Blogs

Read the latest articles & insights about medical science and pharmaceutical technologies on development.

रेटिनोपेथी अफ प्रिम्याच्युरिटी (आर.ओ.पी.)

डा. संयम बजिमाया

December 29, 2023

11:23 am


आर.ओ.पी. भनेको के हो ?

९ महिना नपुगी जन्मेका शिशुहरुमा विभिन्न किसिमको स्वास्थ्य समस्याहरू देखिन सक्छन् । तसर्थ, समय अगावै जन्मेका शिशुहरूलाई राम्रो स्याहार अति आवश्यक पर्दछ । विभिन्न स्वास्थ्य समस्याहरूमध्ये रेटिनोपेथी अफ प्रिम्याच्युरिटी पनि एक आँखामा हुने समस्या हो जुन कम तौल र समय अगावै जन्मेका शिशुहरूमा देखा पर्दछ । यो रोग विश्वभर बच्चाहरुमा अन्धोपना हुने मुख्य कारण हो ।

समय नपुगी जन्मेका बच्चाहरूको आँखाको पर्दामा रक्तनलीको विकास पूर्णरूपमा भइसकेको हुँदैन । जन्मिसकेपछि पनि यी रक्तनलीहरु असमान्य रूपमा बढ्न थाल्छन् । यसले गर्दा पर्दामा क्षति पुर्‍याउँछ, जुन निको नहुन सक्छ, जसले गर्दा शिशु अन्धो हुने गर्दछ ।

आर.ओ.पी. के कारणले हुन्छ ?
  • कम तौल भएका शिशुहरू (१७०० ग्रामभन्दा कम) वा ३१ हप्ता भन्दा अगावै जन्मेका शिशुहरुमा यो समस्या बढी हुने सम्भावना हुन्छ ।
  • जन्मिने बित्तिकै धेरै सिकिस्त भएर लामो समयसम्म आइ.सि.यु. मा राखिएका बच्चाहरु र धेरै समयको लागि अक्सिजन दिएका बच्चाहरुमा बढी मात्रामा हुने पाइएको छ ।

यो बाहेक रक्तअल्पता तथा धेरै पटक रगत दिनु परेको अवस्था, शरीरमा किटाणुको संक्रमण (Neo-natal Septicemia) भिटामिन-ई को कमी र श्वासप्रश्वासको समस्या (Respiratory Distress Syndrome) भएको शिशुहरुमा पनि बढी मात्रामा हुने सम्भावना हुन्छ ।

आर.ओ.पी.का प्रकारहरु के-के हुन् ?

समान्यतया आर.ओ.पी. सामान्य र गम्भीर गरी दुई प्रकारको हुने गर्दछ, जुन डाक्टरद्वारा आँखा जाँच गरी पत्ता लगाउन सकिन्छ । यद्यपि गम्भीरताको आधारमा आर.ओ.पी. लाई पाँच चरणमा विभाजन गर्न सकिन्छ ।

  • चरण १ र २ – सामान्यतया, यी चरणहरूमा बच्चाहरू उपचार बिना निको हुन्छन् । तर डाक्टरहरूले बच्चाहरूलाई आँखा पूणर्रूपले ठीक नभएसम्म नजिकको निगरानी राख्छन् ।
  • चरण ३ – यसमा पनि केही प्रतिशत बच्चाहरू उपचार बिना निको हुन्छन् र स्वस्थ दृष्टिमा जान्छन् । तर केहीमा असामान्य रक्तनलीहरूले रेटिनालाई क्षति पुर्‍याउँछ । यस प्रकारको आर.ओ.पी. लाई लेजर थेरापी वा इन्जेक्शनको माध्यमबाट उपचार गरिन्छ ।
  • चरण ४ – यस चरणमा आंशिक रूपमा रेटिना अलग हुने हुँदा शल्यक्रिया आवश्यक पर्दछ ।
  • चरण ५ – यसमा रेटिना पूर्णरूपमा अलग हुन्छ । उपचार गर्दा पनि, बच्चाहरूले दृष्टि गुमाउन वा अन्धो हुन सक्छन् । चरण ४ र ५ दुवै नै धेरै गम्भीर अवस्था हुन् । यी चरणहरूमा बच्चाहरूमा अक्सर आँखाको शल्यक्रिया गरिन्छ तर उपचार गर्दा पनि, शिशुहरूको दृष्टि चाँहि गुम्न सक्छ । त्यसैले डाक्टरहरूले सामान्यतया चरण ३ मा उपचार सुरु गर्ने गर्छन् ।

माथि उल्लेखित कुनै पनि चरणमा भएका बच्चाहरूको आँखा चाँडै खराब हुन सक्छन् र उपचारको आवश्यकता पर्दछ । तसर्थ, प्रारम्भिक रूपमा आर.ओ.पी. पत्ता लगाउनु र उपचार गर्नु नै गम्भीर समस्याहरू निम्त्याउने सम्भावनाहरूलाई कम गर्ने उत्तम तरिका हो ।

आर.ओ.पी. को जाँच कहिले गर्ने ?
  • पहिलो जाँच शिशु जन्मेको चार हप्तामा वा ३० दिन भित्र गराउने ।
  • आँखा पूर्णरूपले विकास नहुन्जेलसम्म नियमित जाँच गराउने ।
  • पहिलो जाँचबाट आएको परिणामको आधारमा १-२ हप्ताको अन्तरालमा नियमित रुपमा पुन जाँच गर्ने ।
  • शिशु बिरामी भएको अवस्था पनि डाक्टरसँग परामर्श लिने ।
  • नियमित जाँच नगराएको खण्डमा आँखालाई स्थायी रुपमा क्षति पुग्न पनि सक्दछ ।
आर.ओ.पी. को जाँच कसरी गर्ने ?

आर.ओ.पी. को जाँच विशेष किसिमको उपकरण तथा लेन्सबाट हेरेर वा विशेष किसिमको क्यामेराको प्रयोग गरी पर्दाको फोटो खिचेर गरिन्छ । जाँचको निम्ति आँखाको नानी फुलाउनु पर्ने हुन्छ । सो फोटोलाई अध्ययन गरेर डाक्टरले आर.ओ.पी. भए नभएको पत्ता लगाउँछन् । यो जाँच गर्न लगभग १० मिनेटको समय लाग्दछ र जाँच गर्ने क्रममा शिशुलाई केही असजिलो पनि हुनसक्छ । तसर्थ, शिशुलाई आँखामा औषधि लगाइन्छ, जसले गर्दा दुखाई पनि कम हुन्छ । आँखाको रक्तनलीहरुको पूर्णरूपमा विकास नहुन्जेलसम्म यो जाँच नियमित रुपमा गराउनु पर्दछ ।

उपचार :-

प्रायः जसो साधारण प्रकारको आर.ओ.पी. आफै सन्चो हुन्छ तर गम्भीर प्रकारको आर.ओ.पी. भएको खण्डमा लेजर थेरापी मार्फत उपचार गर्नुपर्ने हुन्छ । लेजर भनेको एक प्रकारको प्रकाशको किरण हो जसलाई असामान्य रूपमा बढेका रक्तनलीहरुलाई बढ्नबाट रोक्न प्रयोग गरिन्छ । यदि अवस्था निकै गम्भीर छ भने शल्यक्रिया मार्फत पनि उपचार गर्ने र दृष्टि गुमाउन सक्ने आर.ओ.पी. (Sight Threatening ROP) को लागि आँखामा इन्जेक्शन (Intravitreal Injection) लगाई उपचार गर्नुपर्ने हुनसक्छ ।

अन्त्यमा, समय नपुगी जन्मेका नवजात शिशुहरूलाई आर.ओ.पी. लगायत अरु समस्याहरू जस्तै : नजिक वा टाढाको हेर्न गाह्रो हुने, आँखा डेडो हुने, जलबिन्दु हुने आदि पनि देखिन सक्छन् । तसर्थ, शिशुको राम्रोसँग स्याहार गरेमा दृष्टिसंगै जीवन पनि जोगाउन सकिन्छ । जसका लागि आँखाको डाक्टरसँग आँखाको समयमै जाँच गराउन अति आवश्यक हुन्छ ।

 

डा. संयम बजिमाया
बरिष्ठ नेत्र सर्जन
एम.बी.बी.एस./एम.डी./एफ.भी.आर.एस.
अध्यक्ष, भिट्रीयो रेटिना सोसाइटी, नेपाल