार्थहरू :-
  • रातो मासु :- भेडा, बाख्रा, हरिण, सुंगुरहरुमा पाइने मासुलाई रातो मासु भनिन्छ । रातो मासुको प्रयोगले प्रोस्टेटको क्यान्सर गराउन सक्ने सम्भावना भएकोले प्रोस्टेटको समस्या भएको समयमा रातो मासुको सेवन नगरेको नै उचित हुन्छ ।
  • क्याफिन :- कफीमा पाइने क्याफिनको सेवनले पिसाब बारम्बार आउने समस्या देखिने भएको कारण प्रोस्टेटको समस्यालाई थप बढाउने गर्दछ ।
  • दूधबाट बनेको खाद्य पदार्थ :- दूध, दही, पनिर जस्ता दूधबाट बनेको खाद्य पदार्थहरूको सेवनले प्रोस्टेटको समस्यालाई थप बढाउनुको साथै प्रोस्टेटको कारणले क्यान्सर हुने जोखिम समेत बढाउँछ ।
  • मदिरा :- मदिराको सेवनले ब्लाडरमा दबाब पुर्‍याउनुको कारण पिसाब गर्दा गाह्रो हुने समस्या हुन्छ । साथै, मदिराको सेवनले मांसपेशीमा प्रभाव पारी प्रोस्टेटको समस्यालाई थप कठीन बनाउँछ ।

 

By मनिका पराजुली (Pharmacist)