दम रोग
मनिका पराजुली
7:03 am
दम फोक्सोको दीर्घकालिन रोग हो। यसले सास फेर्न गाह्रो बनाउँछ र दैनिक शारीरिक क्रियाकलापहरूलाई पनि चुनौतिपूर्ण बनाउन सक्छ। अमेरिकामा भएको एक सर्वेक्षणअनुसार अमेरिकामा मात्र २ करोड ५० लाख जनसंख्या दमको रोगी छन् जसमध्ये ५० लाख दम रोगी बालबालिका पाइएको छ।
दमको कारणहरू के के हुन् ?
दम विशेषगरी बच्चाहरूमा धेरै भेटिन्छ। उमेरसँग यो अवस्था सुध्रिन पनि सक्छ तर धेरैमा युवा अवस्थासम्मै पनि दम रहिरहेको पाइन्छ। दम विभिन्न कारणहरूले गर्दा हुन्छ, जुन यसप्रकारका छन्ः
- आनुवांशिक (Genetics) – यदि आमाबुवा वा भाइबहिनीलाई दम छ भने, परिवारका अरु सदस्यलाई पनि दम हुने सम्भावना बढी हुन्छ।
- भाइरल संक्रमणको इतिहास – बाल्यकालमा गम्भीर भाइरल संक्रमणको इतिहास जस्तै रेस्पिरेटरी सिन्सिटियल भाइरस इन्फेक्सन (Respiratory Syncytial Virus Infection) भएकाहरूलाई युवा अवस्थामा दमको विकास हुने सम्भावना बढी हुन्छ।
- स्वच्छता परिकल्पना (Hygienic Hypothesis) – यस सिद्धान्त अनुसार बच्चाहरू आफ्नो प्रारम्भिक महिना वा वर्षहरूमा पर्याप्त ब्याक्टेरियाको सम्पर्कमा नआउँदा उनीहरूको प्रतिरक्षा प्रणाली दम वा अन्य एलर्जीसँग लड्न बलियो हुँदैन र उनीहरूलाई दम जस्तो अवस्थाले छिटो आक्रमण गर्न सक्छ।
यी बाहेक अरु कारणहरूले पनि दमलाई ट्रिगर गर्न सक्छ। कोही व्यक्तिहरू अरुको तुलनामा निश्चित ट्रिगरहरुप्रति बढी संवेदनशील हुन सक्छन्। दमको केही सामान्य ट्रिगरहरु यस प्रकार छन्।
- चिसो वा फ्लु जस्तै संक्रमण
- वायु प्रदुषण
- एलर्जीहरू जस्तै धुलोको कण, धुवाँ, खार, जनावरको फर वा प्वाँखहरू
दमका लक्षणहरू के के हुन् ?
दम भएका व्यक्तिहरूमा सामान्यतयः स्पष्ट लक्षणहरू देखिन्छन्। यी लक्षणहरू धेरै श्वासप्रश्वास संक्रमणहरूसँग मिल्दो जुल्दो हुन्छ, जस्तै :-
- छाती दुख्नु
- खोकी लाग्नु (विशेषगरि रातिको समयमा)
- सास फेर्न गाह्रो हुनु
- छिटो थकान महसुस गर्नु
दमको उपचार कसरी गरिन्छ ?
दमको उपचारमा मद्दत गर्न, राष्ट्रिय दम शिक्षा र रोकथाम कार्यक्रम (National Asthma Education & Prevention Program) ले उपचार गर्नु अघि यसको गम्भीरताको आधारमा दमको अवस्थालाई वर्गीकरण गरेको छ, जुन यसप्रकार छन्।
- इन्टरमिटेन्ट (Intermittent) – मानिसहरूलाई धेरै जसो यस प्रकारको दम हुन्छ, जसले दैनिक गतिविधिहरूमा हस्तक्षेप गर्दैन। लक्षण पनि हल्का हुन्छन् र प्रायः प्रति हप्ता २ दिन वा महिनामा २ रात मात्र देखा पर्दछ।
- माइल्ड परसिस्टेन्ट (Mild Persistent) – यस प्रकारको दममा लक्षणहरू हप्तामा २ पटक भन्दा बढी देखा पर्दछ र लक्षण प्रति महिना ४ रातसम्म देखा पर्छ।
- मोडरेट परसिस्टेन्ट (Moderate Persistent) – यस प्रकारको दममा लक्षणहरू दैनिक र कम्तिमा १ रात हरेक हप्ता देखा पर्दछ।
- सिवियर परसिस्टेन्ट (Severe Persistent) – यस प्रकारको दममा लक्षणहरू हरेक दिन र रातहरुमा धेरै पटक देखा पर्दछ। यस प्रकारको दमले दैनिक क्रियाकलापहरुलाई चुनौतिपूणर् बनाउने गर्दछ।
दमको उपचारले लक्षणहरू नियन्त्रण गर्न मद्दत पुर्याउनुको साथै सक्रिय जीवन बिताउन मद्दत पुर्याउँछ। दमको उपचार यसप्रकार छन् :-
- द्रुत राहत औषधिहरु (Immediate Relievers) – ब्रोन्कोडायलेटर (Bronchodilators), First Aid Asthma Treatment, इन्हेलर (Inhaler), नेबुलाइजर (Nebulizer)
- दीर्घकालिन नियन्त्रण औषधिहरु (Long term medicine) – एन्टी इन्फ्लामेटरी (Anti-Inflammatory), एन्टी कोलिनर्जिक (Anticholinergics), लामो समय काम गर्ने ब्रोन्कोडायलेटर (Long acting bronchodilators)
द्रुत राहत र दीर्घकालिन नियन्त्रण औषधिहरुको संयोजनले दमका लक्षणहरुको नियन्त्रणलाई अनुकुल गर्दै दमको जोखिमलाई कम गर्न सकिन्छ। दमको उपचार विधि सुरु गर्नु अगाडि यी ३ उल्लेखित कुराहरुमा ध्यान दिन जरूरी हुन्छ।
- दमको प्रकार
- उमेर
- कारक तत्व
यी ३ उल्लेखित कुराहरुलाई मध्य नजर गर्दै दमको उपचार विधि सुरु गर्न जरूरी हुन्छ।
दमको रोकथाम र व्यवस्थापन कसरी गर्न सकिन्छ ?
- ट्रिगरहरुबाट टाढा रहने – विगतमा सास फेर्न समस्या भएको गन्ध वा उत्पादनहरुबाट टाढा रहने।
- एलर्जीबाट टाढा रहने – यदि तपाईले धुलो वा धुवाँको कण जस्ता एलर्जीहरूको पहिचान गर्नुभएको छ, जसले दमलाई ट्रिगर गर्छ भने सम्भव भएसम्म तिनीहरुबाट टाढा रहने।
- एलर्जी शटहरु (Shot) लिने – एलर्जेन इम्युनोथेरापी (Allergen Immunotherapy) एक प्रकारको उपचार हो जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ।
- निवारक औषधि लिने – तपाईको डाक्टरले तपाईलाई दैनिक आधारमा दिनुभएको निवारक औषधि डाक्टरको सल्लाह बमोजिम लिने।
तपाईले औषधिहरु प्रयोग गर्नु अगाडि आफैलाई स्वस्थ बनाउन र दमको जोखिम कम गर्न प्रत्येक दिन यी कार्यहरु गर्न सकिन्छ।
- स्वस्थ खानपिन – एक स्वस्थ, सन्तुलित खानाले समग्रमा स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।
- उचित वजन कायम राख्ने – दम भएका व्यक्तिहरुको बढी तौल हुनु र मोटोपन हुनु खराब मानिन्छ। उचित तौल मुटु, जोर्नी र फोक्सोको लागि पनि स्वस्थकर हुन्छ।
- यदि तपाई धुम्रपान गर्नुहुन्छ भने धुम्रपान छोड्नुहोस् – चुरोटको धुवाँ जस्ता उत्तेजक तत्वहरुले दमलाई ट्रिगर गर्न र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (Chronic Obstructive Pulmonary Disease) को लागि जोखिम बढाउन सक्छ।
- नियमित व्यायाम गर्ने – नियमित व्यायामले सास फेर्न समस्याको जोखिम कम गर्न मद्दत गर्छ।
- तनाव व्यवस्थापन – तनावले दमको जोखिम तथा गम्भीरतालाई बढाउँछ, त्यसैले तनाव व्यवस्थापन गर्न उचित हुन्छ।
यी माथि उल्लेखित कार्यहरुले दमको जोखिम कम गर्नुको साथै लक्षणहरू नियन्त्रण गर्न पनि मद्दत गर्दछ।
By मनिका पराजुली (Pharmacist)