Blogs

Read the latest articles & insights about medical science and pharmaceutical technologies on development.

नेपालको अर्धशहरी र ग्रामीण क्षेत्रमा महिलाहरुको स्वास्थ्य स्थिति

सलिना थापा

December 26, 2022

9:17 am


अर्धशहरी क्षेत्रहरु भनेको नेपालको नगरपालिकाहरु हो भने ग्रामीण क्षेत्रहरु नेपालको गाउँपालिकाहरु हो । नेपालको ग्रामीण भेगको अधिकांश स्वास्थ समस्या अझै पनि मातृ मृत्यु, बाल मृत्यु, श्वासप्रश्वासको समस्या, शिशु मृत्यु रहेको छ । नेपाल पितृसत्तात्मक समाज भएकोले अधिकांश महिलाहरु घरेलु काममा व्यस्त हुने गर्छन् । उहाँहरुलाई आफ्नो रेख-देख गर्न समय तथा ध्यान हुँदैन । उनीहरू सबैको ख्याल राख्छन् तर आफ्नै ख्याल गर्न बिर्सन्छन् । महिलाहरूसँग शारीरिक व्यायाम, योग वा ध्यान गर्ने पनि समय हुँदैन ।

महिलाहरू दिनभर घरमै बस्ने, खाना पकाउने र घरको कामलाई व्यायामको रूपमा लिने गर्छन् । तर घरको काम र शारीरिक व्यायाम वा योगमा फरक हुन्छ । कतिपय महिलाहरूले कहिल्यै आफ्नो रक्तचाप वा मधुमेह पनि जाँच गरेको हुँदैनन् । साथैे उनीहरुलाई आफ्नो स्वास्थ्य स्थितिको बारेमा ज्ञान हुँदैन । उनीहरूले आफ्नो उपचार पनि गर्दैनन् जसले गर्दा विभिन्न स्वास्थ्य जटिलता, अशक्तता, अपाङ्गता आदि निम्त्याउन सक्छ ।

एन. पि. एल. समाज कल्याण संस्थाले चितवन र काठमाडौंको अर्धशहरी क्षेत्रमा अनुसन्धान र अध्ययन कार्य सञ्चालन गर्दा कतिपय महिलालाई आफ्नो रगतमा ग्लुकोज को मात्रा ५०० mg/dl छ भन्ने थाहा नै थिएन । हामीले उनीहरुलाई अस्पताल जान मनाउन सक्दो प्रयास गरी उनीहरुलाई स्वस्थ जीवन जीउन उत्प्रेरित गर्‍यौँ । ग्रामीण क्षेत्रका धेरै महिलाहरुले बच्चा जन्माउँदा उचित पोषणयुक्त खाना समेत खान पाउँदैनन् । यो सबै कुराहरु विभिन्न सामाजिक, सांस्कृतिक र आर्थिक कारणले गर्दा भएको हो ।

विभिन्न अनुसन्धान अनुसार थाइरोइड, र्‍युम्याटोइड, गठिया, लुपस आदि जस्ता अटोइम्युन रोग पुरुषको तुलनामा महिलामा हुने सम्भावना बढी हुन्छ। वर्तमान समयमा महिलाहरुमा थाइरोइड, युरिक एसिड, गठिया, मधुमेह आदि स्वास्थ्य समस्याहरु अत्याधिक मात्रामा देखिएका छन् । त्यसैले महिलाहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना, उपचार पद्धति लगायत स्वास्थ्य सुविधाको उपलब्धताका बारे जानकारी दिनु महत्वपूर्ण हुन्छ । साथै स्वस्थ जीवनशैलीका लागि महिला सशक्तिकरणको ठूलो भूमिका रहेकोले उनीहरुलाई आम्दानी गर्न सक्ने, सीप विकास गर्ने तालिम दिनुपर्छ । हामीले उनीहरूलाई उद्यमशील, आर्थिक व्यवस्थापन गर्ने तालिमहरु दिनुपर्दछ ।

यसै सन्दर्भमा एन.पि.एल. समाज कल्याण संस्थाद्वारा महिला सशक्तिकरण गर्नको लागि महिलाहरुलाई विभिन्न तालिम र चेतना प्रदान गर्दै आइरहेको छ जसलाई  बुँदागतरुपमा  समावेश गरेका छाैँ ।

१. हामीले महिलालाई पाठेघर खस्ने समस्या बारे, रक्तचाप-मधुमेह बारे जानकारी दिँदै आएका छाैँ ।
२. हामीले मधुमेह, उच्च रक्तचाप, पाठेघरको मुखको क्यान्सर, पाठेघर खस्ने समस्याको निःशुल्क जाँच प्रदान गर्दै आएका छौँ ।
३. हामीले स्वास्थ्य स्वयंसेविकाहरूलाई उच्च रक्तचाप र मधुमेह जाँच गर्ने तालिमहरु दिएको छौँ ।
४. हामीले बन्दीपुरको महिलाहरूलाई माइक्रो-फायनान्सिङ (Micro Financing) गर्न सहयोग पनि गर्दै आएका छौ ।

महिला सशक्तिकरणको लागि शिक्षा र स्वास्थ्यसँगै पैसा पनि महत्वपूर्ण भएकोले हामी विभिन्न सीप विकासको कार्यक्रमहरू, तथा आय आर्जन गर्न सक्ने कार्यक्रमहरु पनि यो वर्ष सञ्चालन गर्नेछौँ ।

पाठेघरको क्यान्सर स्क्रीनिङ (Cancer Screening) र शैक्षिक कार्यक्रमका केही झलकहरु :-

उदयपुर, सप्तरीमा गर्भाशय प्रोल्याप्स शिक्षा तथा सचेतना कार्यक्रमका केही झलकहरु :-

By सलिना थापा
(Public Health Professional)