एट्रियल फिब्रिलेसन (Atrial Fibrillation)

एट्रियल फिब्रिलेसन एक हृदयमा हुने समस्या हो जसले अनियमित मुटुको ताल र प्रायः असामान्य रूपमा छिटो मुटुको गति निम्त्याउँछ । एट्रियल फिब्रिलेसनलाई ए-फिब (A-Fib) पनि भनिन्छ । आराम गर्ने अवस्थामा सामान्यतया मुटुको गति प्रति मिनेट ६० देखि १०० को बीचमा हुनुपर्छ । तर एट्रियल फिब्रिलेसनमा मुटुको गति प्रति मिनेट १४० भन्दा बढी हुन सक्छ ।
मुटुको गतिलाई विधुतिय सङ्केतहरूद्वारा नियन्त्रित गरिन्छ । साइनस नोडले मुटुको बाँकी सबै भागमा विधुतिय सङ्केतहरू पठाउँछ । यी सङ्केतहरूले मुटुलाई खुम्च्याउँछ र मुटुले रगत प्रवाह गर्दछ । सामान्यतः मुटु नियमित गतिले खुम्चिन्छ र फूक्छ । ए-फिब भएको स्थितिमा साइनस नोडले विधुतिय सङ्केत छोड्दैन । सङ्केतहरू दाहिने वा देब्रे एट्रियममा अन्य स्थलहरूबाट निस्कन्छन् । यसको कारणले मुटु अनियमित रूपमा र कहिलेकाहिँ अत्यन्त तीव्र गतिमा धड्कन्छ ।
यो रोगबाट पीडित व्यक्तिहरूलाई हृदयघात र स्ट्रोक (मस्तिष्कघात) जस्ता घटनाहरू हुने र यी समस्याहरूसँग सम्बन्धित मृत्युदरको जोखिम बढ्ने हुन्छ । विश्वभरमा हुने एक-तिहाइ स्ट्रोकको कारण ए-फिब हो भने स्ट्रोक विश्वमै मृत्युको शीर्ष कारक मध्ये एक हो ।

कारणहरु :-

मुटुको तन्तु र विधुतीय प्रणालीमा परिवर्तन वा क्षतिले गर्दा एट्रियल फिब्रिलेसन निम्त्याउँछ । एट्रियल फिब्रिलेसन वंशानुगत पनि हुन सक्छ ।
निम्न लिखित कारकहरुले एट्रियल फिब्रिलेसनको जोखिम बढाउन सक्छ :-

  • बढ्दो उमेर
  • उच्च रक्तचाप
  • मोटोपना
  • मधुमेह
  • हृदय विफलता (Heart Failure)
  • इस्केमिक हृदय रोग (Ischemic Heart Disease)
  • हाइपरथाइरोइडिज्म (Hyperthyroidism)
  • दीर्घकालीन मृगौला रोग (Chronic Kidney Disease)
  • मध्यमदेखि भारी रक्सीको प्रयोग
  • धुम्रपान
लक्षणहरू :-
  • मुटुको अनियमित धड्कन ।
  • छातिमा तीव्र गतिले ढुकढुक भएको अनुभव हुनु ।
  • सास फेर्न गाह्रो हुनु ।
  • केही काम गर्दा सजिलै थाक्नु ।
  • बेहोशी हुनु ।
  • अस्थिर हुनु वा रिङ्गटा लाग्नु ।
  • छाती भारी हुनु वा दुख्नु ।

यी कारकहरुलाई नियन्त्रण गर्न सके ए-फिबको जोखिमबाट बच्न सकिन्छ ।

यो रोग लागेको छ वा छैन कसरी पत्ता लगाउने :-

माथि उल्लेखित लक्षणहरू देखिएमा चिकित्सककोमा जानुपर्छ र चिकित्सकले निम्न प्रकारका परीक्षणहरू गर्न सक्छन्ः

  • ई. सी. जी (Electrocardiogram)
  • होल्टर (२४ देखि ४८ घण्टाको लागि मुटुको विधुतिय संकेतको रेकर्ड)
  • इकोकार्डियोग्राफि (Echocardiography)
  • रगत जाँच र अन्य आवश्यक सम्बन्धित मुटु रोगको जाँच
ए-फिबको व्यवस्थापन गर्ने उपायहरू :-

लक्षण अनुसार चिकित्सकले निम्नलिखित उपचारहरु गर्न सक्छन् :

  • मुटुको धड्कनको गति नियन्त्रण गर्ने औषधि
  • मुटुको अनियमित चाललाई नियन्त्रण गर्ने औषधि
  • रगत जम्न र स्ट्रोकबाट बच्नको लागि रगत पातलो पार्ने औषधि (Anti-coagulants)

औषधिले काम नगरेको अवस्थामा चिकित्सकले निम्न विधि वा सर्जिकल प्रक्रियाहरु पनि अपनाउन सक्छन् :

  • कार्डियोभर्सन (Cardioversion): न्यून ऊर्जा विधुतिय शक दिएर मुटुको असामान्य गतिलाई सामान्य गतिमा परिवर्तित गर्ने ।
  • एब्लेसन (Ablation): रक्तनलिबाट क्याथेटर (Catheter) पठाइन्छ र मुटुको समस्याग्रस्त क्षेत्र पत्ता लगाई त्यस क्षेत्रलाई कोतर्ने वा काटेर अलग गर्ने प्रक्रिया ।
  • पेसमेकर (Pacemaker): शल्यक्रिया गरेर पेसमेकर राख्ने ।

ए-फिब नियन्त्रित गरिएन भने हृदयघात वा मुटुको गम्भीर समस्याहरूको उच्च जोखिम हुन्छ । त्यसैले यसको समयमै निदान गर्नु र चिकित्सकको निगरानीमा रहनु अत्यन्तै महत्वपूर्ण हुन्छ ।

 

By अरबिन्द्र जोशी
(Pharmacist)