राकेशको त्यो दिन

राकेशलाई अझै सम्झना आउँछ त्यो दिन, जुन दिन ऊ आत्महत्या गर्न भनी घरबाट निस्केको थियो ।

यो घटनाको सुरुवात अलि अघि एक विचारबाट सुरु भयो । यो के हो उसले बुझ्न सकेको थिएन । तर उसको मस्तिष्क भित्र एउटा अनौठो किसिमको संवेदनाले जरा गाड्दै थियो । उसलाई निस्सासिएको, गुम्सिएको, उदासिएको अनुभूति दिन प्रतिदिन बढ्दै गइरहेको थियो । अब ऊ बिस्तारै बोल्ने, बिस्तारै हिड्ने यस्तो कि रातारात वृद्ध अवस्थामा पुगेको जस्तो महसुस गर्न थाल्यो । के कारणले शरीर र मस्तिष्कमा यस्तो अनौठो प्रभाव सिर्जना भैरहेको छ भन्ने उसलाई आफैले ठम्याउन गाह्रो भइराखेको थियो । राकेश २४ वर्षीय पुरुष हो । ऊ पोखरा विश्वविद्यालयमा अध्ययनरत थियो । राकेश बाल्यकाल देखि नै धेरै शान्त, अन्तरमुखी, सजिलै डराउने र सानो कुराले चिन्तित भइरहने स्वभावको थियो । जाडो यामको महिना थियो र राकेश पोखरा विश्वविद्यालयको ४ वर्षे विद्यार्थी जीवन बिताएर केही दिनमै काठमाडौँ जाने तरखरमा थियो । पढाई पछिको जागिर, परिवारप्रतिको आर्थिक जिम्मेवारी र भविष्यका अनेकौँ कुराहरू उसको अगाडि कालो बादल बनेर छाइरहेको थियो । भविष्यलाई नियाल्दा उच्च मध्यम वर्गीय पृष्ठभूमिले माग गरे अनुसार आफू समाजको आर्थिक रूपमा उत्पादक सदस्य बन्न नसकिने पो हो कि भन्ने कुराको उसलाई सधैँ पिर परिरहन्थ्यो ।

हाम्रो मस्तिष्कको सबै भन्दा अनौठो कुरा यो हो कि यहाँ हजारौँ विचारहरू तीब्र गतिमा चलिरहेका हुन्छन्, तर यो कसैले देख्न सकेको हुँदैन । राकेशलाई भेट्ने, चिन्ने मानिसहरू ऊ कस्तो परिस्थितिमा छ, के महसुस गरिरहेको छ भन्ने कुराको भान समेत कसैलाई भएको थिएन ।

यो समयसम्म उसलाई डिप्रेसनको वास्तविक बुझाई थिएन । तर उसलाई सम्झना छ, उसको जन्म पश्चात उसको आमा केही समयको लागि डिप्रेसनबाट पीडित हुनुहुन्थ्यो रे अनि उसको बुवापट्टिको जिजुआमाले आफ्नो देह त्यागको बाटो आत्महत्या रोज्नु भएको थियो रे । सबै मान्छेहरूको आ-आफ्नै पारिवारिक इतिहास हुने गरेकोले यो सबै कुरामा उसले विचार पुर्‍याएको थिएन ।

हाल ऊ बसेको कोठामा खासै केही थिएन । त्यहाँ सेतो ओछ्यान थियो र सेतो पर्खालहरू थिएः । भित्तामा तस्बिरहरू टाँस्सिएको हुन सक्छ तर उसलाई खासै याद छैन । ओछ्यानमा एउटा किताब थियो । उसले त्यसलाई एकपल्ट उठायो र फेरि बन्द गरिदियो । उसले एक क्षण पनि किताबमा ध्यान केन्द्रित गर्न सकेन । अहिले ऊ सम्झिन्छ त्यो अनुभवलाई शब्दमा व्यक्त गर्न सक्ने कुनै उपाय छैन, किनकि यो शब्द भन्दा बाहिर थियो । शाब्दिक रूपमा उसले यसको बारेमा राम्रोसंग बोल्न सकेन । ती पीडाको छेउमा शब्दहरु फिक्का थिए ।

अब राकेश ३ दिनदेखि ओछ्यानमा पल्टिरहेको छ तर उसलाई निन्द्रा आउँदैन । राकेशको प्रेमिका, रीताले उसलाई नियमित रूपमा पानी र फलफूल ल्याईदिन्थिन् जुन उसले खानुभन्दा बढी कुहिएर जान्थ्यो । यो व्यवहारले उसले आफ्नो शरीरको १० केजी तौल घटाई सकेको थियो । रिताले उसको कोठामा ताजा हावाको लागि झ्याल खुल्ला पारिदिएकी थिइन् । तरपनि राकेशलाई कोठा हप्प तातो र चकमन्न भएको अनुभव हुन्थ्यो । घरिघरि ऊ आफैलाई आश्चर्य लाग्थ्यो, ३ दिनसम्म बिना खानापानी म कसरी जिउँदो छु भनेर । समय जति बित्दा पनि राकेशलाई कुनै राहत महसुस भएको थिएन । अब ऊ मर्न चाहन्थ्यो । वास्तवमा भन्नु पर्दा ऊ मर्न चाहदैन थियो, तर उसलाई बाँच्न गाह्रो भइरहेको थियो । उसलाई आफू कहिलै पनि नजन्मिदिएको भए हुन्थ्यो जस्तो भइरहेको थियो ।

राकेश सम्झन्छ, मेरो दिमागमा डिप्रेसन, एंजाइटि (Anxiety) जस्ता शब्दहरुको विचार नै आएको थिएन । मैले सोचेको थिएन कि मैले भोगिरहेको कुराहरू अरु मानिसले पनि कहिले भोगेका थिए । किनभने यो मेरोलागि नौलो थियो । मलाई लागिरहेको थियो कुनै भूतप्रेत, कालो जादु, बोक्सीले पो यस्तो भएको हो कि । मलाई अझै याद छ, मैले रितालाई भनेको कुरा “रिता म डराएको छु, मलाई के भइरहेको छ, मलाई थाहा छैन । कसरी भइरहेको छ म बुझ्न सकिरहेको छैन ।” तर रिता सधैँ भन्ने गर्थिन बेकारमा नआत्तिनु, यो सबै ठीक हुन्छ । तर राकेशको उदाषी यति बाक्लो भइसकेको थियो कि त्यसले उसलाई निस्सासिने बनाई सकेको थियो र ऊ आफ्नो पीडाबाट उम्कने डरलाग्दो विचारहरू मनमा उब्जाउन थाल्यो । चौथो दिन राकेश आफ्नो कोठाबाट बाहिर निस्कन्छ, आफ्नो टोल छोड्छ र फेवा तालमा हाम फालेर आत्महत्या गर्ने सोच बनाउँछ ।

डिप्रेसनलाई बुझ्न किन गाह्रो छ ?

डिप्रेसन अदृष्य हुन्छ । यसको सधैँ एक स्पष्ट कारण हुँदैन । डिप्रेसनले जस्तोसुकै मानिसमा असर गर्न सक्छ । करोडपति, राम्रा अनुहार भएका व्यक्ति, सुखी वैवाहिक जीवन बिताइरहेका दम्पत्ति, जागिरमा भर्खरै पदोन्नति भएका जागिरे, ठूला गुरुहरु, जिन्दगीमा ठूला ठूला उपलब्धि हासिल गरेका व्यक्तित्वहरु, सामाजिक संजालमा हँसिलो र चम्किलो तस्विर राख्नेहरु जसलाई बाहिरबाट हेर्दा दुखी हुने कुनै कारण भेट्न सकिन्न । यसबाट पीडित हुनेहरुका लागि पनि यो रोग रहस्यमय छ ।

डिप्रेसनले दयनीय भावनात्मक र शारीरिक लक्षणहरुमात्र निम्त्याउँदैन, यसले व्यक्तिको काम गर्ने क्षमतामा पनि हस्तक्षेप गर्दछ । चाहे जागिर होस् या विद्यालय, घर अथवा सामाजिक परिस्थिति, जब मानिस डिप्रेसनमा पर्छन्, उनीहरु ओछ्यानबाट बाहिर निस्किन पनि असमर्थ हुन्छन् । तसर्थ, जागिरमा आफ्नो जिम्मेवारी, बच्चाहरुको स्कूलमा पढाई आफ्नो अथवा आफ्नो परिवारको हेरचाह गर्न मुस्किल हुन्छ । यसबाहेक डिप्रेसनले पहिले हामीलाई रमाइलो लाग्ने गतिविधिहरु जस्तैः साथीभाईसँग भेटघाट, मनोरंजन, व्यायाम आदि गर्न पनि बाधा पुर्‍याउँछ ।

पौडिन नजान्ने राकेश फेवा तालको डुंगाको टिकट लिएर एक्लै फेवा तालको गहिरो भागतिर प्रस्थान गर्छ । जाडोयामको न्यानो घाम थियो । ताल ठीक उसको सामुन्ने थियो र उसको योजना स्पष्ट थियो । उसलाई तालमा हाम फाल्नु थियो । किनकि उसलाई मर्नु थियो । अचानक उसको नजर त्यही डुंगामा रहेको छेपारोमा पर्छ, जिउँदो छेपारो यो एउटा सन्देश बनेर आएजस्तो राकेशलाई अनुभव हुन्छ । छेपारोको बारेमा कुरा गर्नु पर्दा छेपारो आत्महत्या गर्दैन, यो त् संघर्ष गर्छ । यदि छेपारोको पुच्छर काटिदियो भने त्यो उदास हुँदैन, उसले नयाँ पुच्छर निकाल्छ । जस्तोसुकै कठोर र प्रतिकूल परिस्थिति भएपनि ऊ जिउनको लागि डटेर संघर्ष गर्छ । राकेश पनि त्यो छेपारो जस्तो बन्न चाहन्थ्यो । छेपारोबाट प्रेरित भएर राकेशले नयाँ परिस्थिति बाधा-अड्चनलाई स्वागत गर्दै यस जीवनको यात्रामा हिँड्ने प्रण गर्छ । आफ्नो भावनाहरुले आपूmलाई शासन गर्न नदिई भावनाहरुलाई स्वतन्त्र रूपमा महसुस गर्ने हिम्मत जुटाउँछ ।

अब राकेश उदास भएको बेला आफ्नो पीडा प्रियजनहरु आमा, बुवा, प्रेमिका, साथीभाईसँग पोख्छ । उनीहरुले पनि बिना कुनै झंजट राकेशका कुरा सुनेर उसको भावना बुझ्ने कोशिश गर्छन् । राकेश मनोचिकित्षकको परामर्श पनि निरन्तर लिई दैनिक योग गर्छ, मादक पदार्थबाट टाढा रहन्छ र भगवानसँग नियमित आफ्नो र आपूm जस्तो पीडा भोगेका मानिसहरुलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्छ ।

डिप्रेसन र आत्महत्याका तथ्यहरु :-
  • आत्महत्या ३० वर्षभन्दा मुनिका पुरुषहरुको मृत्युको प्रमुख कारण हो ।
  • एक वर्षमा लाखौँ मानिसले आत्महत्या गर्छन् । वर्षमा १० देखि २० करोड मानिसहरू  आत्महत्याको प्रयास गर्छन् ।
  • विश्वमा महिलाको तुलनामा पुरुषहरुले आत्महत्या गर्ने सम्भावना ३ गुणा बढी पाइएको छ ।
  • ५ मध्ये १ जनाको जीवनको कुनै न कुनै समयमा डिप्रेसनको शिकार हुन्छन् ।
  • डिप्रेसनको औषधि प्रयोगकर्ता लगभग संसारको सबै कुनामा बढ्दो छ ।
  • पुरुषको तुलनामा दोब्बर महिलाहरुले आफ्नो जीवनमा डिप्रेसनको सामना गर्नु परेको देखिन्छ ।
  • पुरुषभन्दा महिलाहरुले मानसिक स्वास्थ्यका लागि उपचार खोज्ने र पाउने देखिएको छ ।
  • डिप्रेसन भएका बाबु अथवा आमाको सन्तानलाई ४० प्रतिशत डिप्रेसनको जोखिम हुन्छ ।

राकेश जस्तै कोही पनि मानसिक रूपमा बिरामी हुन वा आफूलाई मानसिक रोग चाहदैन । त्यसैले बिरामीलाई उनीहरुको रोग पहिचान गरी रोग स्वीकार गराउनु पहिलो प्राथमिकता हुन्छ । डिप्रेसन एक गम्भीर, प्रगतिशील रोग हो र यसले निम्त्याउँने नकारात्मक असरको बारेमा घरघरमा चेतना पुर्याउन जरुरी हुन्छ । मानसिक रोग लाग्नु लाजको कुरा होइन, यो त वंशाणुगत, मनोवैज्ञानिक, सामाजिक, आर्थिक वातावरणले सिर्जना हुन्छ । विज्ञको उचित निदान, सही परामर्श र व्यवहारिक परिवर्तनले डिप्रेसनको बिरामीहरु सामान्य, खुशी र स्वस्थ जीवन बिताउन सक्छन् ।

 

By सन्जोग ढकाल (Pharmacist)