स्वस्थ मुटुको लागि शरीरमा उपयुक्त मात्रामा अक्सिजन वितरण हुन आवश्यक हुन्छ। प्रायः जसो नवजात शिशुहरूले स्वस्थ मुटु, स्वस्थ जीवनका साथ जन्म लिएका हुन्छन्। तर केही बच्चाहरूमा अक्सिजनको मात्रा उचित नहुन पनि सक्छ जसले स्वास्थ्यमा धेरै किसिमको जटिलता पनि निम्त्याउन सक्छ।
३७ हप्ताको पूर्ण अवधिपश्चात् जन्म लिएका स्वस्थ बच्चाहरूमा ९५-१००% को उचित अक्सिजन स्याचुरेसन हुन्छ भने ३७ हप्ताको समयपूर्व नै जन्म लिएका शिशुहरूमा अक्सिजन स्याचुरेसनमा कमी हुन्छ किनभने उनीहरूको फोक्सो पूर्णरूपले विकास भएको हुँदैन। समयपूर्व जन्म लिएका शिशुहरूमा भने न्यूनतम ९०% को अक्सिजन स्याचुरेसनलाई उचित मानिन्छ। ९०% भन्दा कमको अक्सिजन स्याचुरेसनलाई चिन्ताजनक मानिन्छ र तुरुन्तै उपचारमा ध्यान दिनुपर्ने हुन्छ।
अक्सिजन स्याचुरेसनमा कमीका कारणहरू :-
तथ्यांक अनुसार ४-२३% बच्चाहरूमा पर्याप्त मात्रामा अक्सिजन स्याचुरेसन हुँदैन र यसका विभिन्न कारणहरू तल उल्लेख गरिएका छन्।
१) समयपूर्व जन्म (Premature birth)
न्यून अक्सिजन स्याचुरेसनको सबैभन्दा सामान्य कारण मध्ये एक हो, समयपूर्व जन्म। ३७ हप्ताको गर्भावस्था अगाडि नै जन्म लिएका शिशुहरूमा रेस्पिरेटोरी डिस्ट्रेस सिण्ड्रोम (Respiratory Distress Syndrome) हुने प्रबल सम्भावना हुन्छ जसमा फोक्सोको विकास राम्ररी नभएको कारण सास फेर्न कठिनाइ हुने र अक्सिजन स्याचुरेसनमा कमी हुने गर्छ।
२) मिकोनियम एस्पिरेशन सिण्ड्रोम (Meconium Aspiration Syndrome)
न्यून अक्सिजन स्याचुरेसनको अर्को सामान्य कारण हो मिकोनियम एस्पिरेशन सिण्ड्रोम (MAS)। पेटमा भएको शिशुले यदि आफूले गरेको पहिलो दिसा दुर्भाग्यवस सेवन गर्न पुगेमा यो सिण्ड्रोमबाट पीडित हुन्छन्। मिकोनियम इनहेल गर्नाले पनि श्वासप्रश्वासको समस्या र अक्सिजन स्याचुरेसनमा कमी निम्त्याउन सक्छ।
३) नाभी सम्बन्धी समस्या (Umbilicol cord problems)
जन्ममा अक्सिजनको कमी हुनुमा अर्को सम्भावित कारण नाभीको समस्या हो। यदि शिशुको घाँटीमा नाभीको डोरी बेरिएमा, यसले शरीरमा अक्सिजन वितरणमा बाधा पुर्याउन सक्छ र अन्ततः अक्सिजन स्याचुरेसनमा पनि कमी हुने सम्भावना बढ्दछ।
४) प्लेसेन्टल बिच्छेद (Placental Abruption)
गर्भावस्थाको समयमा हुने दुर्लभ तर गम्भीर जटिलता मध्ये एक हो प्लेसेन्टल बिच्छेद जुन यस्तो समयमा हुन्छ जब प्लेसेन्टा डेलिवरी अघि गर्भाशयको भित्ताबाट अलग हुन थाल्छ जसले गर्दा बच्चामा अक्सिजनको अभाव निम्त्याउन सक्छ।
५) जन्मजात हृदय दोष (Congenital Heart Defects)
जन्मजात हृदय समस्याले मुटुबाट शरीरमा रगत प्रवाह गर्ने तरिकामा समस्याहरू निम्त्याउन सक्छ, जसले गर्दा अक्सिजनको अभाव हुन सक्छ।
अक्सिजन स्याचुरेसनमा कमीको लक्षणहरू :-
१) सायनोसिस (Cyanosis)
बच्चाहरूमा अक्सिजनको कमी हुँदा देखिने सामान्य लक्षण भनेको सायनोसिस हो जसमा छाला पुरै नीलो हुने गर्छ। रगतमा जब अक्सिजनको मात्रामा कमी हुन्छ, अक्सिजन बढाउने प्रयासमा रक्तनलीहरू संकुचित हुन्छन् जसले गर्दा जिउ नीलो देखिन सक्छ।
२) एप्नीया (Apnea)
सास फेर्दा २० सेकेन्ड वा लामो समयसम्म पज हुने अवस्थालाई एप्नीया भनिन्छ। यो धेरै कारणले हुन सक्छ तर बच्चाहरुमा भने यो श्वासप्रश्वासको समस्याले गर्दा हुन्छ।
३) ब्राडिकारडिया (Bradycardia)
मुटुको गति प्रति मिनेट ६० भन्दा कम हुने अवस्थालाई ब्राडिकारडिया भनिन्छ र यो पनि अक्सिजन स्याचुरेसनमा कमीको एक लक्षण हो।
४) छारे रोगको दौरा (Seizures)
मस्तिष्कमा अक्सिजनको कमीको कारण केमिकल असन्तुलनले असामान्य गतिविधि देखा पर्न पनि सक्छ।
५) सुस्तता (Lethargy)
बच्चाहरूमा अक्सिजनको कमीले थकान र ऊर्जाको कमी पनि निम्त्याउँछ।
अक्सिजन स्याचुरेसनमा कमीको उपचार :-
शरीरमा न्यून अक्सिजनको उपचार अक्सिजन अभावको गम्भीरतामा निर्भर हुन्छ। बच्चाहरूमा अक्सिजन स्याचुरेसन ९०% भन्दा कम भएको खण्डमा मास्क अथवा न्याजल क्यनुला (Nasal cannula) को माध्यमबाट अक्सिजन वितरण गरिन्छ। यो विधिबाट पनि अक्सिजनको मात्रामा सुधार नदेखिएको खण्डमा अर्को उपचार भनेको पोजिटिभ प्रेसर भेन्टिलेसन (Positive pressure ventilation) हो, जुन एक प्रकारको मेकानिकल भेन्टिलेसन हो जसले हावालाई फोक्सोमा पुर्याउन मद्दत गर्छ।
By रीया सालिके (Pharmacist)