Blogs

Read the latest articles & insights about medical science and pharmaceutical technologies on development.

होली पर्व (रसायनयुक्त रंगको नकारात्मक असर)

रीया सालिके

December 28, 2022

6:05 am


जाडोको अन्त्यसँगै हर्षोल्लासका साथ मनाइने चाड हो, “होली पर्व“ वा “फागुपूर्णिमा“ । तसर्थः यो लेखको मार्फत हामीले सर्वसाधारणलाई होली जस्तो सांस्कृतिक चाडपर्वले मानिसको स्वास्थ्यमा पार्ने नकारात्मक असरहरुको विवरण प्रस्तुत गर्ने जमर्को गरेका छौँ ।

कतिपय सांस्कृतिक र धार्मिक अभ्यास स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् तर त्यसमा थपिने विकृतीले हानि पनि पुर्‍याउँछन् । त्यस्तै एउटा अभ्यास हो “होली पर्व“ वा “फागुपूर्णिमा“ । हिन्दु धर्मावलम्बीको लागि महत्वपूर्ण मानिने यो चाडमा पानी र रङ्गको माध्यमबाट आत्मियता र उमंग व्यक्त गरिन्छ । हिन्दु मात्र नभएर पछिल्लो समयमा नेपालभरि सबै धर्मका मानिसहरुले यो पर्व मनाउन थालेका छन् । विभिन्न रङ्ग लगाएर, पानी छ्यापेर, नाचगान गरेर उल्लासपूर्वक मनाइने यो चाडमा प्रयोग हुने रङ्गले भने स्वास्थ्यमा नकारात्मक असर पनि निम्त्याउने गर्छ । रसायनिक पदार्थको मिसावटबाट तयार पारिएका रङ्गले स्वास्थ्यमा प्रतिकूल असर पार्छ र यसको जानकारी हुँदाहुँदै पनि युवाहरु रमझमका साथ यो पर्व मनाउने गर्छन् । रसायनयुक्त रङ्गको प्रयोगले छाला चिलाउने, एलर्जीको दाग लामो समयसम्म नजाने जस्ता समस्याहरु निम्त्याउँछ जसको विस्तृत जानकारी तल उल्लेख गरिएको छ ।

रङ्ग रसायन स्वास्थ्य प्रभाव
कालो लिड अक्साइड (Lead Oxide) मृगौलाले काम नगर्ने (Kidney Failure)
हरियो कप्पर सल्फेट (Copper Sulphate) अन्धोपन (Blindness)
चाँदी एल्युमिनियम ब्रोमाइड (Aluminium Bromide) क्यान्सर (Cancer)
निलो प्रुसियन ब्लु (Prussian Blue) छाला अत्यन्त चिलाउने (Contact Dermatitis)
रातो मर्करी सल्फेट (Mercury Sulphate) छालाको क्यान्सर (Skin Cancer)

 

छालाबाहेक आँखा, कान, कपाल र अन्य अङ्गहरुमा पनि रसायनिक रङ्गले नकारात्मक असर पार्न सक्छन् । रमाइलो गर्ने क्रममा रङ्ग जथाभावी खेल्दा अत्याधिक चिलाउने समस्या पनि प्रशस्तै भेटिन्छन् । लोला प्रहारले आँखा, कानलाई समस्या पार्न सक्छ । अझ फोहोर पानीले लोला हानियो भने त झन् अन्य थुप्रै समस्या निम्तन सक्छ । होली खेल्दा सबैभन्दा बढी आँखामा रङ्ग जाने पाइन्छ । त्यसैले आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ। रङ्गले आँखाको कोर्निया वा आँखाको सेतो भाग कन्जंटिभालाई नोक्शान पुर्‍याउँछ र रातोपना तथा घाउ पनि हुन सक्छ । यी सबै लक्षणका साथै आँखामा एलर्जी वा अस्थायी अन्धोपन पनि निम्त्याउन सक्छ । होलीको रङ्गले निम्त्याउन सक्ने छाला समस्याः

१) इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस (Irritant Contact Dermatitis)

रङ्गमा हुने विभिन्न रसायनसँग छाला सम्पर्कमा आए लगत्तै प्रतिरक्षा प्रणालीले त्यसको विरुद्ध एन्टीबडी बनाउने गर्छ जसको प्रतिक्रियामा छालामा राता धब्बाहरु देखा पर्न थाल्छन् । सामान्यतयः यो समस्या रङ्गको सम्पर्कमा आउने बित्तिकै देखा पर्ने भए तापनि लामो समयसम्म हानि नपुर्‍याउने हुँदा यसलाई गम्भीर (Acute) छाला समस्याको रुपमा लिइन्छ ।

२) एलर्जिक कन्ट्याक्ट डर्माटाइटिस (Allergic Contact Dermatitis)

रङ्गमा हुने विभिन्न रसायनसँग छालाको सम्पर्कले यो समस्या पनि निम्त्याउन सक्छ । इरिटेन्ट डर्माटाइटिसको तुलनामा यो समस्यामा हानिकारक रसायनको सम्पर्कमा आएको केही समयपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन् । यसमा हाम्रो प्रतिरक्षा प्रणालीले देखाउने प्रतिक्रिया दुई चरणमा हुन्छ ।

इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस एलर्जिक कन्ट्याक्ट डर्माटाइटिस
– एलर्जेनको सम्पर्कमा आए लगत्तै लक्षण देखा पर्छ । – सेन्सिटाइजेसनको चरण पश्चात एलर्जिक प्रतिक्रिया देखा पर्छ ।
– सुरुवातमै गम्भीर लक्षणहरु देखा पर्छ जुन केही समयमै निको हुन्छ । – समयसँगै गम्भीरता बढ्ने हुनाले यो समस्याको निवारणलाई अलि बढी समय लाग्छ ।
– यसमा छाला सुन्निने र रातो हुने गर्छ । – यसमा छाला सुन्निने र रातो हुनुका साथै पानी फोका पनि देखा पर्छ।
– यसमा छाला पोलेको वा घोचेको जस्तो हुने गर्छ । – यसमा भने सुख्खापनले गर्दा छाला अत्याधिक चिलाउने हुन्छ ।

 

क) सेन्सिटाइजेसन (Sensitization)

पहिले एलर्जेन (allergen) को सम्पर्कमा हाम्रो प्रतिरक्षा प्रणालीले यान्टिजेन स्पेसिफिक लिम्फोसाइट्स (Antigen Specific Lymphocytes) लाई सक्रिय बनाएर T-cells उत्पादन गर्छ जुन रक्तसञ्चारको माध्यमबाट छालामा पुग्छ ।

ख) एलिसिटेसन (Elicitation)

माथि उल्लेखित पहिलो चरण पश्चात् एलर्जेनको पुनः सम्पर्कले T-cells हरु अझ बढी उत्तेजित हुन्छन् जसले गर्दा शरीरमा तीव्र रुपमा एलर्जी विकसित हुने गर्छ ।

रोकथामका उपायहरुः

यस्ता समस्याबाट बच्नका लागि निम्नलिखित निवारण अपनाउन सकिन्छः

  • होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाउने ।
  • कपाललाई जोगाउनको लागि टोपी लगाउने ।
  • छाला नरम बनाउन र बाहिरी सतह जोगाउन मोइस्चराइजर (Moisturizer) लगाउने ।
  • घामबाट बच्नका निम्ति निरन्तर सनस्क्रिन लगाउने र चस्मा लगाउने  ।
  • कपालमा नरिवलको तेलको प्रयोग गर्ने ।
  • रङ्ग लागिसकेपछि हटाउन जतिसक्दो तुरुन्तै सफा गर्ने र मनतातो पानीले बिस्तारै पखाल्ने ।
  • आँखा, कानभित्र रङ्ग पसेमा वा होलीको रङ्गले कुनै नराम्रो असर गरेको खण्डमा चिकित्सकको सल्लाह अनुसार उपचार गर्न अत्यन्त जरुरी छ।

 

By रीया सालिके (Pharmacist)