दन्त स्वास्थ्य

हाम्रो शरीरका विभिन्न अङ्गहरु मध्ये दाँत पनि एक महत्वपूर्ण अङ्ग हो । दाँतले हाम्रो दैनिक गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ, जस्तैः खाना खाँदा, बोल्दा, हाँस्दा तर हामीले दाँतको स्वास्थ्यलाई त्यति धेरै ध्यान दिइरहेका हुदैनौँ । हामीले राम्रो दन्त स्वास्थ्य कायम गर्नाले दाँतको समस्याहरू जस्तैः दाँतमा कीरा लाग्ने, दाँत टुक्रिने, गिजामा रोग लाग्ने र सास गनाउने जस्ता समस्याहरूलाई रोक्न सकिन्छ । दाँतको स्वास्थ्य बाहिरी सुन्दरताको लागि मात्र नभएर प्रणालिगत स्वास्थ्यसँग पनि सम्बन्धित छ । कमजोर दन्त स्वास्थ्य विशेषगरी श्वास-प्रश्वास, मधुमेह र हृदयरोग जस्ता अवस्थासँग सम्बन्धित हुन्छन् । त्यसैले, समग्र स्वास्थ्यको लागि दन्त स्वास्थ्यलाई प्राथमिकतामा राख्नु धेरै महत्वपूर्ण हुन्छ ।

दाँतलाई स्वस्थ राख्ने केही उपायहरू तल उल्लेख गरिएका छन् :-
उचित टुथब्रश प्रयोग गर्नुपर्दछ :-

बजारमा धेरै किसिमको ब्रिसल (ब्रशको रेसा) भएका दुथब्रश पाइन्छन् जस्तै :-

(१) कडा ब्रिसल भएको टुथब्रश

(२) नरम ब्रिसल भएको टुथब्रश

कडा ब्रिसल भएको टुथब्रश प्रयोग गर्दा गिजामा क्षति पुग्नुको साथै दाँतको इनामेल (दाँतको सुरक्षात्मक बाहिरी सेतो भाग) पातलो बनाउने समस्या देखा पर्दछ । त्यसैले दन्त चिकित्सकहरुले प्रायः नरम ब्रिसल भएको टुथब्रश सिफारिस गर्ने गरेको पाइन्छ ।

फ्लोराइड भएको दन्तमञ्जन प्रयोग गर्नुपर्दछ :-

फ्लोराइडले दाँतको इनामेललाई पातलो हुनबाट बचाउनुका साथै फ्लोराइडले मुखमा रहेको ब्याक्टेरियाहरूको एसिड उत्पादन गर्ने क्षमतालाई पनि घटाउँछ । त्यसैले, सामान्य दन्तमञ्जन भन्दा फ्लोराइड भएको दन्तमञ्जन प्रयोग गर्दा फाइदाजनक हुन्छ ।

उचित समयसम्म दाँत ब्रश गर्नुपर्दछ :-

हामीले हरेक दिन बिहान कम्तिमा दुई मिनेट सम्म ब्रश गर्नाले दाँतहरूमा लागेको स्टेन/दागहरूलाई हटाउनुको साथै व्याक्टेरियाहरुलाई हटाउन पनि मद्दत गर्दछ । छिटोछिटो हत्तारिएर ब्रश गर्दा पछाडिको दाँतहरू सफा हुनबाट छुट्न सक्छन्, जसले हानिकारक ब्याक्टेरियाको लागि ठाउँ प्रदान गरी थप गम्भीर समस्या देखिन सक्छ ।

४५-डिग्री कोणमा ब्रश गर्नुपर्दछ :-

टुथब्रश गर्दा गिजासँग ४५ डिग्री कोण बनाई ब्रशिङ गर्दा दाँतहरूको बीचको खाली भागमा ब्रशको रेसाहरु पुग्छ र ब्याक्टेरियालाई हटाउन मद्दत गर्दछ ।

नियमित रूपमा टुथब्रश फेर्नुपर्दछ :-

लामो समयसम्म एउटै टुथब्रश प्रयोग गर्दा त्यही टुथब्रशमा ब्याक्टेरिया र भाइरस जम्मा भई दाँतको समस्या देखा पर्नुको साथै सास गन्हाउने समस्या निम्त्याउन सक्छ । त्यसैले प्रत्येक ३ महिनामा टुथब्रश परिवर्तन गर्न जरुरी छ ।

माउथवास र डेन्टल फ्लस प्रयोग गर्नुपर्दछ :-

जिब्रोको तलको भाग र दाँतहरू बिचको भाग जहाँ टुथब्रश पुग्न सक्दैन, त्यहाँ ब्याक्टेरियाहरुको बृद्धिबाट बचाउन दिन-प्रतिदिन माउथवास र डेन्टल फ्लसहरू प्रयोग गर्न सकिन्छ । साथै, माउथवासको प्रयोगले गिजाको रोग – जिन्जिभाइटिस र मुखको अल्सरहरुसँग लड्न पनि मद्दत गर्दछ ।

नियमित दाँतहरूको चेक-जाँच गर्नु सँग-सँगै दाँतहरुलाई स्वस्थ राख्नका लागि खानपिनमा पनि ध्यान दिन जरुरी छ । निश्चित खानेकुराहरूको सेवन कम गर्दा, दांतलाई स्वस्थ राख्न टेवा पुग्दछ, जस्तै :-

चिनी भएका खानेकुराहरु :-

मुखभित्र दुई किसिमका ब्याक्टेरियाहरू पाइन्छन्ः फाइदाजनक ब्याक्टेरिया र हानिकारक ब्याक्टेरिया । हानिकारक ब्याक्टेरियाले विशेषगरी चिनीयुक्त खानेकुराहरु जस्तैः मिठाई, केक, कुकीज, चिनी मिश्रित पेय पदार्थ आदि, उपभोग गरी एसिड उत्पन्न गर्दछ । सोही एसिडले दाँतको इनामेललाई पातलो बनाइदिन्छ । लामो समय सम्म यस्ता चिनी युक्त खानेकुराहरु खाँदै जादाँ दाँतको इनामेलमा लगातार रूपमा प्रभाव पर्दछ र दाँत प्वाल पर्ने, किरा लाग्ने सम्भावना बढ्दै जान्छ ।

एसिडिक खानेकुराहरु :-

एसिडिक खानेकुराहरु जस्तैः कागती, सुन्तला, गोलभेडा, अचार, कार्बनेटेड पेयपदार्थहरूले दाँतको इनामेललाई पातलो बनाउँछ र दाँतलाई कमजोर बनाइदिन्छ । साथै, एसिडिक खानेकुराको निरन्तर प्रयोगले दाँतको संवेदनशीलता बढाउने र दाँत प्वाल पर्ने जस्ता समस्या देखा पर्दछ ।

मदिरा :-

स्यालीभाको धेरै फाइदाहरू पनि छन् । जस्तैः स्यालीभामा क्यालसियम र फोस्फेट जस्ता खनिजहरू हुन्छन् जसले दाँतको इनामेललाई बलियो बनाउँछ । साथै, स्यालीभामा प्रोटिन र एन्टीबडीहरू हुन्छन् जसले हानिकारक ब्याक्टेरियाको विकासलाई नियन्त्रण गर्दछ । तसर्थ, बढी मात्रामा मदिरा सेवन गर्दा र्‍याल वा स्यालीभा (Saliva) को उत्पादन कम हुन गई, मुख सुख्खा हुने समस्या देखिन्छ ।

कफी र चिया :-

कफी र चिया, विशेषगरी नियमित रूपमा सेवन गरिएमा कफी र चियामा पाइने “ट्यानिन” नामक पदार्थले दाँतहरुलाई पहेंलो बनाइदिन्छ ।

सुर्तीजन्य पदार्थ :-

सुर्तीजन्य पदार्थमा पाइने निकोटिनले दाँतलाई पहेंलो/खैरो बनाइदिन्छ । यसका साथै सुर्ती चपाउँदा गिजा पोल्ने र सुन्निने समस्या देखिन्छ । निरन्तर सुर्तीको प्रयोगले गिजा खुकुलो बन्दै जान्छ र दाँतको जरा बाहिरी वातावरणसँग सम्पर्कमा आउँछ, जसले गर्दा दाँतको संवेदनशीलता बढ्दै जान्छ ।

दाँतहरूमा माथि उल्लेखित खानेकुराहरुको प्रभावहरूलाई कम गर्न, के गर्नुपर्छ ?

सर्वप्रथम यी खानेकुराको सेवन कम गर्ने र निम्न लिखित उपायहरु अपनाउने ।

मुख कुल्ला गर्ने :-

चिनीयुक्त खानेकुरा, एसिडिक खानेकुरा, कफी, चिया सेवन गरेपछि सफा पानीले मुख कुल्ला मात्र गर्दा पनि यी खानेकुराको कारणले दाँतमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ ।

स्ट्र वा पाइप प्रयोग गर्ने :-

विशेषगरी एसिडिक पेय पदार्थहरू सेवन गर्दा स्ट्र वा पाइप प्रयोग गर्‍यो भने, दाँतहरूसँग यी पेय पदार्थहरूको सीधा सम्पर्क कम हुने भएकोले प्रभाव कम पर्न जान्छ ।

चिनी रहित गम चपाउने :-

चिनी रहित गम चपाउँदा मुखमा स्यालीभाको उत्पादन बढ्न जान्छ जसले दाँतको इनामेललाई बलियो बनाउनुको साथै हानिकारक ब्याक्टेरियाको बृद्धिलाई नियन्त्रण गर्छ । तसर्थ, यसको प्रयोग विशेषगरी सुर्तीको अधिकतम प्रयोगले मुख सुख्खा बनाउने समस्यामा प्रयोग गर्दा उपयुक्त हुन्छ । यी माथि उल्लेखित कुराहरुलाई ध्यानाकर्षण गर्दै दैनिक गतिविधिमा लागु गर्न सकियो भने, दाँतमा पर्न सक्ने नकारात्मक प्रभावबाट बच्न सकिन्छ ।

दाँतको स्वास्थ्यलाई प्राथमिकता दिनु भनेको उज्यालो मुस्कान कायम राख्नु मात्र होइन, यस्ले हाम्रो समग्र स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्दछ । नियमित दन्त जाँचहरु गरेर र राम्रो मौखिक स्वच्छता कायम गरेर, हामीले स्वस्थ र उज्यालो मुस्कान सुनिश्चित गर्न सक्छौँ । एउटा पुरानो भनाई छ “रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो”। यो भनाई विशेषगरी दन्त स्वास्थ्यमा निकै नै मेल खान जान्छ । तसर्थ, दन्त स्वास्थ्यलाई प्राथमिकतामा राख्नु नै दन्त समस्याबाट बच्ने उत्तम उपाय हो ।

 

By मनिका पराजुली (Pharmacist)