अटिजम स्पेक्ट्रम डिसअर्डर (ए.एस.डी) एक न्युरोलोजिकल र विकासात्मक विकार हो जसले मानिसहरूसँग कसरी अन्तरक्रिया गर्ने, काम गर्ने, सिक्ने र व्यवहार गर्ने तरिकालाई असर गर्छ । यद्यपि अटिजम कुनै पनि उमेरमा पत्ता लाग्न सक्छ । यसको लक्षणहरू सामान्यतया जीवनको पहिलो २ वर्षमा देखा पर्ने भएकोले यसलाई “विकासात्मक विकार” पनि भनिन्छ ।
मानसिक विकारहरूको निदान र सांख्यिकीय पुस्तिका (DSM-5) अनुसार, ए.एस.डी. भएका मानिसहरूलाई प्रायः अन्य व्यक्तिहरूसँग कुराकानी र अन्तरक्रियामा कठिनाइ हुने, चासो नलिने, स्कूल, काम, र जीवनका अन्य क्षेत्रहरूमा काम गर्ने क्षमतालाई असर गर्ने लक्षणहरू देखिन्छन् । यसमा देखिने लक्षणहरु र गम्भीरता मानिस-मानिसमा भिन्न हुने भएकोले अटिजमलाई “स्पेक्ट्रम“ विकारको रूपमा पनि चिनिन्छ ।
लक्षणहरु :-
ए.एस.डी. भएका सबै व्यक्तिहरूमा प्रमाणित भएको सबै व्यवहारहरू वा लक्षणहरू हुँदैनन्, तर धेरैजसोमा तल सूचीबद्ध गरिएका धेरै लक्षणहरू देखिन्छन् ।
सामाजिक क्रियाकलाप तथा अन्तरक्रियामा समावेश हुन सक्ने लक्षणहरू :-
- आँखाले कम सम्पर्क गर्ने वा असामान्य तरिकाले हेर्ने ।
- बोलिरहेको मानिसहरूलाई नहेर्ने वा नसुन्ने ।
- कहिलेकाहीं मात्र वस्तु वा गतिविधिहरूमा रुचि देखाउने ।
- कुनै पनि किसिमको गतिविधिहरूमा प्रतिक्रिया नदिने ।
- प्रतिक्रिया नदिने वा अन्य मौखिक बोलीहरूमा पनि उत्तर ढिलो दिने ।
- प्रायः मनपर्ने विषयमा अरूलाई चासो नभएपनि कुरा गरिरहने वा अरूलाई प्रतिक्रिया दिने मौका नदिईकन लामो समयसम्म कुरा गर्ने ।
- कुराकानी गर्ने क्रममा भनिएको कुरासँग मेल नखाने गरी अनुहारको हाउभाउ वा चाल देखाउने ।
- असामान्य स्वर निकालेर बोल्ने ।
- अर्को व्यक्तिको दृष्टिकोण बुझ्न समस्या हुने वा अन्य व्यक्तिका कार्यहरू बुझ्न असमर्थ हुने ।
- कल्पनाशील खेल खेल्न र साथी बनाउनमा कठिनाइ हुने ।
- सामाजिक परिस्थितिहरूमा व्यवहार गर्न नसक्ने ।
प्रतिबन्धात्मक/दोहोरिने व्यवहारमा समावेश गरिएको लक्षणहरू :-
- असामान्य व्यवहारहरू गर्ने र केही व्यवहारहरू दोहोर्याउने जस्तैः शब्दहरू वा वाक्यांशहरू दोहोर्याउने जसलाई चिकित्सा विज्ञानमा इकोलालिया (Echolalia) भनिन्छ ।
- विशिष्ट विषयहरूमा जस्तै सङ्ख्याहरू, विवरणहरू वा तथ्यहरूमा तीव्र रूपमा रुचि राख्ने ।
- गतिशील वस्तुहरू वा वस्तुहरूको भागहरूमा अति केन्द्रित भएर रुचि देखाउने ।
- दिनचर्यामा थोरै परिवर्तन हुँदा पनि विचलित हुने ।
- सेन्सरी इनपुट जस्तै प्रकाश, ध्वनि, कपडा, वा तापक्रम आदिबाट अन्य व्यक्तिहरू भन्दा बढी संवेदनशील वा कम संवेदनशील हुने ।
- ए.एस.डी. भएका मानिसहरूमा निन्द्रामा समस्या र चिडचिडापन अनुभव गर्ने ।
यस्ता लक्षणहरुसंगै अटिजम स्पेक्ट्रममा भएका मानिसहरूमा धेरै विशेषताहरू पनि हुन सक्छन्, जसमा :
- विस्तृत रूपमा विशेष चीजहरू बारे रुचि राख्ने र लामो समयसम्म कुनै चीजहरूबारे जानकारी सम्झन सक्षम हुने ।
- स्पष्ट दृश्य र श्रवणशक्ति हुने तथा गणित, विज्ञान, संगीत वा कला आदि विषयमा उत्कृष्ट दक्षता हुने ।
- सुनेर र हेरेर सीप सिक्न सक्ने क्षमता पनि हुन सक्छ ।
कारण र सम्बन्धित कारकहरू :-
अन्वेषक वा विज्ञहरु अनुसार ए.एस.डी. को प्राथमिक कारणहरू पत्ता लागेको छैन, तर विभिन्न अध्ययनहरूले आनुवंशिक र वातावरणका कारणले ए.एस.डी. हुने देखाएको छ । यसका साथै निम्नलिखित अवस्थाहरुमा पनि ए.एस.डी. हुने सम्भावना बढी हुन्छ ।
- दाजुभाई अथवा दिदीबहिनीलाई ए.एस.डी. भएको छ भने ।
- गर्भधारण गर्दा आमाबुवाको उमेर बढी भएमा ।
- परिवारमा आनुवंशिक समस्याहरु जस्तै :- डाउन सिन्ड्रोम वा फ्रेजाइल एक्स सिन्ड्रोम भएमा ।
- धेरै कम तौल भएको शिशु जन्मिएमा ।
ए.एस.डी. पत्ता लगाउने तरिका :-
स्वास्थ्यकर्मीले व्यक्तिको व्यवहार र विकासको मूल्याङ्कन गरेर ए.एस.डी. पत्ता लगाउने गर्छन् । ए.एस.डी. सामान्यतया २ वर्षको उमेरमा सजिलै पत्ता लगाउन सकिन्छ । सकेसम्म ए.एस.डी. चाँडो पत्ता लगाउन सकियो भने उपचार पनि चाँडो सुरु गर्न सकिन्छ ।
साना शिशुहरूमा ए.एस.डी. पत्ता लगाउने तरिका : साना शिशुहरूमा प्रायः दुई चरणको जाँच गरी ए.एस.डी. पत्ता लगाउन सकिन्छ ।
चरण १ :- बच्चाको स्वास्थ्य जाँच गर्दा सामान्य विकासको स्क्रीनिङ गर्ने प्रक्रिया ।
प्रत्येक बच्चालाई बाल रोग विशेषज्ञसँग बच्चाको राम्ररी जाँच गराउनुपर्छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स अनुसार सबै बच्चाहरूको स्वास्थ्य जाँच ९, १८, र २४ वा ३० महिनाहरुमा राम्ररी भएकै हुनुपर्छ र विशेषगरी १८ र २४ महिनामा अटिजम स्क्रीनिङहरू सहित विकास ढिलाइको लागि स्क्रीनिङ सम्बन्धी अन्य जाँच गराउनुपर्छ । माथि उल्लेखित ए.एस.डी.को कारणहरुरुसँग बच्चाको सम्बन्ध देखिएमा ए.एस.डी. सँगै वा विकास सम्बन्धी अतिरिक्त जाँच अनिवार्य रूपमा गराउनु पर्दछ ।
साथै शिशुको हेरचाहमा संलग्न व्यक्ति लगायत विद्यालयको शिक्षकशिक्षिकाको बच्चासँगको अनुभव ए.एस.डी. स्क्रीनिङ प्रक्रियामा महत्वपूणर् भूमिका खेल्दछ । जसमा स्वास्थ्यकर्मीले यी व्यक्तिहरुसँग बच्चाको व्यवहारको बारेमा प्रश्नहरू सोध्न पर्ने हुन्छ र दिएको जवाफलाई ए.एस.डी. स्क्रीनिङको मापदण्ड अनुसार मूल्याङ्कन गर्ने र बच्चाको क्लिनिकल निरीक्षण गर्न निकै जरुरी हुन्छ ।
यदि बच्चाले यो स्क्रीनिङ प्रक्रियाको क्रममा व्यवहार वा कार्यमा विकासात्मक भिन्नता देखाउँछ भने, स्वास्थ्यकर्मीले अतिरिक्त मूल्याङ्कनका लागि बच्चालाई अतिरिक्त जाँच पनि गराउँदछ ।
चरण २ :- ए.एस.डी. पत्ता लगाउने अतिरिक्त मूल्याङ्कन विधिः ए.एस.डी. भएका बच्चाहरूको पहिचान सकेसम्म चाँडो र सही रूपमा गर्न निकै महत्वपूणर् हुन्छ । प्रारम्भिक चरणमा रोगको पहिचान भएमा स्वास्थ्यकर्मीलार्ई कुन सेवाहरू, शैक्षिक कार्यक्रमहरू र व्यवहारिक उपचार पद्धतिहरू बच्चाको लागि सबैभन्दा उपयोगी हुन्छ भन्ने निर्धारण गर्न मद्दत हुन्छ ।
ए.एस.डी. सम्बन्धी राम्रो जानकारी भएको स्वास्थ्यकर्मीको टोली जसमा बाल न्युरोलोजिस्ट, बाल विकास रोग विशेषज्ञ, भाषारोग विशेषज्ञ, बाल मनोवैज्ञानिक र मनोचिकित्सक, शैक्षिक विशेषज्ञहरू र व्यावसायिक चिकित्सकहरू संलग्न भई उपचार पद्धति निर्धारण गर्छन् । साथै तल लिखित मूल्याङ्कन विधिहरुबाट रोग भए नभएको सुनिश्चित गर्छन् ।
- मेडिकल र न्युरोलोजिकल परीक्षणहरू
- बच्चाको संज्ञानात्मक क्षमताहरूको मूल्याङ्कन
- बच्चाको भाषा वा बोल्ने क्षमताको मूल्याङ्कन
- बच्चाको व्यवहारको निरीक्षण
- बच्चाको व्यवहार र विकासको बारेमा बच्चाको हेरचाहकर्ताहरूसँग गहिरो कुराकानी
- उमेर-उपयुक्त दैनिक गतिविधिहरू लगायत स्वतन्त्र रूपमा पूरा गर्नुपर्ने आवश्यक दायित्वहरु जस्तै खाने, लुगा लगाउने र शौचालय जाने आदिको मूल्याङ्कन
ए.एस.डी. एक जटिल विकार हो जुन कहिलेकाहीँ अन्य रोगहरू वा सिकाइको विकारहरूसँग संलग्न हुन सक्छ । तसर्थ, व्यापक मूल्याङ्कन विधिमा रगत र श्रवण परीक्षण पनि समावेश गरिन्छ ।
ठूलो बच्चा लगायत किशोरकिशोरीमा ए.एस.डी. पत्ता लगाउने विधि :-
बच्चा लगायत किशोरकिशोरीहरुले धेरै समय विद्यालय वा कलेज बिताउने हुँदा उनीहरुसँग संलग्न हुने शिक्षकशिक्षिकाहरुसँग प्रारम्भिक रुपमा उनीहरूको बारेमा राम्ररी बुझ्नु पर्दछ । जसमा उनीहरूको क्रियाकलापहरु जस्तैः कसैको स्वर, अनुहारको अभिव्यक्तिको वा हाउभाउ बुझ्न सके नसकेको, साथीहरु बनाउन सक्ने क्षमता लगायत हाँस्य र व्यंग्य बुझ्न सक्ने क्षमता बुझ्नुपर्दछ । त्यसपछि मात्र स्वास्थ्यकर्मीसँग उचित परामर्श गरेर ए.एस.डी. सम्बन्धित जा“च गराउनु पर्दछ ।
वयस्कहरुमा ए.एस.डी. पत्ता लगाउने विधि :-
वयस्कमा ए.एस.डी. पत्ता लगाउन बच्चाहरूको तुलनामा धेरै गाह्रो हुन्छ । वयस्कहरूमा, ए.एस.डी.का केही लक्षणहरू अन्य मानसिक स्वास्थ्य विकारहरूको लक्षणहरूसँग मिल्दोजुल्दो पनि हुनसक्छ । तसर्थ, ए.एस.डी.को लक्षण देखिएका वयस्कहरुले न्यूरोसाइकोलोजिस्ट, मनोवैज्ञानिक वा मनोचिकित्सकलाई तुरुन्तै सम्पर्क गरी चेकजाँच गराउनु पर्दछ । शिशुहरुमाझैँ वयस्कहरूमा पनि उनीहरूको हेरचाहमा संलग्न व्यक्ति लगायत परिवारको सदस्यहरूसँग गतिविधिहरुबारे राम्ररी बुझ्नु पर्दछ । जसमा अनिवार्यरुपमा उनीहरुले गर्ने सामाजिक अन्तरक्रिया, कुराकानी गर्ने शैली, दोहोर्याउने व्यवहारहरू र सेन्सरी प्रतिक्रियाहरु पर्दछन् ।
उपचार :-
ए.एस.डी. पत्ता लाग्ने बित्तिकै सकेसम्म चाँडो उपचार सुरु गर्नुपर्छ । उचित हेरचाह र सेवाहरूले बिरामीकोे कठिनाईहरूलाई कम गर्ने र नयाँ सीपहरू सिक्न मद्दत पुग्ने भएकोले ए.एस.डी.को प्रारम्भिक उपचार निकै महङ्खवपूणर् रहन्छ । यसबाट पीडित मानिसहरूले विभिन्न समस्याहरूको सामना गर्छन् र साथै कुनै पनि एकल उत्तम उपचार नभएकै कारणले गर्दा स्वास्थ्यकर्मीसँग उचित सर-सल्लाह गरेर उपचार र सेवाहरूको सही संयोजन गरेमा मात्र उत्कृष्ट उपचार गर्न सकिन्छ ।
मेडीकेशन र थेरापी :-
लक्षणको आधारमा स्वास्थ्यकर्मीले विशेष किसिमको औषधि उपचार गर्ने गर्छन् । जसले गर्दा बिरामीहरुमा चिडचिडापन, आक्रामकता, दोहोरिने व्यवहार, अति सक्रिय हुने, चिन्तित हुने, ध्यान नदिने लगायत डिप्रेसनको समस्याहरू कम हुने गर्दछ ।
व्यवहारिक, मनोवैज्ञानिक र शैक्षिक थेरापीहरू :-
ए.एस.डी. भएका बिरामीहरुलाई शैक्षिक, व्यवहारिक र मनोवैज्ञानिक दक्षता भएको स्वास्थ्यकर्मीसँग आवद्ध भएर उपचार गरिन्छ । यस्ता थेरापीहरू प्रायः उच्च तवरले संरचित र गहन हुन्छन्, जसमा स्वास्थ्यकर्मीसंगै हेरचाहकर्ताहरू र परिवारका सदस्यहरू संलग्न हुन्छन् । तसर्थ, स्वास्थ्यकर्मी लगायत हेरचाहकर्ताहरू, परिवारका सदस्यहरू र साथीभाइले उचित स्याहार सुसारमा मद्दत गरे ए.एस.डी. भएका व्यक्तिहरुले पनि सामान्य मानिसले झैं सहज तरिकाले जीवनयापन गर्न सक्छन् ।
ए.एस.डी. भएका व्यक्तिहरुलाई माया र सम्मान गरौं, उनीहरुको क्षमतालाई कदर गरौं र राम्रो समाज निर्माण गर्न सहकार्य गरौं ।
By रोहिनी वैद्य (Pharmacist)