Blogs

Read the latest articles & insights about medical science and pharmaceutical technologies on development.

ब्रीच डेलिभरी (Breech Delivery) एक अनुभव

ऋषिराम घिमिरे

October 4, 2024

2:25 pm


ब्रीच डेलिभरी, यो शब्द सुन्ने बितिकै चिकित्सक भाषामा अलिकति असहज सबैलाई हुन्छ । कुरा २०७९ साल पुस २७ गते को हो, बिहान ६ बजे तिर चम्पादेवी ३ कालिकाबाट बर्ष २७ को कोपिला बोगटी नाम गरेकी गर्भवती महिलालाई लिएर सुत्केरी गराउनको निम्ति स्वास्थ्य चौकी पलापु आउनु भयो, उहाँ आए पछि स्वास्थ्य चौकी पलापुमा कार्यरत अ.न.मि सबिता पराजुलीले शारीरिक जाँच गरेपछि मलाई खबर गर्नुभयो र म पनि पुगे । सर पि.भि. (PV) जाँच गर्दा, ७ cm खुलेको छ । भाइटल (Vital) सबै ठीक छ, तर ब्रीच प्रेजेन्टेसन जस्तो लाग्यो, पुष्टि गरिदिनु पर्‍यो, भन्नुभयो । त्यसपछि मैले पनि अब्डोमिनल पल्पेट (Abdominal Palpate) गरेँ, शिशुको टाउको त माथि रहेछ । पुष्टि गर्नको लागि (RUSG) अल्ट्रा सोनोग्राफीको सहायता लिएँ, त्यस्तै पाएँ । त्यति बेला मलाई याद आयो, अनि सोधेँ तपाईंलाई पहिला पनि बच्चा उल्टो छ भन्ने थाहा थियो हो ? उहाँले भन्नुभयो-अँ लगभग एक महिना अगाडि हजुरले नै हेरेर भन्नु भएको थियो । अनि गर्भ जाँचको कार्ड खै त भनेर सोध्दा घरमै छुटेको छ भन्नु भयो ।

अपेक्षित डेलिभरी मिति (EDD) माघ २४ अर्थात् अझै एक महिना बाँकी थियो, त्यस पश्चात गर्भवतीको श्रीमान्लाई यथार्थ वस्तुस्थितिका बारेमा पूणर्रुपमा जानकारी गराएँ, समय हुँदा नै सुविधा सम्पन्न अस्पतालमा लानको लागि सल्लाह दिँदै गर्दा सर यहाँ नै गर्न सकिन्न र ? भनेर प्रति प्रश्न गर्दा अलि अप्ठ्यारो लाग्यो, सक्दिन भनौँ कसरी भनौँ ? सक्छु भनौँ भने अवस्था के हुने हो, थाहा हुन्न । हैन गर्नै सकिन्न भन्ने त हैन तर पछि केही अप्ठ्यारो आउन सक्छ भनेर हो भने पछि उहाँ यहीँ सुत्केरी गराउन राजी हुनु भयो, अनि हामी तयारी तिर लाग्यौँ । भाइटल मोनिटरिङ्ग (Vital Monitoring) गर्दै अ.न.मि सबिता र मनिका दुवैजना पार्टोग्राफ (Partograph) भर्न लाग्नु भयो । मलाई चाहिँ एक पटक डाक्टरसँग सल्लाह गर्न मन लाग्यो र ओखलढुंगा सामुदायिक अस्पतालका डा. विजय दाहाललाई फोन मार्फत सबै कुराहरु जानकारी गराएँ । त्यति बेलासम्म महिला स्वास्थ्यकर्मीहरुले पि.भि. (PV) जाँच गर्दा ओ.एस. (OS) पुरै खुलेको जानकारी गराइसक्नु भएको थियो ।

त्यसपछि डाक्टरले केही हुन्न गराउन सकिन्छ, तर केही सावधानी भने अपनाउनु पर्छ भन्नु भयो । शिशुलाई सामान्य रुपमा जन्मन दिने तर नछुने, फेरि टाउको अड्किन सक्छ भन्नु भयो, हस् भनेर फोन राखेँ । अनि साथीहरुलाई पनि सोही बारेमा बताएँ, सबैजना तयारी अवस्थामा थियौँ तर व्यथा लाग्न छोड्यो । लगभग एक घण्टाको पर्खाइमा पनि व्यथा नलागेपछि हल्का डर लाग्न थाल्यो, अनि फेरि डाक्टरलाई फोन गरेँ । त्यति बेलासम्म आर.एल इन्फ्युजन (RL Infusion) दिन सुरु गरि सकिएको थियो, अनि डाक्टरले अक्सीटोसिन २.५ युनिटको (Oxytocin 2.5 Unit) ड्रिपमै हालेर एक घण्टामा ५० मि.लि. को हिसाबले दिनु, बीचमा केही अप्ठ्यारो परेमा भनी हाल्नु भनेर भन्नुभयो । सोही अनुरुप गरियो । एक छिनमा व्यथा लाग्न थाल्यो । डेलिभरी कक्षमा लगियो, बिस्तारै एउटा खुट्टाबाट बच्चाको जन्म सुरु भयो, तलबाट सहायता गर्दै गर्दा अलि गाह्रो भएको जस्तो लाग्यो । शिशुको रङ्ग हल्का नीलो जस्तो हुन लाग्यो र अलि बढी नै नीलो हुँदै गएकोले आमालाई सान्त्वना दिँदै अर्को खुट्टालाई पनि सहायता गर्दै डेलिभरी गराइयो, दुवै खुट्टा बाहिर आएपछि मात्र पूरा सहायता गरियो । निकै समयपछि बच्चा पूरै जन्मियो । त्यसपछि तेस्रो स्तरलाई व्यवस्थापन (3rd Stage Manage) गर्दै शिशुलाई स्तनपान गराउन आमालाई दिँदै सबैलाई धन्यबाद पनि दियौँ । आमा र बच्चा दुवैको सामान्य स्वास्थ्य स्थितिको कामना पनि गरेँ । आजको दिन वास्तवमा मेरो जीवनको अविस्मरणीय दिन बन्यो ।

यति भन्दै डा. विजय दाहालको ठूलो सहयोगका लागि धेरै धेरै धन्यवाद भन्दै यस स्वास्थ्य संस्थामा कार्यरत हाम्रो स्वास्थ्यकर्मीहरुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा, ब्रीच डेलिभरी आफैमा आधुनिक सुविधाहरुले सुसज्जित स्वास्थ्य संस्था र दक्ष चिकित्सकका लागि पनि ठूलो चुनौति हो । तसर्थ, नेपाल जस्तो भौगोलिक विविधतापूणर् देश जहाँ सर्वसाधारणले सजिलै उच्चस्तरीय स्वास्थ्य सेवा पाउँदैन र चिकित्सकको पनि कमी हुन्छ त्यस्ता विकट ग्रामीण क्षेत्रमा रहेर सेवा दिई रहनु भएको स्वास्थ्यकर्मीहरुलाई नियमित प्रशिक्षण, सीप वृद्धि र यस्ता विषयवस्तुसँग साक्षात्कार गरायौँ भने स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्थ्यो । साथै, वरिष्ठ दक्ष चिकित्सकका लागि पनि चुनौतीले भरिएको ब्रीच डेलिभरी जस्तो कठीन कार्य वा अन्य सेवा दिँदा दक्ष चिकित्सक उपलब्ध नभएको खण्डमा अहिलेको प्रविधि टेलिकन्सल्टेशनको मद्दतबाट वरिष्ठ डाक्टरको सल्लाह लिन निकै जरुरी हुन्छ ।

 

ऋषिराम घिमिरे
स्वास्थ्यकर्मी
कालापुर स्वास्थ्यचौकी, ओखलढुङ्गा