डायवेटिक रेटिनोप्याथी

१. डायवेटिक रेटिनोप्याथी भनेको के हो ?

डायवेटिक रेटिनोप्याथी भनेको आँखामा हुने समस्या हो जुन प्राय: मधुमेह हुने व्यक्तिहरूमा हुने गर्दछ । यस रोगमा आँखाको रेटिनामा हुने रक्तनलीहरु प्रभावित हुने गर्दछन् र यसले मानिसहरूलाई दृष्टिविहीन तथा अन्धो पनि गराउन सक्दछ ।

२. डायवेटिक रेटिनोप्याथी कति प्रकारको हुन्छ ?

डायवेटिक रेटिनोप्याथी गम्भीरताको आधारमा दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ जुन निम्न अनुसार छन्ः-

Non-Proliferative Diabetic Retinopathy मा विशेषगरी रेटिना भित्रको रक्तनलीहरुमा मात्र परिवर्तन देखा पर्दछ भने रेटिना बाहिर Fibrovascular कोशिकाहरूको विकास चाहिँ भएको हुँदैन । यसलाई पनि गम्भीरताको आधारमा हल्का, मध्यम र गम्भीरमा वर्गीकरण गर्न सकिन्छ । यद्यपि यसलाई अहिलेको समयमा Background डायवेटिक रेटिनोप्याथी भनेर पनि बुझिन्छ ।

Proliferative Diabetic Retinopathy भनेको उन्नत स्तरको डायवेटिक रेटिनोप्याथी हो जुन Non-Proliferative Diabetic Retinopathy पछि हुने गर्दछ । यसमा रेटिनाभित्र अप्राकृतिक किसिमको रक्तनलीहरु विकसित भएको हुन्छ जसलाई चिकित्सा भाषामा Neovascularization पनि भनिन्छ ।

कुनै पनि मधुमेहीमा अनियन्त्रित रूपमा रगतमा चिनिको मात्रा  घटबढ भइरहेमा र मधुमेह कै कारण आँखाको रेटिनामा रगतको प्रवाह कम भएर अप्राकृतिक किसिमको रक्तनलीको विकास हुने गर्दछ । यी नयाँ रक्तनलीहरु कमजोर हुने हुनाले आँखाभित्रको तरल पदार्थहरु चुहिने र खतहरुको विकास हुने गर्दछ जसले गर्दा आँखाको रेटिना छुट्टिने, आँखामा रक्तचाप बढ्ने र मोतिविन्दुु जस्ता जटिलताहरु देखा पर्न सक्दछ ।

Diabetic Macular Edema भनेको डायवेटिक रेटिनोप्याथी बाट सिर्जित हुने जटिलता हो । यसमा रेटिनाको मध्य भाग सुन्निने र रक्तनलीहरुको पारगम्यता बढ्ने गर्दछ । यो डायवेटिक रेटिनोप्याथी को कुनै पनि किसिमको गम्भीरता भएको मधुमेहीमा हुन सक्छ ।

३. डायवेटिक रेटिनोप्याथीका लक्षणहरु के के हुन् ?
  • आँखाले धमिलो देखिएमा
  • आँखामा Floaters को मात्रा बढेमा
  • आँखाको दृष्टि धमिलो बाट स्वतः स्पष्ट भएमा
  • आँखाले कालो देखेमा
  • राति आँखाले राम्ररी नदेखेमा
  • आँखाले रङहरु छुट्टाउन नसकेमा
४. डायवेटिक रेटिनोप्याथीका जटिलताहरू के के हुन् ?

समयमै यसको औषधि उपचार नगरे विभिन्न किसिमका जटिलताहरु देखा पर्न सक्दछन्ः

  • भिट्रस रक्तस्राव (Vitreous Hemorrhage)
  • रेटिनल डिट्याच्मेन्ट (Retinal Detachment)
  • डायवेटिक म्याकुलोप्याथी (Diabetic Maculopathy)
  • मोतिविन्दु (Cataract)
  • अन्धो हुने (Blindness)

यी जटिलताहरु टाइप वान र टाइप टु (Type I and II) मधुमेह भएका व्यक्तिहरुमा देखा पर्न सक्दछ । सामान्यतयः यी जटिलताहरु लामो समयसम्म मधुमेह भएमा वा मधुमेह हुँदा रगतमा चिनीको मात्रा अनियन्त्रित भइरहेमा हुने गर्दछ । यद्यपि रगतमा चिनीको मात्रा नियन्त्रित भएको मधुमेहीमा यस्ता जटिलताहरु कम मात्रामा देखिने गर्दछ। तसर्थ मधुमेहलाई समयमा नियन्त्रण नगरेमा डायवेटिक रेटिनोप्याथी को जटिलताहरु निरन्तर विकास भैरहन्छ र व्यक्ति दृष्टिविहीन पनि हुन सक्छ । विभिन्न अनुसन्धान र अध्ययनहरुले मधुमेहीहरु दृष्टिविहीन हुनुको मुख्य कारणहरु Macular Edema, Macular Ischemia, Vitreous Hemorrhage, Tractional Retinal Detachment / Optic Atrophy आदि देखिएका छन् ।

५. Diabetic Macular Edema भनेको के हो र के यो डायवेटिक रेटिनोप्याथी सँग सम्बन्धित छ ?

Diabetic Macular Edema (DME) भनेको म्याकुलर क्षेत्रको रेटिना भित्रको कोशिकामा अतिरिक्त तरल पदार्थ जम्मा हुनका साथै भित्री न्यूक्लियर, बाहिरी प्लेक्सिफर्म, हेन्लेको फाइबर लेयर र सबरेटिनल स्पेसमा पनि तरल पदार्थ जम्मा हुने गर्दछ र यसको डायवेटिक रेटिनोप्याथी सँग प्रत्यक्ष सम्बन्ध पनि रहेको देखिन्छ ।

६. के कारणले गर्दा कुनै-कुनै व्यक्तिहरूमा टाइप टु मधुमेह हुने बित्तिकै डायवेटिक रेटिनोप्याथी देखिन्छ ?

कुनै पनि व्यक्तिहरुमा टाइप टु मधुमेह हुने बित्तिकै डायवेटिक रेटिनोप्याथी देखिनुको मुख्य कारणचाहिँ अनियन्त्रित ब्लड ग्लुकोज र मधुमेहको पहिचान वा मधुमेह भएको पत्ता लगाउन ढिलाई भएमा हुने गर्दछ ।

७. मधुमेह भएका व्यक्तिहरूले कहिले आँखा जाँच गराउनु पर्दछ ?

टाइप वान मधुमेह भएका व्यक्तिहरुले मधुमेह देखिएको ३ देखि ५ वर्ष भित्रमा आँखा जाँच गराउन अत्यावश्यक छ र त्यसपछि वर्षैपिछे जाँच गराउनु पर्दछ । त्यसैगरी टाइप टु मधुमेह भएका व्यक्तिहरुले पनि मधुमेह लागेको पत्ता लाग्ने बित्तिकै आँखा जाँच गराउने र बर्षमा एकचोटि अनिवार्यरुपमा आँखा जाँच गराउनु पर्दछ । कुनै पनि मधुमेहीले आँखामा कुनै पनि समस्या देखा परे तुरुन्तै आँखाको डाक्टरलाई सम्पर्क राख्ने र डाक्टरको सल्लाहबमोजिम र रोगको गम्भीरतालाई ध्यानमा राख्दै औषधि उपचार गर्ने जसमा केहि व्यक्तिहरुले महिनैपिछे डाक्टरलाई जाँच गराई रहनुपर्दछ भने कसैले तीन महिना छ महिना र बर्ष दिनको अन्तरालमा आँखाको चेकजाँच गराउनु आवश्यक हुन्छ ।

८. डायवेटिक रेटिनोप्याथी को औषधि उपचार कसरी गरिन्छ ?

डायवेटिक रेटिनोप्याथी को समयमै उपचार गरेमा यसले कुनै पनि किसिमको जटिलता र अप्ठेरो समस्याहरु निम्त्याउँदैन तर डाक्टरको सल्लाहबमोजिम औषधि उपचार गराउन चाहिँ निकै जरुरी हुन्छ । डाक्टरहरुले पनि रोगको परिस्थिति गम्भीरतालाई ध्यानमा राख्दै औषधि उपचार गर्ने गर्दछन् जसमा लेजर थेरापी लगायत अन्य Intra-Vitreal एजेन्ट, Vitrectomy आदि गर्ने गरिन्छन् ।

 

By डा. अनादि खत्री
एम. डि., अप्थाल्मोलोजी भिट्रस – रेटिना सर्जन
विराट आँखा अस्पताल