जाडोयाममा हृदयघातको जोखिम

जाडो मौसमको आगमन सँगै हामी धेरै खुशी हुन्छौं किनभने यस मौसममा चिसो र सफा वातावरणको आनन्द लिन सकिन्छ तथा घुमफिर गर्ने र अन्य धेरै रमाइला कुराहरू अनुभव गर्न पाइन्छ तर कतिपय व्यक्तिका लागि भने जाडोयाम चिन्ताजनक हुन्छ किनभने जाडोमा मुटुसम्बन्धी समस्या हुने सम्भावना बढी हुन सक्छ ।

बढ्दो चिसोसँगै हृदयघात लगायतका मुटुसम्बन्धी रोगको जोखिम बढ्ने गर्छ । यो कुरालाई धेरै अध्ययनहरूले पुष्टि गरिसकेको छ । २०१३ मा पबमेड सेन्ट्रलमा प्रकाशित एक अध्ययन अनुसार हृदय रोगको मौसमी परिवर्तनसँग स्पष्ट सम्बन्ध छ र जाडो महिनामा हृदय सम्बन्धी समस्या बढी हुने गर्छ । यो यथार्थ धेरै देशहरूमा गरिएको अध्ययनले पनि प्रमाणित गरिसकेको छ । त्यसैले पनि हृदयघात लगायतका मुटुसम्बन्धी रोग जाडोमा हुने मृत्युको कारक हुन सक्छ । जर्मनीमा भएको अध्ययन अनुसार हरेक २.९ डिग्री सेल्सियस तापक्रम घट्दा हृदयघातको संख्या ११ प्रतिशतले बढ्न सक्छ । एक अध्ययन अनुसार तापक्रममा प्रत्येक १ डिग्री सेल्सियस घट्नु भनेको कुनै पनि कारणबाट हुने मृत्युमा ०४९ प्रतिशतले वृद्धि हुनु हो भन्ने देखिएको छ ।

हृदयघात भनेको के हो ?

हृदयघात एक मुटुको रोग हो, जसमा मुटुमा रगतको आपूर्ति अचानक अवरुद्ध हुन्छ । सामान्यता मुटुमा रगत प्रवाह गर्ने धमनीमा बोसो वा रगत जमेर रगत सञ्चालन अवरुद्ध हुने गर्छ । रगतको प्रवाहको कमीले गर्दा मुटुको मांसपेशीको भागमा क्षति पुग्न सक्छ ।

हृदयघातका लक्षणहरू

हृदयघातका लक्षणहरू फरक-फरक हुन सक्छन्‌ । केही व्यक्तिहरूमा हल्का लक्षणहरू हुन सक्छन्‌ भने अरूलाई गम्भीर लक्षणहरू हुन सक्छन्‌ । कतिपय मानिसमा कुनै लक्षण नै नहुन सक्छ ।

  • छाती दुख्नु र भारी महसुस हुनु ।
  • जबडा, घाँटी, ढाड र एक वा दुवै हातमा दुखाई वा अप्ठेरो पन महसुस हुनु ।
  • सास फेर्न गाह्रो हुनु ।
  • वाकवाकी लाग्नु ।
  • थकान महसुस हुनु ।
  • हल्का टाउको दुख्नु वा अचानक चक्कर लाग्नु ।
  • पसिना आउनु ।
जाडोमा हृदयघातको जोखिम बढनुको कारण के हो ?

जाडोमा तापक्रम घट्दै जाँदा शरीरको तापलाई जोगाउन रगत प्रवाह गर्ने धमनीहरू साँघुरिन्छन्‌ जसले गर्दा रक्तचाप बढ्छ । साथै चिसोले हर्मोनल परिवर्तनहरू हुन्छन्‌ जसले मुटुको धड्कन बढाउँछ र मुटुमा भार पनि बढाउँछ यसले गर्दा मानिसमा हृदयघात हुने जोखिम उच्च रहन्छ । यसका अतिरिक्त जाडोमा कम पसिना आउने हुँदा शरीरमा पानीको मात्रा बढ्छ र रगतको मात्रा पनि बढ्छ जसले गर्दा रक्तचाप बढाउँछ । त्यसैगरी जाडोमा मानिस सक्रिय नहुने हुनाले मोटोपनले रगत बग्ने धमनीमा बोसो र रगत जम्ने जोखिम पनि उच्च रहन्छ । यसका साथै जाडोमा हुने रुघा तथा अन्य फ्लू जस्तो संक्रमणले शरीर सँगै मुटुलाई पनि कमजोर बनाउँछ । यी सबै कारक तत्वले गर्दा मुटुमा दबाब बढ्ने हुनाले हृदयघातको जोखिम जाडोयाममा उच्च हुन जान्छ ।

जाडोमा कसलाई बढी जोखिम हुन्छ ?
  • उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह भएका व्यक्तिहरू
  • एर्थरोस्क्लेरोसिस (Atherosclerosis) र मुटुको धमनीको रोग (Coronary Artery Disease) जस्ता हृदय रोग भएका व्यक्तिहरू
  • धूम्रपान र मद्यपान गर्ने व्यक्तिहरू
  • अधिक वजन भएका र शारीरिक रूपमा निष्कृय व्यक्तिहरू
  • वृद्धहरू
चिसोमा मुटुको उचित व्यवस्थापन गर्ने तरिकाहरू
  • न्यानो लुगा लगाउने र चिसोबाट बच्ने : बाक्लो पन्जा तथा मोजा लगाएर आफ्नो हात र खुट्टा न्यानो राख्ने र पसिना नआउने लुगा लगाउने । बाहिर निस्कँदा हावा प्रतिरोधी कपडा लगाउने ।
  • चुरोट र रक्सी सेवन नगर्ने ।
  • नियमित व्यायाम गर्ने तर अचानक भारी व्यायाम गर्नु भने हुँदैन ।
  • मुटुको वा अरू कुनै समस्या छ भने डाक्टरको सल्लाह बमोजिम व्यायाम तथा खानपान गर्ने ।
  • स्वस्थ खाना खाने जसमा प्रशस्त मात्रामा पानी पिउने र ताजा फलफूल र हरियो सागपात खाने तर कफी जस्तै पेय पदार्थ धेरै नखाने ।
  • रक्तचाप, कोलेस्ट्रोल र रगतमा ग्लुकोजको मात्रा अनिवार्य रूपमा नियन्त्रणमा राख्ने ।
  • नियमित स्वास्थ्य जाँच गराउने ।
  • मानसिक रूपमा स्वस्थ रहन बगैँचामा गोडमेल तथा चित्रकला जस्ता शौक र शारीरिक गतिविधिहरूमा संलग्न भई तनावलाई व्यवस्थापन गर्ने । यसका साथै घरमै योग र ध्यान गर्ने, राम्ररी सुत्ने र आफूले गर्ने कामको प्रकृतिलाई बुझेर आराम गर्ने ।

 

By अरबीन्द्र जोशी (Pharmacist)