Blogs

Read the latest articles & insights about medical science and pharmaceutical technologies on development.

रक्तअल्पता (Anemia)

रोहिनी वैद्य

December 8, 2024

11:48 am


रक्तअल्पता एक यस्तो अवस्था हो जसमा रातो रक्त-कोशिकाहरूको संख्या वा तिनीहरू भित्र रहेको हेमोग्लोबिनको मात्रा सामान्य भन्दा कम हुन्छ । शरीरमा अक्सिजन सञ्चार गर्नका लागि हेमोग्लोबिन आवश्यक हुन्छ र यदि धेरै, थोरै वा असामान्य मात्रामा रातो रक्त-कोशिकाहरू छन्, वा पर्याप्त मात्रामा हेमोग्लोबिन छैन भने, शरीरका तन्तुहरूमा अक्सिजन पुग्न गाह्रो हुने गर्दछ । यसले गर्दा थकान, कमजोरी, चक्कर लाग्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखा पर्दछ । शारीरिक आवश्यकताहरू पूरा गर्नको लागि अधिकतम हेमोग्लोबिनको मात्रा व्यक्तिको उमेर, लिङ्ग, बसोबास गर्ने स्थान, धुम्रपान गर्ने बानी र गर्भावस्थाको स्थितिमा निर्भर हुन्छ ।

रक्तअल्पता धेरै कारणहरूले गर्दा हुन सक्छ । अपर्याप्त आहार वा पोषक तत्वहरूको कमी, संक्रमणहरु (जस्तैः मलेरिया, परजीवी संक्रमण, क्षयरोग, एच.आई.भी.), इन्फ्लामेसन, दीर्घकालीन रोग, स्त्री रोग र प्रसूति अवस्था र वंशाणुगत रातो रक्त-कोशिका विकारहरूद्वारा रक्तअल्पता हुन सक्छ । सामान्यतया पोषणमा आइरनको कमीको कारणले रक्तअल्पता हुन्छ । यद्यपि, फोलेट, भिटामिन बी-१२ र भिटामिन ए को कमीले पनि हुने गर्दछ ।

रक्तअल्पता एक गम्भीर विश्वव्यापी स्वास्थ्य समस्या हो, जसले विशेषगरी साना बालबालिका, महिनावारी भएका किशोरी र महिलाहरूका साथै गर्भवती र प्रसवोत्तर (पोस्टपार्टम) महिलाहरूलाई असर गर्छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार विश्वभरका ६-५९ महिना उमेरका ४०% बालबालिका, ३७% गर्भवती महिला र ३०% १५-४९ वर्ष उमेरका महिलाहरूमा रक्तअल्पता हुने गर्दछ ।

रक्तअल्पताको लक्षणहरू :-

  • थकान, कमजोरी, चक्कर लाग्ने वा हल्का टाउको दुख्ने ।
  • छाती दुख्ने र सास फेर्न गाह्रो हुने ।
  • छालाको रङ्ग फिक्का वा पहेंलो हुने जुन कालो वा खैरो छालामा भन्दा सेतो छालामा बढी स्पष्ट देखिने हुन्छ ।
  • हात खुट्टा चिसो हुने ।

रक्तअल्पताले गर्दा विशेषगरी बच्चाहरू र गर्भवती महिलाहरू कमजोर हुन्छन् । तसर्थ, मातृ र बाल मृत्युदरको जोखिम पनि बढ्ने गर्दछ । आइरनको कमीको कारणले हुने रक्तअल्पताले बच्चाहरूको संज्ञानात्मक र शारीरिक विकासलाई असर गर्छ र वयस्कहरूमा पनि प्रजनन क्षमतालाई घटाउँछ ।

रक्तअल्पताको प्रकार :-

आइरनको कमीबाट हुने रक्तअल्पता (Iron Deficiency Anemia) :- यो सामान्य प्रकारको रक्तअल्पता हो । यो शरीरमा पर्याप्त मात्रामा आइरन नहुँदा हुने गर्दछ । सामान्यतया आइरनको कमी र आइरनको अवशोषणको कमीले हुन्छ । साथै, गर्भावस्था र बच्चा जन्माउँदा पनि गर्भावस्थासँग सम्बन्धित रक्तअल्पता हुन सक्छ । तौल घटाउनका लागि गरिने ग्यास्ट्रिक बाइपास शल्यक्रिया गरेका मानिसहरूमा आइरनको अब्जोर्पसन कम हुनाले रक्तअल्पता हुन सक्छ ।

भिटामिनको कमीले हुने रक्तअल्पता (Pernicious Anemia) :- सामान्यतया पौष्टिक खानाको कमीको कारणले भिटामिन बी-१२ वा फोलेट (फोलिक एसिड)को मात्रा कम हुन्छ र रक्तअल्पता हुने गर्दछ । यसलाई पेर्निसियस एनीमिया पनि भनिन्छ । यसमा भिटामिन बी-१२ को ग्यास्ट्रो इन्टेस्टाइनल ट्रयाक्टबाट अब्जोर्पसन हुन सक्दैन ।

एप्लास्टिक एनीमिया (Aplastic Anemia) :- यो एक दुर्लभ रक्तअल्पता हो जसमा बोन म्यारोको विफलताको कारणले गर्दा पर्याप्त रक्त-कोशिकाहरू (रातो रक्त-कोशिकाहरू, सेतो रक्त-कोशिकाहरू, र प्लेटलेटहरू) बन्न सक्दैन । यो रगत बनाउने स्टेम सेल (Stem Cell) हरू को विनाश वा कमीको परिणामको रूपमा देखा पर्दछ, विशेषगरी जब शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले स्टेम सेलहरूलाई आक्रमण गर्दछ । यद्यपि, बोन म्यारोले बनाउने केही रक्त-कोशिकाहरू सामान्य हुन्छन् । भाइरल संक्रमण, विकिरण र विषाक्त रसायनको सम्पर्कले पनि एप्लास्टिक एनीमिया हुन सक्छ ।

हेमोलाइटिक एनीमिया (Hemolytic Anemia) :- यसमा रातो रक्त-कोशिकाहरूमा रहेको हेमोग्लोबिन चेनमा समस्या आएर रगतमा रातो रक्त-कोशिकाहरू बन्नु भन्दा स्वतः बढी टुक्रिन्छन् र रक्तअल्पता गराउँदछ । यो विभिन्न कारणहरू जस्तैः हृदयको भल्भमा समस्या, संक्रमण, स्वतः प्रतिरक्षा विकार वा रातो रक्त-कोशिकामा जन्मजात हुने समस्याको कारण हुन सक्छ । वंशाणुगत हुने समस्याहरूले पनि हेमोग्लोबिन वा रातो रक्त-कोशिकाको संरचना वा कार्यलाई असर गर्न सक्छ । तसर्थ, वंशाणुगत हेमोलाइटिक एनीमियाको उदाहरणहरूको बारे कुरा गर्नु पर्दा थालेसेमिया (Thalassemia) र ग्लुकोज-६ फस्फेट डिहाइड्रोजनेजको डेफिसिएन्सि आदि हुन् ।

सिकल सेल एनीमिया (Sickle Cell Anemia) :- यो एक वंशाणुगत रुपमा हुने हेमोलाइटिक एनीमिया हो जसमा हेमोग्लोबिन प्रोटिन असामान्य हुन्छ, जसले गर्दा रातो रक्त- कोशिकाहरूको रुप असामान्य भई सजिलै रक्त नलीहरू मार्फत प्रवाह गर्न सक्दैन ।

रोगहरूको कारण हुने रक्तअल्पता (Disease Induced Anemia) :- केही रोगहरूले शरीरको रातो रक्त-कोशिकाहरू बनाउने क्षमतालाई असर गर्न सक्छ । उदाहरणका लागि, मृगौलाको रोगीमा पर्याप्त मात्रामा इराइथ्रोपोइटिन हर्मोन उत्पादन हुँदैन र रक्तअल्पता गराउँदछ । त्यसैगरी, विभिन्न क्यान्सरहरूको उपचार गर्न प्रयोग गरिने किमोथेरापीले पनि अक्सर नयाँ रातो रक्त-कोशिकाहरू बनाउने शरीरको क्षमतालाई कमजोर बनाउँछ र रक्तअल्पता गराउँदछ ।

रक्तअल्पताको उपचार :-

यसको उपचार के कारणले गर्दा भएको हो भन्ने कुरामा निर्भर हुन्छ । जसलाई तल सूचीबद्ध गरिएको छ ।

आइरनको कमीबाट हुने रक्तअल्पता :- यस प्रकारको रक्तअल्पतामा सामान्यतया आइरन चक्कीका साथै आइरनयुक्त खाना खानुपर्दछ । यदि रक्तस्रावको कारणले रक्तअल्पता भएको हो भने, शरीरमा रक्तस्रावको स्रोत पत्ता लगाई उपचार गर्नु पर्दछ । जसमा शल्यक्रिया गर्नुपर्ने पनि हुन सक्छ ।

भिटामिनको कमीबाट हुने रक्तअल्पता :- यसको उपचारमा फोलिक एसिड र भिटामिन बी-१२ ले युक्त आहार खानुपर्दछ । खानाबाट भिटामिन बी-१२ अब्जोर्पसन गर्न समस्या भएका मानिसहरूलाई भिटामिन बी-१२ इन्जेक्शनहरू दिनुपर्छ । प्रारम्भिक रुपमा, इन्जेक्शन हरेक अर्को दिन दिनुपर्छ । पछि गएर इन्जेक्शन महिनामा एक पटक मात्र दिए पुग्छ ।

अरु रोगहरूको कारणबाट हुने रक्तअल्पता :- यस प्रकारको रक्तअल्पताको उपचार रोग निम्त्याउने कारणमा केन्द्रित हुन्छ । यदि लक्षणहरू गम्भीर भएमा, उपचारमा रगत दिनु पर्ने हुन सक्छ, जसलाई ट्रान्सफ्युजन भनिन्छ । यसका साथै इराइथ्रोपोइटिन भनिने हर्मोनको इन्जेक्शनहरू पनि दिनु पर्ने हुन सक्छ ।

बोन म्यारोसंग सम्बन्धित रक्तअल्पता :- यसको उपचारमा रोगको गम्भीरताको आधारमा औषधि, केमोथेरापी र आवश्यकताका अनुसार बोन म्यारोको प्रत्यारोपण पनि गरिन्छ ।

एप्लास्टिक एनीमिया :- यसको उपचारमा रातो रक्त-कोशिकाहरूको स्तर बढाउन रगत ट्रान्सफ्युजन गरिन्छ । यदि बोन म्यारोले स्वस्थ रक्त-कोशिकाहरू बनाउन सक्दैन भने आवश्यकता अनुसार बोन म्यारोको प्रत्यारोपण पनि गरिन्छ ।

हेमोलाइटिक एनीमिया :- यो रक्तअल्पताको उपचार नभई व्यवस्थापन मात्र गर्न मिल्ने भएकोले व्यवस्थापनका लागि प्रयोग गरिरहेको औषधिहरूले रोगको गम्भीरता बढाई रहेको छ भने सो औषधिहरूको प्रयोग रोक्ने । साथै, यसमा संक्रमणहरूको भूमिका पनि महत्वपूणर् हुन्छ । त्यसैले कुनै पनि संक्रमण देखा परे त्यसको उपचार शुरुमा गर्नुपर्छ । यदि प्रतिरक्षा प्रणालीले रातो रक्त-कोशिकाहरूलाई आक्रमण गरिरहेको छ भने उपचारमा प्रतिरक्षा प्रणालीको गतिविधि कम गर्ने औषधिहरू पनि लिनु पर्ने हुन सक्छ ।

सिकल सेल एनीमिया :- यसको उपचारमा अक्सिजन, दुखाई कम गर्ने औषधिहरू र नसा मार्फत दिइने तरल पदार्थहरू दिइन्छ । साथै, ब्लड ट्रान्सफ्युजन, फोलिक एसिड र एन्टिबायोटिकहरू पनि प्रयोग गर्नु पर्ने हुन सक्छ । हाइड्रोअक्सीयुरिया भनिने क्यान्सरको उपचारका लागि प्रयोग गरिने औषधि पनि सिकल सेल एनीमियाको उपचार गर्न प्रयोग गरिन्छ ।

रोहिनी वैद्य (Pharmacist)