Blogs

Read the latest articles & insights about medical science and pharmaceutical technologies on development.

स्वस्थ जीवनप्रति भावनात्मक दृष्टिकोण

सन्जोग ढकाल

December 26, 2022

8:38 am


समय कसैका लागि रोकिदैन चाहे हामी घडी हेरौँ या पात्रो । यो त दिन-प्रतिदिन, मिनेट-प्रतिमिनेट, सेकेन्ड-प्रतिसेकेन्ड एकै गतिमा निरन्तर टिकटिक, टकटक गरिरहन्छ । समय अनमोल छ, यो हामीसँग भएको एउटा मात्र सिक्का हो र यसलाई कसरी खर्च गछौं, हामी आफैमा निर्धारित हुन्छ । हामीले यस धर्तीमा सीमित समय लिएर आएका छौँ। जन्म मितिदेखि हरेक जन्मोत्सव मनाइरहँदा हामी सबै एकै गतिमा आफ्नो समय सिमा नजिकै पुगिरहेका हुन्छौँ । ढल्किरहेको उमेरसँगै आफ्नो जीवन चक्रको रफ्तार ढिलो वा चाँडो बनाउने क्षमता हाम्रो जीवनशैलीमा धेरै भर पर्छ । उदाहरणको लागि एउटा ५० वर्षीय व्यक्ति जो निकोटिनमा (Nicotine) आफ्नो फोक्सो डुबाउँछ र रसबरी, लालमोहन विना उसको खाना पच्दैन ऊ वास्तवमा एउटा ६५ वर्षीयको जीवन बिताइरहेको हुन्छ, उसले आफ्नो शरीरको विनाश गरिरहेको हुन्छ । जबकी अर्को ५० वर्षीय व्यक्ति जो राम्रो आहारा लिन्छ, विषादी (Toxic) पदार्थबाट टाढा रहन्छ र मध्यम शारीरिक कसरत गरेर आफ्नो शरीरको ख्याल राखिरहेको हुन्छ ऊ एक ३५ वर्षीय जत्तिकै स्वस्थ हुन्छ । तसर्थ, जीवनशैलीमा ध्यान पुर्‍याउन निकै जरुरी हुन्छ ।

हामी कतिको स्वस्थ छौँ र कति लामो बाच्छौँ यसको ७०% भन्दा बढी नियन्त्रण हामी आफैमा हुन्छ । जब हाम्रो उमेर ५० वर्ष पुग्छ, हाम्रो अनुहारमा देखिने बूढोपन हाम्रै जीवनशैलीको ऐना बन्छ । अवश्यपनि, हामी हाम्रो बढ्दो उमेर रोक्न सक्दैनौ किनकि वातावरणीय प्रभावको अक्सिडेसन (Oxidation) प्रणालीद्वारा हाम्रो कोशिकाहरुको विनाश भइरहेको हुन्छ जसले गर्दा हामी निरन्तर बूढो भैरहेका हुन्छौं । अक्सिडेसन (Oxidation), जुन फलाममा खिया लागेजस्तो हो । यो हाम्रो शरीरभित्र विभिन्न अंगहरूले निभाएको आफ्नो कामको उपउत्पादन (By-product) हो । तर जब अत्याधिक अक्सिडेसन (Oxidation) हुन्छ त्यसले हामीलाई बढी उमेरको देखिने जोखिम निम्त्याउँछ । यही कारण हो स्वस्थ खाना जुन हाम्रो शरीरको लागि राम्रो मानिन्छ त्यसमा थुप्रै मात्रामा एन्टी अक्सिडेन्ट (Anti-oxidants) पाइन्छ । जसले अक्सिडेसन (Oxidation) प्रक्रियालाई कम गर्दछ ।

हामी के खान्छौं कति मात्रामा खान्छौं र कति पटक खान्छौं यसको आधारमा हामी के महसुस गर्छौं र कस्तो जीवन यापन गर्छौं भन्ने निर्धारित हुन्छ । खानाको साथसाथै शारीरिक व्यायामको पनि उत्तिकै महत्वपूणर् भूमिका हुन्छ । तसर्थ, मानसिक रूपमा सन्तुष्ट महसुस गर्न, शरीर तेजिलो – फुर्तिलो बनाउन, बढ्दो उमेरको सुइको गति कम गर्न, सही आहारा र नियमित व्यायाम अत्यन्त जरुरी र फाइदाजनक हुन्छ ।

हाम्रा पुर्वजहरू जीवित रहनको लागि खाने गर्दथे । उनीहरु भोजन गर्दथे किनकि उनीहरु भोकाएका हुन्थे या अन्य राज्यसँग भएको युद्धको जितको खुशी मनाउँदै हुन्थे तर हामी? हामी खान्छौं किनकि हामीलाई रिस उठेको हुन्छ, अल्छि लागेको हुन्छ, मानसिक तनाव भएको हुन्छ, मन उदास भएको हुन्छ या हामी सिनेमा हेरिरहेको हुन्छौँ, बेरोजगार हुन्छौं, साथीहरूसँगको जमघटमा हुन्छौं । कतिपय समयमा हामीले खाने खाना भोकको कारण नभई भावनात्मक (Emotional) प्रतिक्रियाले भएको हुन्छ । भावनात्मक खुवाई (Emotional eating) एक किसिमको लत (Addiction) जस्तै हो जसमा हामीलाई स्वस्थ खाना भन्दा बढी मैदायुक्त (Starchy), बेसी गुलियो, नुनिलो, तेलमा तारेको खानाप्रति आकर्षण हुन्छ । एक अध्ययन अनुसार विभिन्न मानसिक परिस्थितिले विशेष प्रकारको संकेत पठाउँछ । जस्तैः तनावग्रस्त अवस्थामा एड्रिनल ग्रन्थी (Adrenal Gland) सक्रिय हुनाले व्यक्तिलाई नुनिलो खाना खान मन लाग्छ । हाम्रो मन पर्ने भोजनले हाम्रोे मानसिक स्थितिको बारे जानकारी दिन सक्छ ।

जस्तै :-

  • रिस उठ्दा – कडा खाले खाना, मासु आदि
  • डिप्रेसनमा हुँदा – चिनीयुक्त खाना
  • डर, भय हुँदा – नरम, गुलियो खाना, आइसक्रिम आदि
  • तनावमा हुँदा – नुनिलो खाना
  • एक्लो महसुस गर्दा – पेट भरिने खाना जस्तैः पास्ता, बिस्कुट आदि
  • ईर्ष्या महसुस गर्दा – पाएको जस्तोसुकै र सबै खाना

दिमागमा हुने केमिकलहरू, जस्तै- सेरोटोनिन (Serotonin), डोपामिन (Dopamine), इन्डोर्फिन (Endorphin) आदिको सन्तुलनले हामीलाई मानसिक रूपमा स्वस्थ बनाइरहेको हुन्छ तर यदि यस्ता केमिकलमा घट-बढ भएमा विभिन्न मानसिक समस्याहरू निम्तिन्छ र तिनै केमिकलको असन्तुलनले हाम्रो भोकमा पनि नकारात्मक असर गरिरहेको हुन्छ । उदाहरणको लागि :- जब हामी गुलियो खानाहरू खान्छौं तब रगतमा इन्सुलिनको (Insulin) मात्रा वृद्धि हुन्छ र यो इन्सुलिनले (Insulin) हाम्रो दिमागमा सेरोटोनिन (Serotonin) नामको केमिकल उत्पादन गर्न मद्दत गर्छ । सेरोटोनिनले (Serotonin) हामीलाई खुसी रहन, तनाव घटाउन, दुःख मेटाउन, अल्छिपन हटाउन, रिस र निराशापन हटाउन मद्दत गर्छ । तसर्थ, जब हामी तनावमा हुन्छौं हामी गुलियो खान रुचाउछौं । जब दिमागमा पाइने केमिकलहरुको मात्रा सन्तुलित हुन्छ, हाम्रो तौल पनि कम हुन्छ र जब यी केमिकलको मात्रा घटबढ हुन्छ हामीप्रति अस्वस्थ खानाको आकर्षण बढ्छ र अन्ततः हाम्रो शरीरको तौल पनि बढ्दै जान्छ ।

रिस, तनाव, डर, भय, एक्लोपन, ईर्ष्याको क्षणिक समाधानको लागि हामीमा अस्वस्थ खानपिनको लत लाग्छ । यो एक क्षणिक आनन्दको लागि लागुपदार्थ दुर्व्यशनिले लागुऔषध दुरुपयोग गरे जस्तै हो । यसले दिगो समाधान हुँदैन ।

हामी सबैले महसुस गरेको हुनुपर्दछ चुनौतिपूर्ण दैनिकी, पारिवारिक, सामाजिक, आर्थिक अस्तव्यस्तताले हामी शारीरिक र मानसिक रूपमा थकित भएका हुन्छौं । यद्दपि सोही दिन बेलुकी शारीरिक व्यायामको लागि समय निकालेर इभिनिङ्ग वाक (Evening walk), जिम (Gym), जुम्बा (Zumba), साइकलिङ्ग (Cycling) गरेको दिन एक किसिमको आनन्द, ताजापन, स्फूर्ति र गहिरो निन्द्राको आनन्द महसुस गर्दछौ । स्पष्ट रूपमा व्यायाम र मस्तिष्कको अन्तर सम्बन्ध रहेको हुन्छ नत्र भने कसरत पछि मुड (Mood), मानसिक स्वास्थ्य, यहाँसम्म कि हाम्रो स्मरण शक्ति (Memory) मा पनि उल्लेखनिय सुधार हुने थिएन । दिमागमा मानसिक सन्तुष्टी गराउने केमिकलको सन्तुलन बनाउन नियमित व्यायामको आवश्यकता पर्दछ । नियमित व्यायामले हामीलाई उक्त केमिकलको गडबडीबाट सिर्जना हुने अस्वस्थ खानाप्रतिको आकर्षणलाई नियन्त्रणमा राख्न सकिन्छ ।

विश्वमा दैनिक करिव १ लाख ५० हजार मानिसको मृत्यु हुने तथ्यांकले जनाएको छ र यो मध्ये २ तिहाई मृत्यु जीवनशैली रोगहरु (Lifestyle diseases) जुन समयपूर्वको बुढ्यौली (Premature Ageing) बाट सिर्जना भएको देखिएको छ । सही खानपिन र शारीरिक व्यायामले मुटु, रक्तनली, मधुमेहका समस्याहरू जस्तै- मस्तिष्कघात, हृदयघात तथा मृगौला, हातखुट्टा, आँखा, नशा सम्बन्धी समस्या कम गर्ने कुरा हामी माझ अवगत नै छ यद्दपि जीवनशैली रोग र समयपूर्वको बुढ्यौलीको सम्भावना कम गर्न मानसिक र भावनात्मक दृष्टिकोणले पनि उत्तिकै महत्व राख्दछ ।

By सन्जोग ढकाल (Pharmacist)