मञ्जुको संघर्षको यात्रा

मञ्जुलाई आज पनि ताजै लाग्छ त्यो दिन जुन दिन उनी पहिलो पल्ट आमा बनेकी थिइन्, उनकी प्यारी छोरी सानू जन्मिएको दिन, उनको हृदयमा अपार खुशी र उत्साहको लहर छाएको थियो । घर भरि नै हर्सोल्लासको वातावरण थियो र हुन पनि किन नहोस् उनको परिवारमा दुई पुस्तापछि मात्र छोरीको आगमन भएको थियो । मञ्जुको आँखामा खुशीका आँशु थिए र उनको मुहारमा मुस्कान टल्किरहेको थियो । सानूको आगमनसँगै मञ्जुको जीवनमा नयाँ रङ्ग थपियो । हरेक बिहान सानूको मीठो मुस्कानले मञ्जुको दिन सुरु हुन्थ्यो र हरेक रात सानूलाई लिएर सुत्दा उनको हृदय खुशीले भरिन्थ्यो । सानूको हेरचाह र पालनपोषण गर्दै मञ्जुको दिन बित्न थाल्यो । हरेक दिन नयाँ अनुभव र सिकाइको यात्रा थियो ।

समय बित्दै गयो र हेर्दाहेर्दै सानू १८ महिनाकी भइसकेकी थिइन् । तर मञ्जु र उनका पति रामले आफ्नो छोरीमा केही अनौठो व्यवहार देख्न थाले । सानू चुपचाप रहन्थिन्, अरु बच्चाहरूसँग खासै रमाउन सक्दिन थिइन् । आँखामा आँखा हेरेर बोल्न सक्दिन थिइन् र आफ्नो विचारलाई शब्दमा व्यक्त गर्न निकै कठिनाई महसुस गर्थिन् । सुरुवाती दिनमा मञ्जुलाई सानूको व्यवहार सामान्य नै लाग्थ्यो । उनी सोच्थिन्, हरेक बच्चा फरक हुन्छ, सानू पनि आफ्नै गतिमा बढ्दै छिन् । तर जब अन्य बच्चाहरूको तुलनामा सानूको विकासमा ढिलाई हुन थाल्यो, मञ्जुको मनमा चिन्ताको बीउ उब्जियो । उनी सानूको भविष्यलाई लिएर चिन्तित रहन्थिन् । यसै क्रममा मञ्जुले आफ्नो छोरीको व्यवहारको बारेमा साथीहरूलाई भन्न थालिन् । उनको मिल्ने साथीको देवरको बच्चालाई पनि सानूको जस्तै लक्षण देखिएको र डाक्टरसँग परामर्श लिंदा अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD) भएको बताइएको कुरा सुनिन् । यो सुनिसकेपछि मञ्जुको मनमा अनेकौं कुरा खेल्न थाल्यो । मञ्जुले सानूलाई लिएर डाक्टरकोमा गइन् । त्यहाँ एक विशेषज्ञले सानूलाई अटिजम स्पेक्ट्रम डिसअर्डर नै भएको पुष्टि गर्नुभयो । यो खबर सुन्दा मञ्जुको संसार नै थर्किए जस्तो भयो । उनको आँखाबाट आँसुको धारा बग्न थाल्यो र उनको मुटु टुक्रा–टुक्रा भए जस्तो महसुस भयो ।

मञ्जु र रामको लागि यो समाचार एउटा काहालीलाग्दो सत्य थियो । यो समाचारले उनीहरू दुबैजनालाई असुरक्षित र चिन्तित बनायो । मञ्जुको मनमा अनेकौँ प्रश्न उठ्न थालेः कतै मेरो कारणले पो सानूलाई यस्तो भएको हो कि ? मैले गर्भावस्थामा केही गलत गरे कि ? सानूको भविष्य अब कस्तो होला ? यी प्रश्नहरू उनको दिमागमा निरन्तर आइरहेका थिए र हरेक प्रश्नले उनको हृदयमा पीडा थपिरहेको थियो । तर मञ्जुले आफ्नो बच्चाको लागि हिम्मत जुटाएर अघि बढ्ने निधो गरिन् । उनले अफैलाई भनिन्, म सानूको लागि जे पनि गर्न तयार छु । हामी यो चुनौतीलाई सँगै मिलेर सामना गर्नेछौँ । मञ्जुले छोरीको जीवनलाई साँच्चिकै सुमधुर जीवन बनाउनु छ भन्ने संकल्प र अठोट गरीन् ।

मञ्जुले विभिन्न डाक्टरहरूको सल्लाह लिइन् र काठमाडौँका विभिन्न अटिजम विशेषज्ञहरुलाई भेट्न थालिन् । यो यात्रामा, मञ्जुले अटिजमको बारेमा धेरै कुरा सिकिन् । उनले बुझिन् कि अटिजम एक न्युरोडेभलपमेन्ट डिसअर्डर हो जसले व्यक्तिको सामाजिक अन्तरक्रिया र व्यवहारलाई असर गर्छ । अटिजम भएका बच्चाहरूले सामान्यता अरुसँग सम्पर्क गर्न, भावना व्यक्त गर्न र आँखामा हेरेर कुरा गर्न कठिनाई महसुस गर्छन् भन्ने कुरा मञ्जुले बुझिन् । यो सिकाइको यात्रामा मञ्जुले आफूमा एक नयाँ शक्ति र प्रेरणा पाइन् । उनले बुझिन् कि सानूलाई देखिएका लक्षण नै अरु अटिजम भएका बच्चालाई देखिन्छ भन्ने हुँदैन । प्रत्येक बच्चामा अटिजमका लक्षणहरू फरक हुने भएकोले नै यसलाई स्पेक्ट्रम भनिन्छ । यो ज्ञानले मञ्जुलाई सानूको विशेष आवश्यकताहरुलाई बुझ्न र स्वीकार गर्न मद्दत गर्‍यो ।

मञ्जुलाई अटिजम के कारणले हुने रहेछ र यो सानूलाई नै कसरी र किन भयो भन्ने प्रश्नले बारम्बार सताइरहेको थियो । उनले थाहा पाइन् कि यो वंशानुगत पनि हुन सक्छ, तर मञ्जु र रामको परिवारमा कसैलाई यो रोग भएको नै थिएन । त्यसबाहेक, गर्भावस्थामा बच्चाको मस्तिष्कको विकासमा कुनै असामान्यता आएको खण्डमा वा गर्भावस्थामा आमाको स्वास्थ्य, औषधि सेवन वा भाइरल संक्रमणहरूले पनि बच्चामा अटिजमको जोखिम बढाउँदो रहेछ । केही अवस्थामा बच्चाको जन्मसँगै आएका जटिलताहरू जस्तै समय भन्दा पहिले जन्मिनु वा जन्मेको समयमा भएको अक्सिजनको कमीले पनि अटिजमको जोखिम बढाउन सक्दो रहेछ ।

यही कारणले गर्दा आफ्नो छोरीलाई अटिजम भएको हो भन्ने पत्ता लगाउन नसकेपनि मञ्जुले अब सानूको जीवन कसरी सहज बनाउने भन्ने तिर लागिन् । उनले सानूको उपचार र हेरचाहमा निकै समय बिताउन थालिन् । मञ्जुले धेरै नयाँ कुराहरु सिक्न थलिन्, जसले गर्दा सानूको जीवनलाई अझ सहज बनाउन सहयोग पुर्‍यायो ।

अटिजमको कुनै ठोस उपचार नभएको र विभिन्न थेरापीहरू मार्फत बच्चाहरूको विकासमा सहयोग पुग्छ भन्ने कुरा बुझ्दै बिस्तारै मञ्जुले सानूको संसारलाई बुझ्न थालिन् । उनले सानूसँग बढी समय बिताउन थालिन् । सानूले आफ्ना भावना र आवश्यकता शब्दमा व्यक्त गर्न कठिनाई महसुस गर्थिन्, त्यसैले मञ्जुले उनको शारीरिक भाषा र संकेतहरुलाई बुझ्ने प्रयास गरिन् । सानूको संकेत, रुचि र अनौठो व्यवहारहरूलाई अपनाउन थालिन् ।

मन्जुको यो प्रयासले सानूमा धेरै सकारात्मक परिवर्तन ल्यायो । यो सँग–सँगै, अटिजम भएका बच्चाहरूलाई सामाजिक र व्यवहारिक सीपहरू सुधार गर्न विभिन्न थेरापीहरू उपलब्ध हुने बारे मञ्जुले थाहा पाइन् र सानूलाई उक्त थेरापीहरूमा संलग्न गराइन् । बिहेभियर थेरापीले सानूको व्यवहारमा सुधार आउन थालेको छ । सानूले अब आफ्नो भावना व्यक्त गर्न थालेकी छन् र उनको आक्रामक व्यवहारमा कमी आएको छ । त्यसैगरी स्पीच थेरापीको मद्दतले सानूको जीवनमा परिवर्तन ल्यायो । पहिले मौन रहने सानू अब बिस्तारै बोल्न थालेकी छन् । एक दिन, अचानक सानूले आमा शब्द उच्चारण गरेको सुनेर मञ्जुको आँखाबाट खुशीको आँसु झर्‍यो । त्यो एउटा शब्दले मञ्जुको संघर्षको यात्रालाई सार्थक बनायो । त्यसपछि, सानूले बिस्तारै अरु बच्चाहरूसँग कुराकानी गर्न र खेल्न थालेकी छिन् । उनको पहिलो हाँसोले घरभरि खुशीको लहर ल्यायो । अकुपेशनल थेरापीले (जसले व्यक्तिलाई दैनिक गतिविधिहरुमा स्वावलम्बी बन्न मद्दत गर्छ), सानूको जीवनमा अर्को परिवर्तन ल्यायो । पहिले सामान्य दैनिक क्रियाकलापहरू गर्न नसक्ने सानू अब आफ्नो हेरचाह आफै गर्न सक्षम हुन थालिन् । एक दिन, सानूले पहिलो पटक आफै दाँत माझेको देखेर मञ्जु र राम दंग परे । त्यसपछि, सानूले आफै लुगा लगाउने र खाना खाने प्रयास गरेको देखेर उनीहरूको आँखा रसायो । हरेक सानो उपलब्धि एउटा ठूलो विजय जस्तै भएको छ ।

यी थेरापीहरूसँगै परिवारको निरन्तर समर्थन र सहभागिताले सानूको विकासमा अझ ठूलो भूमिका खेल्यो । मञ्जु र रामले घरमा पनि थेरापीका सिद्धान्तहरू लागु गर्न थाले । उनीहरूले सानूको लागि घरमा एउटा विशेष कक्ष बनाए, जहाँ उनी आफ्नो गतिमा सिक्न र बोल्न सक्थिन् । परिवारका सबै सदस्यहरूले सानूसँग कुरा गर्दा धैर्यता अपनाउन थाले र उनलाई प्रोत्साहन दिन थाले ।

यो यात्राले परिवारलाई एक अर्काप्रति अझ धेरै माया र साथ दिन प्रेरित गर्‍यो । उनीहरूले हरेक सानो प्रगतिलाई सँगै मनाउन थाले । आज, मञ्जु र राम सानूको सुन्दर भविष्यको लागी सँगै अगाडी बढिरहेका छन् । उनीहरू अब अटिजमलाई एउटा चुनौतीको रूपमा मात्र होइन, बरू एउटा भिन्न र विशेष क्षमताको रूपमा हेर्छन् । सानूको हरेक नयाँ शब्द, हरेक नयाँ हाँसो र हरेक नयाँ उपलब्धिले उनीहरूलाई थप प्रेरित गर्छ ।

मञ्जुको परिवारले अटिजमको यात्रामा नयाँ अर्थ र सुन्दरता भेट्टाएको छ जसले हामी सबैलाई प्रेम, धैर्य र दृढ संकल्पले कुनै पनि चुनौतीलाई जित्न सकिन्छ भन्ने पाठ सिकाउँछ ।

मनिका पराजुली (Pharmacist)

अटिजम स्पेक्ट्रम डिसअर्डर

अटिजम स्पेक्ट्रम डिसअर्डर (ए.एस.डी) एक न्युरोलोजिकल र विकासात्मक विकार हो जसले मानिसहरूसँग कसरी अन्तरक्रिया गर्ने, काम गर्ने, सिक्ने र व्यवहार गर्ने तरिकालाई असर गर्छ । यद्यपि अटिजम कुनै पनि उमेरमा पत्ता लाग्न सक्छ । यसको लक्षणहरू सामान्यतया जीवनको पहिलो २ वर्षमा देखा पर्ने भएकोले यसलाई “विकासात्मक विकार” पनि भनिन्छ ।

मानसिक विकारहरूको निदान र सांख्यिकीय पुस्तिका (DSM-5) अनुसार, ए.एस.डी. भएका मानिसहरूलाई प्रायः अन्य व्यक्तिहरूसँग कुराकानी र अन्तरक्रियामा कठिनाइ हुने, चासो नलिने, स्कूल, काम, र जीवनका अन्य क्षेत्रहरूमा काम गर्ने क्षमतालाई असर गर्ने लक्षणहरू देखिन्छन् । यसमा देखिने लक्षणहरु र गम्भीरता मानिस-मानिसमा भिन्न हुने भएकोले अटिजमलाई “स्पेक्ट्रम“ विकारको रूपमा पनि चिनिन्छ ।

लक्षणहरु :-

ए.एस.डी. भएका सबै व्यक्तिहरूमा प्रमाणित भएको सबै व्यवहारहरू वा लक्षणहरू हुँदैनन्, तर धेरैजसोमा तल सूचीबद्ध गरिएका धेरै लक्षणहरू देखिन्छन् ।

सामाजिक क्रियाकलाप तथा अन्तरक्रियामा समावेश हुन सक्ने लक्षणहरू :-

  • आँखाले कम सम्पर्क गर्ने वा असामान्य तरिकाले हेर्ने ।
  • बोलिरहेको मानिसहरूलाई नहेर्ने वा नसुन्ने ।
  • कहिलेकाहीं मात्र वस्तु वा गतिविधिहरूमा रुचि देखाउने ।
  • कुनै पनि किसिमको गतिविधिहरूमा प्रतिक्रिया नदिने ।
  • प्रतिक्रिया नदिने वा अन्य मौखिक बोलीहरूमा पनि उत्तर ढिलो दिने ।
  • प्रायः मनपर्ने विषयमा अरूलाई चासो नभएपनि कुरा गरिरहने वा अरूलाई प्रतिक्रिया दिने मौका नदिईकन लामो समयसम्म कुरा गर्ने ।
  • कुराकानी गर्ने क्रममा भनिएको कुरासँग मेल नखाने गरी अनुहारको हाउभाउ वा चाल देखाउने ।
  • असामान्य स्वर निकालेर बोल्ने ।
  • अर्को व्यक्तिको दृष्टिकोण बुझ्न समस्या हुने वा अन्य व्यक्तिका कार्यहरू बुझ्न असमर्थ हुने ।
  • कल्पनाशील खेल खेल्न र साथी बनाउनमा कठिनाइ हुने ।
  • सामाजिक परिस्थितिहरूमा व्यवहार गर्न नसक्ने ।

प्रतिबन्धात्मक/दोहोरिने व्यवहारमा समावेश गरिएको लक्षणहरू :-

  • असामान्य व्यवहारहरू गर्ने र केही व्यवहारहरू दोहोर्‍याउने जस्तैः शब्दहरू वा वाक्यांशहरू दोहोर्‍याउने जसलाई चिकित्सा विज्ञानमा इकोलालिया (Echolalia) भनिन्छ ।
  • विशिष्ट विषयहरूमा जस्तै सङ्ख्याहरू, विवरणहरू वा तथ्यहरूमा तीव्र रूपमा रुचि राख्ने ।
  • गतिशील वस्तुहरू वा वस्तुहरूको भागहरूमा अति केन्द्रित भएर रुचि देखाउने ।
  • दिनचर्यामा थोरै परिवर्तन हुँदा पनि विचलित हुने ।
  • सेन्सरी इनपुट जस्तै प्रकाश, ध्वनि, कपडा, वा तापक्रम आदिबाट अन्य व्यक्तिहरू भन्दा बढी संवेदनशील वा कम संवेदनशील हुने ।
  • ए.एस.डी. भएका मानिसहरूमा निन्द्रामा समस्या र चिडचिडापन अनुभव गर्ने ।

यस्ता लक्षणहरुसंगै अटिजम स्पेक्ट्रममा भएका मानिसहरूमा धेरै विशेषताहरू पनि हुन सक्छन्, जसमा :

  • विस्तृत रूपमा विशेष चीजहरू बारे रुचि राख्ने र लामो समयसम्म कुनै चीजहरूबारे जानकारी सम्झन सक्षम हुने ।
  • स्पष्ट दृश्य र श्रवणशक्ति हुने तथा गणित, विज्ञान, संगीत वा कला आदि विषयमा उत्कृष्ट दक्षता हुने ।
  • सुनेर र हेरेर सीप सिक्न सक्ने क्षमता पनि हुन सक्छ ।
कारण र सम्बन्धित कारकहरू :-

अन्वेषक वा विज्ञहरु अनुसार ए.एस.डी. को प्राथमिक कारणहरू पत्ता लागेको छैन, तर विभिन्न अध्ययनहरूले आनुवंशिक र वातावरणका कारणले ए.एस.डी. हुने देखाएको छ । यसका साथै निम्नलिखित अवस्थाहरुमा पनि ए.एस.डी. हुने सम्भावना बढी हुन्छ ।

  • दाजुभाई अथवा दिदीबहिनीलाई ए.एस.डी. भएको छ भने ।
  • गर्भधारण गर्दा आमाबुवाको उमेर बढी भएमा ।
  • परिवारमा आनुवंशिक समस्याहरु जस्तै :- डाउन सिन्ड्रोम वा फ्रेजाइल एक्स सिन्ड्रोम भएमा ।
  • धेरै कम तौल भएको शिशु जन्मिएमा ।
ए.एस.डी. पत्ता लगाउने तरिका :-

स्वास्थ्यकर्मीले व्यक्तिको व्यवहार र विकासको मूल्याङ्कन गरेर ए.एस.डी. पत्ता लगाउने गर्छन् । ए.एस.डी. सामान्यतया २ वर्षको उमेरमा सजिलै पत्ता लगाउन सकिन्छ । सकेसम्म ए.एस.डी. चाँडो पत्ता लगाउन सकियो भने उपचार पनि चाँडो सुरु गर्न सकिन्छ ।

साना शिशुहरूमा ए.एस.डी. पत्ता लगाउने तरिका : साना शिशुहरूमा प्रायः दुई चरणको जाँच गरी ए.एस.डी. पत्ता लगाउन सकिन्छ ।

चरण १ :- बच्चाको स्वास्थ्य जाँच गर्दा सामान्य विकासको स्क्रीनिङ गर्ने प्रक्रिया ।

प्रत्येक बच्चालाई बाल रोग विशेषज्ञसँग बच्चाको राम्ररी जाँच गराउनुपर्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स अनुसार सबै बच्चाहरूको स्वास्थ्य जाँच ९, १८, र २४ वा ३० महिनाहरुमा राम्ररी भएकै हुनुपर्छ र विशेषगरी १८ र २४ महिनामा अटिजम स्क्रीनिङहरू सहित विकास ढिलाइको लागि स्क्रीनिङ सम्बन्धी अन्य जाँच गराउनुपर्छ । माथि उल्लेखित ए.एस.डी.को कारणहरुरुसँग बच्चाको सम्बन्ध देखिएमा ए.एस.डी. सँगै वा विकास सम्बन्धी अतिरिक्त जाँच अनिवार्य रूपमा गराउनु पर्दछ ।

साथै शिशुको हेरचाहमा संलग्न व्यक्ति लगायत विद्यालयको शिक्षकशिक्षिकाको बच्चासँगको अनुभव ए.एस.डी. स्क्रीनिङ प्रक्रियामा महत्वपूणर् भूमिका खेल्दछ । जसमा स्वास्थ्यकर्मीले यी व्यक्तिहरुसँग बच्चाको व्यवहारको बारेमा प्रश्नहरू सोध्न पर्ने हुन्छ र दिएको जवाफलाई ए.एस.डी. स्क्रीनिङको मापदण्ड अनुसार मूल्याङ्कन गर्ने र बच्चाको क्लिनिकल निरीक्षण गर्न निकै जरुरी हुन्छ ।

यदि बच्चाले यो स्क्रीनिङ प्रक्रियाको क्रममा व्यवहार वा कार्यमा विकासात्मक भिन्नता देखाउँछ भने, स्वास्थ्यकर्मीले अतिरिक्त मूल्याङ्कनका लागि बच्चालाई अतिरिक्त जाँच पनि गराउँदछ ।

चरण २ :- ए.एस.डी. पत्ता लगाउने अतिरिक्त मूल्याङ्कन विधिः ए.एस.डी. भएका बच्चाहरूको पहिचान सकेसम्म चाँडो र सही रूपमा गर्न निकै महत्वपूणर् हुन्छ । प्रारम्भिक चरणमा रोगको पहिचान भएमा स्वास्थ्यकर्मीलार्ई कुन सेवाहरू, शैक्षिक कार्यक्रमहरू र व्यवहारिक उपचार पद्धतिहरू बच्चाको लागि सबैभन्दा उपयोगी हुन्छ भन्ने निर्धारण गर्न मद्दत हुन्छ ।

ए.एस.डी. सम्बन्धी राम्रो जानकारी भएको स्वास्थ्यकर्मीको टोली जसमा बाल न्युरोलोजिस्ट, बाल विकास रोग विशेषज्ञ, भाषारोग विशेषज्ञ, बाल मनोवैज्ञानिक र मनोचिकित्सक, शैक्षिक विशेषज्ञहरू र व्यावसायिक चिकित्सकहरू संलग्न भई उपचार पद्धति निर्धारण गर्छन् । साथै तल लिखित मूल्याङ्कन विधिहरुबाट रोग भए नभएको सुनिश्चित गर्छन् ।

  • मेडिकल र न्युरोलोजिकल परीक्षणहरू
  • बच्चाको संज्ञानात्मक क्षमताहरूको मूल्याङ्कन
  • बच्चाको भाषा वा बोल्ने क्षमताको मूल्याङ्कन
  • बच्चाको व्यवहारको निरीक्षण
  • बच्चाको व्यवहार र विकासको बारेमा बच्चाको हेरचाहकर्ताहरूसँग गहिरो कुराकानी
  • उमेर-उपयुक्त दैनिक गतिविधिहरू लगायत स्वतन्त्र रूपमा पूरा गर्नुपर्ने आवश्यक दायित्वहरु जस्तै खाने, लुगा लगाउने र शौचालय जाने आदिको मूल्याङ्कन

ए.एस.डी. एक जटिल विकार हो जुन कहिलेकाहीँ अन्य रोगहरू वा सिकाइको विकारहरूसँग संलग्न हुन सक्छ । तसर्थ, व्यापक मूल्याङ्कन विधिमा रगत र श्रवण परीक्षण पनि समावेश गरिन्छ ।

ठूलो बच्चा लगायत किशोरकिशोरीमा ए.एस.डी. पत्ता लगाउने विधि :-

बच्चा लगायत किशोरकिशोरीहरुले धेरै समय विद्यालय वा कलेज बिताउने हुँदा उनीहरुसँग संलग्न हुने शिक्षकशिक्षिकाहरुसँग प्रारम्भिक रुपमा उनीहरूको बारेमा राम्ररी बुझ्नु पर्दछ । जसमा उनीहरूको क्रियाकलापहरु जस्तैः कसैको स्वर, अनुहारको अभिव्यक्तिको वा हाउभाउ बुझ्न सके नसकेको, साथीहरु बनाउन सक्ने क्षमता लगायत हाँस्य र व्यंग्य बुझ्न सक्ने क्षमता बुझ्नुपर्दछ । त्यसपछि मात्र स्वास्थ्यकर्मीसँग उचित परामर्श गरेर ए.एस.डी. सम्बन्धित जा“च गराउनु पर्दछ ।

वयस्कहरुमा ए.एस.डी. पत्ता लगाउने विधि :-

वयस्कमा ए.एस.डी. पत्ता लगाउन बच्चाहरूको तुलनामा धेरै गाह्रो हुन्छ । वयस्कहरूमा, ए.एस.डी.का केही लक्षणहरू अन्य मानसिक स्वास्थ्य विकारहरूको लक्षणहरूसँग मिल्दोजुल्दो पनि हुनसक्छ । तसर्थ, ए.एस.डी.को लक्षण देखिएका वयस्कहरुले न्यूरोसाइकोलोजिस्ट, मनोवैज्ञानिक वा मनोचिकित्सकलाई तुरुन्तै सम्पर्क गरी चेकजाँच गराउनु पर्दछ । शिशुहरुमाझैँ वयस्कहरूमा पनि उनीहरूको हेरचाहमा संलग्न व्यक्ति लगायत परिवारको सदस्यहरूसँग गतिविधिहरुबारे राम्ररी बुझ्नु पर्दछ । जसमा अनिवार्यरुपमा उनीहरुले गर्ने सामाजिक अन्तरक्रिया, कुराकानी गर्ने शैली, दोहोर्‍याउने व्यवहारहरू र सेन्सरी प्रतिक्रियाहरु पर्दछन् ।

उपचार :-

ए.एस.डी. पत्ता लाग्ने बित्तिकै सकेसम्म चाँडो उपचार सुरु गर्नुपर्छ । उचित हेरचाह र सेवाहरूले बिरामीकोे कठिनाईहरूलाई कम गर्ने र नयाँ सीपहरू सिक्न मद्दत पुग्ने भएकोले ए.एस.डी.को प्रारम्भिक उपचार निकै महङ्खवपूणर् रहन्छ । यसबाट पीडित मानिसहरूले विभिन्न समस्याहरूको सामना गर्छन् र साथै कुनै पनि एकल उत्तम उपचार नभएकै कारणले गर्दा स्वास्थ्यकर्मीसँग उचित सर-सल्लाह गरेर उपचार र सेवाहरूको सही संयोजन गरेमा मात्र उत्कृष्ट उपचार गर्न सकिन्छ ।

मेडीकेशन र थेरापी :-

लक्षणको आधारमा स्वास्थ्यकर्मीले विशेष किसिमको औषधि उपचार गर्ने गर्छन् । जसले गर्दा बिरामीहरुमा चिडचिडापन, आक्रामकता, दोहोरिने व्यवहार, अति सक्रिय हुने, चिन्तित हुने, ध्यान नदिने लगायत डिप्रेसनको समस्याहरू कम हुने गर्दछ ।

व्यवहारिक, मनोवैज्ञानिक र शैक्षिक थेरापीहरू :-

ए.एस.डी. भएका बिरामीहरुलाई शैक्षिक, व्यवहारिक र मनोवैज्ञानिक दक्षता भएको स्वास्थ्यकर्मीसँग आवद्ध भएर उपचार गरिन्छ । यस्ता थेरापीहरू प्रायः उच्च तवरले संरचित र गहन हुन्छन्, जसमा स्वास्थ्यकर्मीसंगै हेरचाहकर्ताहरू र परिवारका सदस्यहरू संलग्न हुन्छन् । तसर्थ, स्वास्थ्यकर्मी लगायत हेरचाहकर्ताहरू, परिवारका सदस्यहरू र साथीभाइले उचित स्याहार सुसारमा मद्दत गरे ए.एस.डी. भएका व्यक्तिहरुले पनि सामान्य मानिसले झैं सहज तरिकाले जीवनयापन गर्न सक्छन् ।

ए.एस.डी. भएका व्यक्तिहरुलाई माया र सम्मान गरौं, उनीहरुको क्षमतालाई कदर गरौं र राम्रो समाज निर्माण गर्न सहकार्य गरौं ।

 

By रोहिनी वैद्य (Pharmacist)