साधारणतया आम मानिसको बुझाई के छ भने मानसिक समस्या र शारीरिक समस्या नित्तान्त भिन्न र आपसमा सम्बन्ध नभएको समस्या हो । वर्तमान समयमा कतिपय मानिसले यी दुई बीचको समानताबारे बुझ्न थालेका छन् भने कतिपयलाई अझै पनि यो कुरा बुझ्न कठिनाई छ । हामीले मानसिक रोगलाई मानसिक लक्षणबाट मात्र बुझ्न थाल्यौँ भने धेरै मानसिक रोगीहरु उपचारको प्रक्रियाबाट बाहिरिन्छन् र यी रोगहरुलाई एक किसिमको शारीरिक रोगकै हिसाबले मात्र उपचार गरिन्छ । मेरो यो ३० वर्षको चिकित्सा क्षेत्रको अनुभवबाट के बताउँछ भने यस्ता बिरामीहरू जसलाई शारीरिक लक्षणहरू छ वास्तवमा उनीहरूलाई शारीरिक रोग केही पनि हुँदैन तर मानसिक समस्या हुन सक्छ । विरामीहरू शारीरिक लक्षणको आधारमा शारीरिक रोगको चिकित्सकहरु कहाँ उपचार गर्न जान्छन् जसमा फिजिसियन, गाइनोकोलोजिस्ट, सर्जन अथवा अरु विधामा जानु सामान्य हो त्यसलाई अन्यथा लिन मिल्दैन । यो प्रक्रिया एकचोटी एकजना डाक्टर कहाँ गएर टुङ्गिनुपर्ने हो तर यस्ता विरामीहरू बारम्बार विभिन्न किसिमको डाक्टरहरूकोमा गइरहेका हुन्छन् र औषधि पनि धेरै खाइरहेका हुन्छन् । साथै, चेक जाँच र ल्याबोरेटरी टेस्ट पनि चाहिनेभन्दा बढी गराइरहेका हुन्छन् । तसर्थ, एक त समयको नाश अर्को बिरामीमा नकारात्मक धारणाहरूको बिकास हुने र धेरै पटक जाँच गराउँदा अनावश्यक रुपमा आर्थिक स्रोतको पनि दुरुपयोग हुन सक्छ ।
विरामीहरू एक चिकित्सककहाँ उपचार गराउँदा ठीक नभएपछि अर्को चिकित्सककहाँ जान्छन् । त्यहाँ गएर पुनः त्यही टेस्टहरू गराउँछन् । यो प्रक्रिया एक–दुई चिकित्सकमा मात्र सिमित नभई धेरै चोटि दोहोरिन्छ । उपचार खर्च जति धेरै भएपनि रोग भने जहाँको त्यही हुन्छ । यतिसम्म हुन्छ कि मानिसहरू रोग पत्ता लागेन भनेर विदेशसम्म पनि जान्छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भन्दा लक्षण हेरि चिकित्सक कहाँ गएर सबै जाँच पड्ताल गर्दापनि कुनै शारीरिक रोग नभेटिएपछि बिरामीलाई तपाईलाई केही पनि रोग छैन भनिन्छ । त्यही नै समस्या हो । बिरामीमा रोगको लक्षण भने जहाँको त्यही हुन्छ, त्यसैले उ अर्को चिकित्सक कहाँ जान्छ । पुनः रोगको लक्षण जहाँको त्यही हुने हुँदा अर्को चिकित्सककोमा जाने क्रम निरन्तर भइरहन्छ । त्यसैले बिरामीमा चिकित्सा शास्त्रप्रति विश्वास नै हट्दै जान्छ र ऊ अरु कुनै अवैज्ञानिक पद्धतिमा लाग्छ । जसले गर्दा बिरामीले धेरै अनावश्यक आर्थिक खर्चहरुका साथै तनाव पनि भोग्नुपर्ने हुन्छ । मैले यतिसम्म पनि देखेको छु कि यो चक्करमा गाउँमा भएको आफ्नो गाईवस्तुहरू अनि कृषि उपजहरू सबै बेचेर आउँछन् । कतिपय बिरामीहरूले त रोग पत्ता नलागि नै विदेश जानलाई जग्गा जमिनहरूनै बेचेका पनि हुन्छन् ।
कतिपय परिस्थितिमा मानसिक समस्या एकदमै साधारण खालको हुन्छ जसलाई केही साधारण औषधिहरू मात्र दिएर पनि ठीक गर्न सकिन्छ । यसै सन्दर्भमा कस्तो किसिमको लक्षणहरू हुन्छन् त बुझौँ ।
प्रायः व्यक्तिमा सर्वप्रथम देखिने लक्षणहरूमा टाउको दुख्ने, पेट दुख्ने, खुट्टा दुख्ने, हात खुट्टा झमझमाउने र रिंगटा लाग्ने हुन सक्छ । लक्षण पूर्णतया मानसिक कारणहरूबाट हो भने बिरामीमा विभिन्न मानसिक रोगहरू हुन सक्छ जस्तैः डिप्रेशन, एङ्जाइटी लगायत अरुनै कुनै कडा खालको मानसिक रोग पनि लागेको हुन सक्छ । यसलाई हामीले बेलैमा पत्ता लाएनौ भने उसको उपचार पनि जटिल हुँदै जान्छ । साथै, बिरामीले टाउको दुखेको, हात खुट्टा झमझमाएको, पेट सम्बन्धी समस्या भएको महसुस गर्छन् । जसले गर्दा धेरैचोटि अल्ट्रासाउन्ड, इन्डोस्कोपी, रगत जाँच लगायत वरिष्ठ चिकित्सककहाँ जाँच पड्ताल गराउँछन् । रोगको राम्रोसँग पहिचान हुन नसक्दा बिरामी लगायत उसको परिवारजनले ठूलो आर्थिक भारसँग तनावको पनि सामना गर्दछन् । यो कुरा एकआपसमा यसरी गाँसिएको छ कि हामी समयमै सचेत हुन निकै जरुरी छ ।
यसो भन्दै गर्दा कुनै शारीरिक लक्षण देखिने बित्तिकै मानसिक चिकित्सक कहाँ जानुपर्ने अनिवार्य छैन तर जाँच पड्ताल गर्दा कुनै ठोस कारण नदेखिए मानसिक चिकित्सकको परामर्श लिन उपयुक्त हुन्छ जुन कुरा दुवै चिकित्सक र बिरामीले बुझ्न आवश्यक छ । हाम्रो देशमा मानसिक रोगप्रतिको पूर्वाग्रही धारणाका कारण बिरामीहरू मनोचिकित्सककहाँ जान मान्दैनन् । हामीले मानसिक रोग कसैलाई पनि लाग्न सक्छ र उपयुक्त उपचार गरे यसको निवारण सम्भव छ भन्ने कुरा बुझाउन जरुरी छ । समयमै उपचार नगरे बिरामी लगायत उसको परिवारजनले आर्थिक, सामाजिक रूपमा निरिह भई संघर्ष गर्नुपर्ने हुन्छ जसले गर्दा जीवनका विभिन्न पक्षहरु प्रभावित हुन्छन् । तसर्थ, पहिलोचोटि उपचार गराएको चिकित्सकले नै मानसिक रोगको सम्भावना भए मनोरोग विशेषज्ञको परामर्श लिनको लागी सल्लाह दिनुपर्छ ।
विभिन्न किसिमका डिप्रेशनहरूमा पनि शारीरिक लक्षणहरू देखिन्छन् । विशेषगरी ग्रामीण भेगका महिलाहरूको जीवनशैली, शिक्षा र सचेतनाको कमीको कारणले आफ्नो मनको भावना बुझ्न र व्यक्त गर्न सक्दैनन् । त्यसैगरी शहरी भेगका शिक्षित व्यक्तिहरूले पनि मनका भावनाहरू र वेदनाहरूलाई राम्रोसँग व्यक्त गर्न सकिराखेका हुँदैनन् । जसले गर्दा शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्दछ । यो कुरा शारीरिक पीडाको रूपमा देखा पर्छ जसलाई मानिसहरूले मलाई पेट दुख्छ, मलाई टाउको दुख्छ भनेर व्यक्त गरिरहेका हुन्छन् । हामीले यसलाई एकदमै सूक्ष्म रूपमा जाँच पड्ताल गर्यौं भने त्यसको पछाडिको डिप्रेशनलाई देख्छौं । त्यहाँ विभिन्न किसिमको मनोसामाजिक समस्याहरू देखिन सक्छ । बिरामीलाई एकदमै भित्रभित्रै पीडा भइरहेको हुन्छ जुन उसले व्यक्त गर्न सकेको हुँदैन अथवा व्यक्त गर्ने मौका नपाएको हुनसक्छ वा व्यक्त गर्ने इच्छा नभएको पनि हुनसक्छ । मानसिक स्वास्थ्यका बारे सचेतना नभएकोले मानसिक समस्या देखिए तापनि समस्या लुकाउन खोज्ने र स्वीकार नगर्ने हुन्छ । यो रोग भित्रभित्रै बढ्दै जान्छ जसले गर्दा रोगीमा आत्महत्या गर्ने सोच पनि आउन सक्छ ।
अर्को रोगको कुरा गर्नुपर्दा व्यक्तिहरूलाई रोगको चाहिनेभन्दा बढी शङ्का र सोच आउँछ जसलाई हाइपोकोन्ड्रिया भनिन्छ । यसमा बिरामीले मलाई यो रोग लागेको छ भनेर सोच्ने र विभिन्न डाक्टरहरू कहाँ जाने गर्दछ जसलाई चिकित्सक भाषामा डाक्टर शपिङ पनि भनिन्छ । जसमा रोगी एक डाक्टरबाट अर्को डाक्टर कहाँ जाने, अनेक टेस्टहरु गराउने, विभिन्न रोग जस्तैः क्यान्सर, एच.आइ.भी. वा उपचार नहुने रोग लाग्यो कि भनेर बिरामीले शङ्का र डर मान्ने गर्छन् । अझ कतिपयले त डाक्टरसँग परामर्श नै नगरि एकैचोटि ल्याबमा गएर टेस्टहरू गराउँछन् । त्यसमा पनि स्रोत र साधनको व्यापक दुरुपयोग हुन्छ । हाम्रो जस्तो आर्थिक रूपले विपन्न देशमा यस्तो किसिमको स्रोत साधनको दुरुपयोग हुनु भनेको समाजको लागि पनि त्यति राम्रो होइन । विरामको अत्याधिक शङ्का र डरकै कारणले गर्दा विदेशमा गएर उपचार गराए तापनि विदेशी चिकित्सकहरूले यहीँकै जस्तो औषधि दिन्छन् ।
यस्ता मानसिक रोगमा बिरामी यस्तो रोग छ भनेर विश्वस्त र अडिक रहन्छ र १० वटा ल्याबटेस्टको रिपोर्ट दिए पनि रोग छैन भन्ने कुरामा विश्वस्त हँुदैन । यो एक कडा किसिमको मानसिक रोगको लक्षण पनि हुन सक्छ । त्यसैले हामीले यसलाई नजरअन्दाज नगरी राम्रोसँग हेरेर, बुझेर समयमै निवारण गर्न सक्यौँ भने बिरामी लगायत उसको परिवार र समाजलाई फाइदाजनक हुन्छ ।
हालको सर्वेक्षण र तथ्याङ्कले अस्पतालमा उपचार गराउन जाने झन्डै २०–२५% मानिसहरूमा केही न केही किसिमको मानसिक रोग भएको देखिएको छ । ती सबै मानसिक रोग विशेषज्ञ कहाँ रिफर हुँदैनन् जसले हाम्रो रेफरल प्रणालीमा पनि समस्या भएको देखाउँछ । साथै, चिकित्सकले समयमै रेफर नगर्ने र रोगीले पनि यथार्थलाई नस्वीकार्ने बानीले गर्दा रोगको पहिचानमा ढिलाई हुन्छ । जसलाई हामीले राम्ररी ध्यान दियौँ र बिरामीलाई सम्झायौँ भने स्रोत–साधनको दुरुपयोग र आर्थिक भार पनि घट्छ ।
विभिन्न परिस्थितिहरुमा थोरै औषधि, उचित परामर्श र सहकार्यले गर्दा रोगीको लाखौं रुपैयाँको बचतसँगै जीवनलाई पनि सुन्दर बनाउन सक्छौँ भन्ने मलाई लाग्छ । यसमा मानसिक विशेषज्ञको ठूलो भूमिका हुन्छ । तसर्थ, नीजि तथा सरकारी स्वास्थ्य संस्थामा विद्यमान रेफरल प्रणालीलाई सुधार्यौँ भने स्वस्थ समाज र राष्ट्र निर्माण गर्न केही टेवा पुग्थ्यो ।
प्रो. डा. पुष्प प्रसाद शर्मा
वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ