डण्डिफोर (Acne vulgaris)

डण्डिफोर भनेको के हो ?

साधारणतया अनुहार तथा ढाडमा आउने सानो-सानो बिबिराहरूलाई डण्डिफोर भनिन्छ । सर्वप्रथम त, हाम्रो छालामा शीबम (sebum) निकाल्ने ग्रन्थी हुन्छ, जसलाई शीबेसियस ग्ल्याण्ड (sebaceous gland) भनिन्छ । यो ग्रन्थी कपालको फेदसँग जोडिएको हुन्छ । डण्डिफोर भनेको यही शीबेसियस ग्रन्थीको रोग हो । २५ वर्षभन्दा सानो उमेरमा डण्डिफोर नितान्त प्राकृतिक हुन्छ । तर अहिलेको सन्दर्भमा विभिन्न वातावरणीय असरले गर्दा २५ वर्ष नागिसकेकाहरूमा पनि यो समस्या बढिरहेको छ ।

डण्डिफोर किन आउँछ ?

योवन अवस्थामा हर्मोनल परिवर्तनको कारण शीबेसियस ग्रन्थी बढी सक्रिय हुने गर्छ र विभिन्न कारणवश छालाको प्वाल अवरुद्ध भए पश्चात् ग्रन्थीले उत्पादन गरेको शीबम छाला भित्र नै थुनिन्छ र छालामा सानो बिबिरा जस्तो देखिन्छ । यस्ता बिबिरालाई Non-Inflammatory Acne भनिन्छ जसलाई सेतो मुखे बिबिरा (Whitehead) को नाम दिइएको छ । सेतो मुखे बिबिरा जब अलिकति खुल्छ, वातावरणको सम्पर्कमा आए पश्चात् अक्सिडाइज हुन्छ र शीबम कालो रङ्मा रूपान्तरण हुन्छ । यसलाई चाहिँ कालो मुखे बिबिरा (Blackhead) भनिन्छ । यो सेतो मुखे बिबिराको समस्यामा छालाभित्र Propionibacterium acne भन्ने व्याक्टेरियाले आफ्नो वृद्धिको लागि सहज वातावरण पाइसकेपछि गम्भीर डण्डिफोरको रूप लिन्छ जसलाई Inflammatory Acne भनिन्छ ।

डण्डिफोरको प्रकारहरु :-

डण्डिफोरलाई चार प्रकारको ग्रेडमा विभाजन गरिएको छ र यी चारै ग्रेडको उपचार गर्न जरुरी हुन्छ ।

ग्रेड-१ (Acne Grade-I)

यो प्रकारको डण्डिफोरमा सेतो मुखे बिबिरा तथा कालो मुखे बिबिरा धेरै देखिन्छ र स-साना रातो बिबिरा (papules) पनि केही हदसम्म देखिन्छ ।

ग्रेड-२ (Acne Grade-II)

यो प्रकारको डण्डिफोरमा स-साना रातो बिबिरा (papules) धेरै देखिन्छ र कम मात्रामा पिप फोका (pustules)

पनि देखिन्छ ।

ग्रेड-३ (Acne Grade-III)

यो प्रकारको डण्डिफोरमा पिप फोका (pustules) धेरै देखिन्छ र कम मात्रामा ठूला-ठूला गिर्खा (nodules) पनि देखिन्छ ।

ग्रेड-४ (Acne Grade-IV)

यो प्रकारको डण्डिफोरमा ठूला-ठूला गिर्खा (nodules) धेरै देखिन्छ ।

डण्डिफोरको उपचार :-

डण्डिफोरको उपचार गर्नु भन्दा अगाडि हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ, जस्तै :-

  • डण्डिफोर कतिको गम्भीर छ ?
  • डण्डिफोर अनुहारमा मात्र आएको छ कि शरीरको अरु भागमा पनि आएको छ ?
  • बिरामीलाई हर्मोनको कुनै समस्या छ कि छैन ?
  • कुनै औषधिको नकरात्मक असरको कारण डण्डिफोर आएको हो कि ?

सामान्यतया डण्डिफोरको औषधि विशेषगरी topical (लगाउने) र oral (खाने) गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । यी औषधिले तीन तरिकाले काम गर्दछन् :-

  • छालामा अवरुद्ध भएको प्वाल (pores) लाई पुनः खोल्नेः यो तरिकाले काम गर्ने औषधिमा छालामा लगाउने topical Retinoid, Salicylic Acid आदि पर्दछन् ।
  • शीबेसियस ग्रन्थीबाट शीबमको उत्पादनलाई कम गराउनेः यो तरिकाले काम गर्ने औषधिहरूमा छालामा लगाउने/खाने Retinoid, Benzoyl Peroxide आदि पर्दछन् ।
  • डण्डिफोर गराउने व्याक्टेरियालाई मार्नेः यसमा चाहिँ विभिन्न एन्टिबायोटिक जस्तै, लगाउने औषधिमा प्रायः Clindamycin र खाने औषधिमा प्रायः Azithromycin, Doxycycline आदि पर्दछन् ।

डण्डिफोरको उपचार पद्धति हरेक ग्रेडिङ्गको भिन्न हुने गर्छ । उपचारको क्रममा प्रमुख ध्यान दिनुपर्ने कुरा भनेको लगाउने एन्टिबायोटिक एक्लै मोनोथेरापीको रूपमा प्रयोग गर्दा प्रतिरोध विकास हुने प्रबल सम्भावना भएको हुँदा जहिले पनि अरु औषधिसँग मिलाएर मात्र प्रयोग गर्नुपर्छ ।

डण्डिफोरले छोड्ने दाग (Acne Scar)

डण्डिफोर निचोर्ने बानीले गर्दा यसले छोड्ने दागको समस्या पनि बढिरहेको छ । वास्तवमा डण्डिफोरको उपचारभन्दा यसबाट बस्ने दागको उपचार गर्न बढी गाह्रो पनि हुन्छ र महंगो पनि पर्न जान्छ । डण्डिफोरको कारण सामान्यतया दुई थरीको दाग बस्दछ ।

ऐट्रोफिक स्कार (Atrophic Scar)

यो खुम्चिएको खालको स्कार हो जुन छालामा खाल्डो-खाल्डो जस्तो परेको हुन्छ, जसले छालाको स्वरूप नै परिवर्तन गर्दछ ।

कालो अथवा रातो दाग (Post Inflammatory Hyperpigmentation/Erythema)

यस प्रकारको दागमा छालाको रङ्ग परिवर्तन भएको हुन्छ जसमा कालो/खैरो रङ्गको (Post Inflammatory Hyperpigmentation-PIH) अथवा रातो रङ्गको (Post Inflammatory Erythema-PIE) दाग बस्दछ । विशेषगरी PIH कालो छाला हुनेहरूमा बढी देखिन्छ भने PIE गोरो मान्छेहरूमा देखिन सक्छ ।

हाम्रो छालाको रङ्ग दिने तत्वलाई melanin भनिन्छ । डण्डिफोरमा हुने जलनले गर्दा छालामा melanin बढी उत्पादन हुन्छ, जसले गर्दा कालो दाग बस्न सक्छ । यस्तो दाग सामान्यतया ६ महिनासम्म रहन सक्छ । तर, यो दाग छालाको भित्री भागसम्म पुगेमा नीलो रङ्गको देखिन्छ जुन वर्षौंसम्म पनि रहन सक्छ । त्यस्तैगरी डण्डिफोरमा हुने जलनले गर्दा छालामा रहेको स-साना रगतको नशा फुल्न सक्छ जसले गर्दा छालामा रातो दाग पनि देखिन्छ ।

डण्डिफोरले छोड्ने दागको उपचार :-

छाला रोग विशेषज्ञको सल्लाहमा अनुहारमा लगाउने Serum तथा विभिन्न क्रिमहरूको उचित प्रयोगले केही हदसम्म यी दागहरू मेटाउन सकिन्छ ।

  • अहिलेको सन्दर्भमा केमिकल पिलिङ दागहरुको उपचारको लागि निकै प्रचलित प्रविधि हो । यसको लागि Alpha Hydroxy Acid र Beta Hydroxy Acid हरुको प्रयोग गरिन्छ ।
  • Microneedling/Laser जस्ता आधुनिक प्रविधिबाट पनि यस्तो खैरो दाग तथा खत परेको दागको उपचार गरिन्छ । यी सबै उपचार छाला रोग विशेषज्ञकोमा मात्र गराउनुपर्दछ ।
डण्डिफोर बारे केही गलत धारणा र जान्नुपर्ने कुराहरू :-
  • डण्डिफोर उमेर पुगेपछि आउँदैन भन्ने कुरा एकदमै गलत हो । हुन त यसको सुरुवात किशोरावस्थाबाट हुने गर्छ र यसै कारण यसलाई जवानीको चिन्ह भनेर पनि बुझिन्छ तर यो जुनसुकै उमेरमा पनि आउन सक्छ ।
  • अनुसन्धानअनुसार high glycemic index diet (सेवन पश्चात् २ घण्टापछि ग्लुकोजको मात्रा ह्वात्त बढाउने खानेकुरा) ले डण्डिफोर बढाएको पाइन्छ र चक्लेट पनि यही वर्गमा पर्ने भएकोले यसले डण्डिफोर बढाउन सक्छ ।
  • तनावले गर्दा stress hormone को उत्पादन पनि बढ्छ जसले शीबेसियस ग्रन्थीबाट शीबमको उत्पादन पनि बढाउँछ । त्यसैले तनाव र डण्डिफोरको प्रत्यक्ष सम्बन्ध छ ।
  • तैलिय पदार्थ बढी मिसिएको सनस्क्रिन र स-साना कणहरू भएको सनस्क्रिनले छालाको प्वाल अवरुद्ध गर्ने भएकोले यसको प्रयोगले डण्डिफोर अझै बढ्न सक्छ ।
  • धेरै पटक मुख धोएमा डण्डिफोर कम आउँछ भन्ने धारणा गलत हो । मुख धँुदा प्रयोग हुने रसायनयुक्त फेसवासले छालालाई उल्टै हानि पुर्‍याउन सक्छ । त्यसैले, दिनको २ पटक मात्र फेसवास प्रयोग गर्नु नै राम्रो हुन्छ ।
  • बाक्लो मेक-अपले तैलिय पदार्थ निकाल्ने प्वाललाई बन्द गर्ने प्रबल सम्भावना भएकोले डण्डिफोरलाई अझै उत्तेजित गर्न सक्छ ।

डण्डिफोरको उपचार पद्धतिमा धैर्य रहन निकै जरुरी हुन्छ । यसको उपचारलाई कम्तीमा पनि ६ महिना लाग्न सक्छ । उपचार क्रममा पहिलो २-३ हप्तामा डण्डिफोर अझ बढ्न पनि सक्छ । तर यो भन्दैमा बीच मै उपचार बन्द गर्ने चाहिँ गर्नु हुँदैन । उपचारको पहिलो ३ महिना सक्रिय डण्डिफोरको उपचार गर्न लाग्छ भने पछिल्लो ३-६ महिना डण्डिफोरले छोडेको दाग (pigment)/खत (scar) को उपचार गर्न लाग्छ ।

तसर्थः धैर्यताका साथ छाला रोग विशेषज्ञको परामर्श अनुसार उपचार पद्धति पालना गरेमा अवश्य पनि सकारात्मक परिणाम देखिन्छ ।

रीया सालिके (Pharmacist)