आइ. भि. एफ. विधि के हो ?
सामान्यतया केटी मान्छेमा महिनावारीको बीचको समयमा एउटा अण्डा बन्छ । त्यो अण्डा डिम्बाशयबाट निस्किएर ट्युबमा जान्छ । त्यही बेला यौनसम्पर्क हुँदा योनीबाट वीर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ । यसरी ट्युबमा बनेको पछि आएर पाठेघरमा बस्छ । बच्चा बन्ने यो एउटा सामान्य प्रक्रिया हो ।
यदि कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर वीर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइ.भि.एफ. विधि प्रयोग गरिन्छ । बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई आइ.भि.एफ. (इनभिट्रो फर्टिलाइजेशन) पद्धति भनिन्छ । सामान्य भाषामा यसलाई टेष्टट्यूव बेबी भनिन्छ ।
सुरूवाती समयमा कृत्रिम तरिकाले गर्भाधारण गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले यसलाई टेस्टट्युब बेबी भनिएको हो ।
महिलाको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको, अन्य कुनै महिलाको अण्डा लिनुपर्ने भए वा पुरुषको वीर्यमा कुनै खराबी देखियो भने अण्डा र वीर्य झिकेर संयोजन गराइन्छ । यसरी लिइएको अण्डा र वीर्य प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा ३ देखि ५ दिनसम्म राखिन्छ । त्यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने क्रिया नै आइ.भि.एफ. पद्धति हो ।
आइ. भि. एफ. किन गर्ने ?
महिलाको अण्डा वा पुरुषको वीर्य बन्ने प्रक्रिया नभए वा खराबी भए, त्यसको परिपूर्ति अर्को व्यक्तिबाट गर्नुपर्ने हुन्छ । यसरी लिइएका अण्डा र वीर्य इन्कुबेटरमा ३ देखि ५ दिन राखेर भ्रुण विकास गरिन्छ । ट्युबमा विकसित भ्रुणलाई उपकरणमार्फत पाठेघरमा पठाएर गर्भधारण गराइन्छ । यो आइ.भि.एफ प्रविधि निसन्तान वा बाँझोपनको सफल समाधान बनेको छ ।
अण्डाशयमा अण्डा नबन्ने अथवा साना–साना डिम्ब बने पनि नबढ्ने, पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा, पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो भएमा, हर्मोनमा गडबडी, पाठेघरको झिल्लीमा मासु बढ्नु, गर्भाशयको मुख ज्यादै सानो हुनु जस्ता अवस्थाले बच्चा नभएमा आइ.भि.एफ विधिको सहायता लिइन्छ ।
आइ.भि.एफ विधिमामा पुरुषको शुक्रकीटलाई सफा गरेर त्यसलाई स्वस्थ बनाएर राखिन्छ, त्यस सँगसँगै अण्डा कम बन्ने महिललाहरुलाई अण्डा उत्पादन गर्न सक्ने हर्मोनहरु औषधीहरू राखिन्छ र अण्डाको विकास गरिन्छ । त्यसरी विकास भएको महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा शुक्रकीटसँग मिलाएर भ्रुण विकास गराएपछि महिलाकै पाठेघरमा प्रत्यारोपण गरेर पाठेघरभित्रै बच्चा गर्भधारण गराइन्छ ।
सुरुवात मै सबैलाई आइ.भि.एफ गर्न सल्लाह दिँदैनौँ यसका विभिन्न चरणहरू हुन्छन् । पुरुष अथवा महिलाको अवस्था कस्तो छ ? सामान्यतया एक – दुई वर्ष प्राकृतिक रूपमै प्रयास गर्दा पनि नभएपछि कहिलेकाहीँ सामान्य औषधीहरूको सेवन गर्दा पनि गर्भधारण हुन सक्छ ।
जस्तै महिलाहरूको महिनावारी गड्बडी हुने साथै अन्य साधारण समस्याहरूको लागि सामान्य औषधी सेवन गर्दा पनि हुन्छ । त्यस्तै कहिलेकाहीँ पुरुषको शुक्रकीट न्यून हुने गर्छ त्यस्तो बेलामा शुक्रकीट सफा गरेर पनि महिलाको पाठेघरमा राखिन्छ, यो प्रविधिलाई आई.यु.आई भनिन्छ ।
त्यसपछि महिलाहरूको पाठेघरको समस्या, नलीहरू बिग्रेको अवस्थामा आइ.भि.एफ गछौँ । बाँझोपन हुने धेरै कारण हुन्छन् । कुन कारणले बाँझोपन भएको हो भन्ने पत्ता लागेन भने आइ.भि.एफ असफल पनि हुनसक्छ । आइ.भि.एफ गरेका महिलाहरूलाई उच्च निगरानीमा राखिन्छ । अन्य समस्या आउन नदिन धेरै ख्याल गर्नुपर्छ ।
आइ.भि.एफ गरेका महिलाहरूलाई हामी शल्यक्रियाबाट नै बच्चा जन्माउन सल्लाह दिन्छौं । किनकी प्राकृतिक तरिकाले गर्दा अलि असहज पनि हुन सक्छ । आइ.भि.एफ बाट जन्मेको बच्चा र प्राकृतिक रूपमा जन्मेको बच्चामा केही फरक पनि हुँदैन ।
आइ.भि.एफ.पद्धतिका चरणहरू :-
यसका मुख्य तीनवटा प्रक्रिया हुन्छन् ।
- पहिलो, पूर्वतयारी अवस्था ।
- दोश्रो, महिलाको अण्डा बाहिर झिक्ने ।
- तेश्रो, बाहिरी रूपमा विकासित भ्रुणलाई उपकरणमार्फत् पाठेघरमा पठाउने ।
पूर्वतयारी अवस्थामा निःसन्तान दम्पत्तिको बाँझोपनसम्बन्धी अवस्थाको विस्तृत पहिचान गरिन्छ । चिकित्सकीय माध्यमबाट श्रीमानश्रीमतीको सम्पूर्ण जाँच गरिन्छ । जसअन्तर्गत श्रीमान् र श्रीमतीको कुन–कुन कुरामा समस्या वा खराबी छ, के कारणले सन्तान हुन नसकेको हो भन्नेबारे सुक्ष्म अध्ययन र अनुसन्धान गरिन्छ ।
सामान्यतः महिलाको पाठेघरको सुरूवाती अवस्थालाई विस्तृत अध्ययन गरी तयारी गरिन्छ । त्यसपछि महिनावारी हुनेवित्तिकै सुई लगाइन्छ र उसको डिम्बाशयलाई हर्मोनको माध्यमबाट विस्तार गरेर धेरै अण्डा बनाइन्छ ।
जब डिम्बाशयमा अण्डा परिपक्व हुन्छ, एउटा सुई दिएर ३४–३५ घण्टापछि अण्डा बाहिर निकालिन्छ । यो प्रक्रिया शल्यक्रियामार्फत् हुन्छ । यसरी झिकिएको अण्डालाई इन्कुबेटर उपकरणमा वीर्यसँग उपयुक्त वातावरणमा संयोजन गराई प्रयोगशालामा राखिन्छ । त्यसपछि त्यहीँ भ्रुण विकास हुन्छ ।
यदि वीर्यको मात्रा कम छ वा कुनै खराबी भए एउटा मात्र वीर्य डिम्बाशयमा छिराएर भ्रुण विकास गर्नुपर्छ । इन्कुबेटरबाट पाठेघरमा राखिन्छ । बिरामीलाई आवश्यक औषधी दिएर १४ दिनमा अस्पताल बोलाइन्छ र त्यसपछि गर्भाधारण अवस्थाबारे जाँच गरिन्छ । विश्वव्यापी रुपमा आइ.भि.एफ विधिको सफलता ४५ देखि ५० प्रतिशत रहेको मानिन्छ ।
सामान्यतया, पहिलो चरणको प्रक्रियामा पाँच वटाभन्दा बढी भ्रुण बनाइन्छ । महिलाको अवस्था हेरर एक वा दुई वटा भ्रुण पाठेघरमा हाल्ने गरिएको छ । बाँकी भ्रुण सुरक्षित राखिन्छ । यदि पहिलोपटक सफल नभए, अर्कोपटक बाँकी रहेकाबाट पुनः पाठेघरमा हालिन्छ ।
दोस्रो पटक पाठेघरमा भ्रुण हाल्दा सुरूको प्रक्रियामा जानुपर्दैन । प्रयोगशालामा राखिएको भ्रुण राख्ने मात्र हो । अहिलेसम्मको नतिजा हेर्दा यसरी सुरक्षित भ्रुण राख्दा पहिलेकोभन्दा प्रभावकारी नतिजा आएको छ ।
दम्पत्तिले एक वर्षसम्म परिवारनियोजनका कुनै साधन प्रयोग नगरिकन नियमति यौनसम्पर्क गर्दा पनि बच्चा बसेन भने त्यसलाई बाँझोपन भनिन्छ । त्यो अवस्थामा ट्युब, डिम्बाशय, हार्मोन या पुरुषमा केही खराबी छ कि भनेर हामी पत्ता लगाउँछौं । त्यसपछि मात्रै बिरामीको उपचार सुरू हुन्छ ।
आइ.भि.एफ बारे धेरैको कम बुझाइ रहेको पाइन्छ । आइ.भि.एफ गरेर बच्चा जन्माएको भन्ने कसैलाई थाहा नहोस् भन्नेहरू पनि हुन्छन् । कतिपयले यसरी जन्मिने बच्चा नियमित प्रक्रियाबाट जन्मिनेभन्दा फरक हो भन्ने गलत धारणा पनि बनाएको पाइन्छ ।
आइ.भि.एफ पद्धतिबाट जन्मने बच्चा सामान्य हुन् । जुन प्रक्रियाले पाठेघरभित्र बच्चा बन्छ त्यही प्रक्रिया प्रयोगशालामा गरिएको मात्र हो । नेपालमा यसको प्रयोगबारे विस्तारै सचेतना फैलिँदैछ ।
यदि महिलाको डिम्बाशयमा अण्डा छैन वा उसको उमेर ४०–४५ भइसक्यो भने सामान्य प्रक्रियाबाट आमा बन्न सक्ने सम्भावना धेरै कम हुन्छ । यस्तो अवस्थामा अरू महिलाको अण्डा र महिलाको श्रीमान्को वीर्य मिलाएर पाठेघरमा राखिन्छ ।
वीर्य पनि अज्ञात दाताबाट लिन मिल्छ । सायद यही कारणले मानिसमा गलत धारणा परेको हुनसक्छ । तर जसले बच्चा जन्माउँछ, त्यो बच्चा उसकै हो ।
यो प्रक्रियाबाट बच्चा जन्माउँदा महिलालाई पूर्णरुपमा आराम लिएर सुत्नुपर्छ, कामै गर्न सकिँदैन, औषधी मात्रै खानुपर्छ भन्ने गलत बुझाइ छ । तर यो पूरा सही होइन । सुरूवाती समयमा आराम गर्न परे पनि बेड रेस्ट नै भन्ने होइन ।
सामान्य गर्भवतीलाई एक–एक महिनामा अस्पताल बोलाए जस्तै आइ.भि.एफ गरेकालाई पनि बोलाइन्छ । त्यस्तै सामान्य टिटनास खोप, आइरन, क्याल्सियम र आवश्यकता अनुसारको औषधि दिइन्छ । सुत्केरी पनि सामान्य प्रक्रियाबाटै हुन्छ ।
भ्रुण प्रत्यारोपण पछि गर्न हुने कार्यहरू :-
- भ्रुण प्रत्यारोपणपछि केही घण्टा (कम्तिमा दुई घण्टा) अस्पतालमा नै आराम गर्नुपर्छ ।
- प्रोजिष्टेरोन हर्मोन लिनुपर्छ ।
- आफ्नो खानामा बदाम, गेडागुडी, भटमास, फलफुल, जमिन मुनी फल्ने फलहरु सखरखण्ड र तरुल, दूध, अण्डा, नफलेको वा बोक्रा नछुट्याइएको अन्न, प्रशस्त कार्बोहाइड्रेट भएको, प्रोटिन भएको, जिङ्क भएका शक्तिवद्र्धक र पोषिला खानेकुराहरु समावेश गर्नुपर्छ ।
- काजु, बदाम, ओखर, किसमिस, अन्जिर, छोकडा, नरिवल लगायतका ड्राइ फ्रुट (सुकाएको फलफुल) र हरियो सागसब्जी र स्याउ, सुन्तला, केरा, अनार, एभोकाडो, चुकन्दर, विभिन्न फलका रस र दलिया प्रशस्त खानुपर्छ ।
- प्रशस्त निन्द्रा र आराम चाहिने भएकाले त्यसकालागि काममा धेरै व्यस्त नरहेर आराम गर्नुपर्छ ।
- कोशिकाहरुको विकासमा हामीले पिउने पानीको अहम भूमिका रहने भएकोले प्रशस्त पानी पिउनुपर्छ । साथै कब्जियत हुन नदिन प्रशस्त मनतातो पानी पिउनुपर्छ ।
- शरीर र मनलाई शान्त राख्ने किसिमका उपयुक्त ध्यान, योगासन तथा प्राणायाम सिकेर नियमित व्यायाम गर्नुपर्छ ।
- डाक्टरले प्रि न्याटल (गर्भावस्थापूर्वको अवस्थामा) लेखी दिनुभएका भिटामिनहरु, पोषक तत्वहरु तथा फोलिक एसिड नियमित रुपमा सेवन गरिराख्नुपर्छ । यी तत्वहरु तपाईंको गर्भमा हुर्कदै गरेको भ्रुणको स्नायू विकासलागि अति महत्वपूर्ण भूमिका खेल्छ ।
- सडकमा गाडीमा यात्रा गर्नुभन्दा हवाइजहाजमा उडेर यात्रा गर्नु तुलनात्मक रुपमा उपयुक्त हुन्छ । भ्रुण प्रत्यारोपण गरेको दिन पूरा आराम गरेर भोलिपल्ट अर्थात् ४८ घण्टापछि प्लेनमा उडेर घर फर्कनु उपयुक्त हुन्छ । प्रत्यारोपण गरेलगत्तैको २४ घण्टा पूरा आराम गर्ने र बढी हलचल नगरी बस्नु अनिवार्य छ ।
भ्रुण प्रत्यारोपण पछि गर्न नहुने कार्यहरू :-
- सम्भोग गर्नु हुँदैन ।
- तातो पानीले नुहाउनु हुँदैन ।
- एरोविक्स र स्वीमिङ जस्ता कडा किसिमका व्यायामहरु गर्नु हुँदैन ।
- धुम्रपान गर्ने गरेको भए त्याग्नुपर्छ ।
- जाँड रक्सी लगायतका मद्यपान र लागू औषध सेवन गर्ने गरेको भए त्यसलाई त्याग्नुपर्छ ।
- प्रशोधित खानेकुरा, टुना फिस, गालेको अचार र १२ घण्टा भन्दा अघि तयार गरेका (बासी) खानेकुरा खानु हुँदैन ।
- मेवा, एलोभेरा जुस, आरु, लिची, तीते करेला, चिप्ले किरा खानु हुँदैन ।
- चिया, कफी र कोल्ड ड्रिंक्स लगायतका पेटमा ग्यास उत्पन्न गर्ने खाद्य तथा पेय पदार्थहरु पिउनु हुँदैन । पुदिना र ग्रिन टि ले संकुचन पैदा गर्ने हुनाले पिउनु हुँदैन ।
- पशुजन्य चिल्लो पदार्थहरु घ्यु, चिज जस्ता खाद्य पदार्थ खानु हुँदैन । पानीमा हुने जीवहरु कस्तुरी, झिंगे माछा, गङ्गटो, रातो मासु, काँचो तरकारी र सलाद, काँचो अण्डा, प्रशोधित चिनी, स्याकरिन जस्ता कृत्रिम गुलियो बनाउने खाद्य पदार्थ खानु हुँदैन ।
- काँचो सलाद र तरकारी खानु हुँदैन ।
- केमिकल रियाक्सन र विभिन्न जीवाणुको संक्रमणको खतरा रहने भएकाले सार्वजनिक स्वीमिङ पुल र साउना प्रयोग गर्नु हुँदैन ।
- हाल बजारमा पाइने माछामा मर्करीको मात्रा उच्च पाइने गरेकाले माछा खानु हुँदैन ।
- गह्रुङ्गा र भारी अनि धेरै तौल भएका सामानहरु उचाल्नु हुँदैन ।