गर्मी याम भनेको बाहिर घुम्न निस्किने याम हो । तर जब तपाईं हिँड्दै हुनुहुन्छ, पैदल यात्रामा होस् वा आफ्नै घरको आँगन, करेसाबारी, खेत अथवा बाटो काट्दै हुनुहुन्छ, तपाईंले आफ्नो पाइला चाल्दा विचार पुर्याउनु पर्ने हुन्छ । सर्पहरू पनि वर्षको यो समय बाहिर बढी सक्रिय हुन्छन् । चिसो रगत भएका जनावरहरू सामान्यतया जाडो महिनाहरूमा हाइबरनेट (Hibernate) गर्छन् र गर्मी महिनाहरूमा तिनीहरू आफ्नो गुफाबाट पुनः निस्कन्छन् ।


जब कसैलाई सर्पले टोक्छ छ, सर्प विषालु हो वा होइन भनेर पत्ता लगाउन प्रयास गर्नुहोस् । तिनीहरूको टोकाइका निशानहरु फरक हुन्छन् । प्रायः मानिसहरू यो भ्रममा हुन्छन् कि सबै सर्पहरू विषालु हुन्छन् तर यो सत्य होइन । जस्तैः धामन (Rat Snake) र अजिंगर (Python) विषालु हुँदैनन् । तपाईंको क्षेत्रका सर्पहरू मध्ये कुन साँच्चै विषालु हो र कुन होइन भनेर पत्ता लगाउने प्रयास गर्नुहोस् । कृपया गैर-विषाक्त सर्पहरूलाई नमार्नुहोस्, किनभने तिनीहरूले कुनै हानि गर्दैनन् । बरु उल्टै तिनीहरूले बाली नष्ट गर्ने जनावरहरू जस्तैः मुसा, कीरा फट्याङ्ग्रा आदी मार्छन् । कतिपय परिस्थितिमा गैर-विषाक्त सर्पहरूले विषालु सर्पलाई पनि मार्ने गर्दछन् ।
विषालु सर्पदंशको उपचार (Treatment for Poisonous Snakebite)
१. शान्त रहनुहोस्, नआत्तिनोस्, टोकेको भाग नचलाउनुहोस् । यसलाई जति धेरै चलाइन्छ, विष शरीरमा त्यतिनै छिटो फैलिन्छ । यदि खुट्टामा टोकेको छ भने, हिँडडुल गर्नु हुँदैन ।
२. विषको फैलावटलाई ढिलो गर्न फराकिलो लचकदार (Elastic) पट्टी वा सफा कपडाले टोकेको ठाउँलाई बेर्नुहोस् । टोकेको ठाउँलाई नचलाइकन बलियोसँग बेर्नुहोस्, तर यति धेरै नकस्नुहोस की यसले हातको नाडी वा खुट्टाको ढुकढुकी (Pulse) मा रोकावट आओस् । यदि तपाई पल्स (Pulse) महसुस गर्न सक्नुहुन्न भने, पट्टीलाई थोरै खुकुलो पार्नु होस् ।

३. पूरै हात वा खुट्टामा पट्टी घुमाउनुहोस्, तर यो सुनिश्चित गर्नुहोस् की तपाई अझै पल्स (Pulse) महसुस गर्न सक्नुहुन्छ ।

४. त्यसपछि टोकेको खुट्टा वा हातलाई अड्याउन र चल्न नदिन एउटा कडा सामग्री अथवा स्प्लिन्ट (Splint) ले टेवा दिनुहोस् ।
५. सम्भव भएसम्म व्यक्तिलाई स्ट्रेचर (Stretcher) मा राखेर नजिकको स्वास्थ्य केन्द्रमा तुरुन्तै लैजानुहोस् । यदि तपाईं सक्नुहुन्छ भने, सर्पलाई पनि लिएर जानुहोस्, किनकि विभिन्न सर्पहरूलाई फरक-फरक एन्टिभेनम (Anti–venom) हरू चाहिन सक्छ ।
धेरै गम्भीर अवस्थामा, एन्टिभेनमको प्रयोगले एलर्जी प्रतिक्रिया (Allergic Reaction) उत्पन्न गर्ने सम्भावना हुन्छ । यदि सर्पले टोकेको व्यक्ति एलर्जी वा दमबाट पीडित छ भने, एन्टिभेनम दिनुभन्दा १५ मिनेट अघि प्रोमेथाजिन (Promethazine) वा डाइफेनहाइड्रामाइन (Diphenhydramine) इन्जेक्सन लगाउनुहोस् । यसको मात्रा (Dose) वयस्कहरूलाई (Adult)– २५ देखि ५० मिलीग्राम र बच्चाहरुलाई- १० देखि २५ मिलीग्राम हो ।
कसैलाई टोक्नु अघि नै तपाईंको क्षेत्रमा विषालु सर्पदंशको लागि प्रयोग गरिने एन्टिभेनमहरूको सुविधा कहाँ उपलब्ध छ भनी पूर्व जानकारी राख्नुहोस् ।
विषालु सर्पको टोकाइ खतरनाक हुन्छ । माथि वणर्न गरिएका कुराहरू तुरुन्त पालना गरिसकेपछि चिकित्सा सहायताको लागि ढिलो नगर्नुहोस् ।
सर्पदंशका लागि धेरैजसो घरेलु उपचारले थोरै मात्र काम गर्छ । केही घरेलु उपचारहरूले संक्रमण निम्त्याउन सक्ने खतरा हुन्छ वा विषको प्रभावलाई अझ खराब बनाउन सक्छ ।
सर्पदंश पछि गर्न नहुने कुराहरु :
- टोकेको घाउ वरपरको छाला वा मासु काट्ने नगर्नुहोस् ।
- टोकेको घाउ वरपर वा व्यक्तिको शरीरको वरिपरि कुनै पनि चीज कसेर नबाँध्नुहोस् ।
- टोकेको घाउ वरिपरि बरफ नराख्नुहोस् ।
- टोकेको घाउबाट रगत वा विष चुस्ने प्रयास नगर्नुहोस् ।
- सर्पदंश पछि रक्सी पिउनु हुँदैन । यसले घाउलाई झन् खराब बनाउँछ ।
By सन्जोग ढकाल (Pharmacist)