हृदय रोग संसारमा मृत्युको मुख्य कारण मध्ये एक हो । मुटु र रक्तनलीलाई असर गर्ने अवस्था जस्तैः हृदयघात, स्ट्रोक र मुटुको विफलताले प्रत्येक वर्ष २ करोड ५ लाख मानिसको मृत्यु हुने गरेको छ । यी मध्ये अधिकांश मृत्यु न्यून र मध्यम आमदानी भएका देशहरूमा हुने गरेको छ ।
स्वस्थ मुटुको लागि मुटु रोगको जोखिमको कारकहरु थाहा पाउन अत्यन्त जरूरी छ । केही जोखिमको कारकहरु निम्नलिखित छन् ।
- उच्च रक्तचाप
- मोटोपन
- मधुमेह
- चुरोट/रक्सीको सेवन
- शारीरिक व्यायामको कमी
- उच्च कोलेस्ट्रोल
- वंशाणुगत समस्या
- अस्वस्थ खानपिन
यी कारकहरुको समयमै नियन्त्रण गर्न सके मुटु रोगहरुबाट बच्न सकिन्छ ।
मुटुरोगबाट बच्ने केही उपायहरू तल वणर्न गरिएको छ :-
(१) स्वस्थ खानपिन
- चिनी मिसिएको पेय पदार्थ र खानेकुरा कम खानुपर्छ ।
- यसको सट्टा ताजा फलफूल र त्यसको जुस पिउनुपर्छ ।
- दैनिक आहारमा हरियो साग पात, तरकारी र फलफूल समावेश गर्नुपर्छ ।
- धेरै नुनिलो र चिल्लो खानेकुराको सेवन गर्नु हुँदैन ।
- प्रशोधित खानेकुराबाट टाढै रहनुपर्छ ।
(२) उचित व्यायाम
- हप्ताको ५ पटक २० मिनेटको मध्यम शारीरिक व्यायाम गर्नुपर्छ अथवा हप्तामा ७५ मिनेटको अधिक बल लाग्ने व्यायाम गर्नुपर्छ वा डाक्टरको सल्लाह बमोजिमको व्यायाम गर्नुपर्छ ।
- खेलकुद, हिंडडुल, घरायसी कामकाज, नृत्य आदि सबै लाभदायी हुन्छ ।
- नियमित दैनिक हिंडडुल र व्यायाम गर्नुपर्छ ।
- उचित खानपिन र व्यायामले आफ्नो तौल व्यवस्थापन गर्नुपर्छ ।

- धुम्रपान मुटु रोगको एक मुख्य जोखिम कारक हो । त्यसैले धुम्रपान त्याग्नु नै स्वास्थ मुटुको लागि लाभदायी हुन्छ ।
- धुम्रपान छोडेको दुई वर्षमै मुटुको धमनीमा लाग्ने रोगको जोखिमको सम्भावना धेरै हदसम्म घटेको पाइन्छ ।
- आफ्नो नजिक बस्ने मान्छेले गरेको धुम्रपानको धुँवाले गर्दा पनि धुम्रपान नगर्ने व्यक्तिमा मुटुको रोग हुने सम्भावना हुन्छ ।
- स्वस्थ मुटुको लागि रक्सी सेवन कम गर्नुपर्छ । अत्यधिक मद्यपानले उच्च रक्तचापको जोखिम बढाउँछ ।
(४) पर्याप्त निन्द्रा
- पर्याप्त निन्द्रा नपुगेका मानिसहरूमा मोटोपन, उच्च रक्तचाप, हृदयघात, मधुमेह र डिप्रेसनको उच्च जोखिम हुन्छ ।
- अधिकांश वयस्कहरूलाई प्रत्येक रात कम्तिमा सात घण्टा सुत्न आवश्यक छ । बच्चाहरूलाई सामान्यतया सात घण्टाभन्दा बढी सुत्न आवश्यक हुन्छ । पर्याप्त आराम पाउनका निम्ति सुत्ने तालिकाको पालना गर्नुपर्छ जसमा प्रत्येक दिन एउटै समयमा सुत्न जाने र उठ्ने बानी बसाल्नुपर्छ ।
- आफ्नो सुत्ने कोठा अँध्यारो र शान्त राख्नुपर्छ । यसले सुत्न सजिलो बनाउँछ ।
(५) तनाव व्यवस्थापन
- दैनिक जीवनमा हुने तनावको समयमै व्यवस्थापन गर्न नियमित व्यायाम, योगा, ध्यान अथवा आफ्नो नजिकको मान्छेसँग कुरा गरेर तनाव व्यवस्थापन गर्न सकिन्छ ।
उचित आहार, व्यायाम र तौल नियन्त्रण गरेर स्वस्थ रहौं र अरुलाई पनि स्वस्थ मुटुबारे जानकारी प्रदान गरौँ ।
By अरबिन्द्र जोशी (Pharmacist)